सरकारको चाल न हाँसको न कुखुराको !
- असार २९, २०८३
संसदीय निर्वाचनबारे २०१५ सालदेखि नेपाली जनताले अनेक प्रकारका निर्वाचन देख्दै र भोग्दै आएका छन् । संसदीय निर्वाचनको अर्थ हो – कुन कुन राजनैतिक दलहरू देशलाई कता लैजान चाहन्छन् भन्नेबारे हाकाहाकी प्रचार गरेर जनतासँग मत माग्ने आन्दोलन हो । तर, यो निर्वाचन गाउँपालिका र प्रदेशको निर्वाचन होइन, न त यो कुनै व्यक्ति र गुटको निर्वाचन हो, यो त राजनीतिक दलहरू गन्तव्य हेर्ने र बुझ्ने अवसर हो । मुखले एउटा कुरा बोल्ने र काम भने उल्टो कुरा गर्ने ‘दुईजिब्रे’ विचार लिने होइन ।
वर्तमान निर्वाचनमा केही दलहरू ‘राजालाई पुनः नेपालमा स्थापित’ गर्न चाहन्छन् । तिनीहरूको भनाइमा नेपालको अहिलेको ‘उपद्रव’ र ‘ध्वंश’ को कारण राजा नहुनु हो । त्यसको जवाफ एउटै छ– राजा भएकै बेलामा पनि ठुलठुला उपद्रव भएका थिए र राजा आफैले अब नेपाली जनताले नै शासन गर्न भनेका थिए । राजा नै सबै राजनीतिको केन्द्र हो भन्ने ठान्नेहरूले सोच्नैपर्छ, कुनै बेला बहुमत देशहरूमा राजा थिए र एक एक गरेर राजतन्त्र हराउँदै गए, बिहान हुँदै गएपछि आकाशमा ताराहरू लोप भएजस्तै ।
केहीले भन्लान्, “हाम्रो पार्टीले बरोबर शासन चलाइसकेको छ, हामीसँग त्यसको अनुभव छ, जनताले हाम्रै पार्टीलाई मत दिएमा हामीले पहिलेभन्दा धेरै राम्रोसँग शासन चलाएर देखाउने छौँ ।” त्यसको उत्तर जनताले दिनेछन्, “सुन सयचोटि जोख्ने हो, मानिसलाई एकचोटि जोख्ने हो । तिनीहरूको अनुभवले देशमा स्थायित्व दिन सकेन र जनतालाई झन्झन् ठुलठुला ऋण बोकायो ।
कसैले भन्नेछन्, “हामी नयाँ पुस्ता, कम उमेरका छौँ† हामी पनि सत्तामा बसेर काम सिक्नेछौँ ।”
जनताले तिनीहरूलाई उत्तर दिनेछन्, “त्यसो त पुराना सबै दलहरूले हरेक निर्वाचनमा नयाँ पुस्ता र युवा युवतीहरूलाई प्रस्तुत नगरेका होइनन् । तर, तिनीहरू पनि पुरानै बाटोमा लागेका हुनाले ‘नयाँको नाम’ मा पत्रु देखिए ।” कसैले उत्तर देलान्, “होइन ‘नयाँ’ भन्ने हरेक वस्तु जसरी राम्रो छ, नयाँ पुस्ता पनि त्यही हो ।” अनुभवी मानिसले भन्नेछन्, “हो बाबु नयाँ राम्रो होला, तर सुन्तला काँचोमा अमिलो हुन्छ, भोलि पर्सि मीठो होला ।”
कसैले भन्नेछन्, “हाम्रो पार्टीले देशमा प्रजातन्त्र ल्यायो, पञ्चायत फाल्यो र गणतन्त्र पनि ल्यायो ।” नयाँ युवाले नै उत्तर देलान्, “हो, तर खोइ त काम–माम र कपडाको बन्दोबस्त ? खोइ त रोजगार देशमै ¤ के युवा भएर सबै युवाहरूलाई सस्तो ज्यामीको रूपमा विदेशी पुँजीपतिवर्गलाई बेच्ने हो ? राणाहरूको पालामा बेलायती उपनिवेशवादीहरूलाई गोरखाली बेचेर ‘कमिसन’ खाए जस्तै ? यही ठुलो र पुरानो पार्टीले नै पुरानो गल्लावालाहरूको ठाउँ ‘म्यान पावर कम्पनीहरू’ बनाएर संसारभरि नेपाली छोराछोरीहरूलाई पहिले अफ्रिकीहरूलाई युरोप र अमेरिकाको दास बजारमा बेचेजस्तै बेच्दै आएको ३० वर्ष नाघ्यो । यही ठुलो र पुरानो दलले काठमाडौँ र विदेशमा लगानी गर्दै छन् – विदेशी मालिकहरूसँग ज्यु हजुर गरी ।”
कसैले भन्लान्, “अस्तिमात्रै हाम्रो दल सरकारमा थियो । सेना, प्रहरी, गुप्तचर विभाग, प्रशासन र अदालतजस्ता ‘राजसत्ता’ का मुख्य मुख्य अङ्गले हाम्रो प्रधानमन्त्रीजीलाई खबर नदिएकै कारण ‘उपद्रव’ भयो नत्र देशले यो दुःख भोग्नै पर्दैनथ्यो । के गरौँ, अब जनतासँग माफी माग्दै हाम्रो दलले पनि नयाँ पुस्ता वा युवाहरूलाई उम्मेदवार बनाएका छौँ । अब देश स्वर्ग बन्नेछ† बनाउनेछौँ ।” सबै दलका युवाहरूले नै एकचोटि उत्तर दिनेछन्, ‘हुटिट्याउँको कथा र नमच्चिने पिङको सय झट्का’ भनी । भन्नेछन्, “शासन गर्ने शैली र प्रशासकीय खुबीको अभावले देशको दुर्गति भोग्नुप¥यो । देश साम्राज्यवादीहरू र प्रतिगामी विदेशीहरूको पोल्टामा पुग्दै छ । अब जनता चुक्ने छैनन् ।”
विदेशबाट कम उमेरका विद्यावारिधि गरेका युवाहरू बोल्लान्, “हामी विदेशी उत्पादन हौँ, हामी देशलाई अमेरिका र बेलायतजस्तो बनाउनेछौँ । संसारमा शान्ति र प्रगति ल्याउनेछौँ । विदेशी विषयहरू ल्याएर देश विकास गर्नेछौँ । एक्कैबाजि नयाँ पुस्ताका युवाहरूले हात उठाएर बोले–हो, हो हाम्रो देशलाई पनि तिमीहरूले ट्रम्पलाई बेच्नेछौ, क्यानाडा, ग्रीनल्यान्डजस्तै लिन खोज्दा दिनेछौ, इजरायल, युक्रेन र भेनेजुयलामा जस्तै ट्रम्पले आफ्नो कब्जा जमाएजस्तै एमसीसीकै पुच्छर बनाई देशलाई बेच्नेछौ ।” कानुनकी एक छात्राले बोल्नेछिन्, “हामीले नै हाम्रो देश बनाउने हो विदेशीले होइन† हामी हाम्रो देशलाई स्वतन्त्र र सार्वभौम बनाउनेछौँ ।” सबैले ताली बजाउनेछन् ।
Leave a Reply