के तिमी “निरङ्कुश राजा” हो ?
- आश्विन २६, २०८३
(१)
भर्खर काम सिक्न लागेका कालिगड
आफ्नै ज्यावलदेखि रिसाए जस्तै
कति हाकिम बनेका अयोग्य मपाईँहरू
आफ्नै मित्रहरूबाट रिसाउँछन्,
आफ्नै छायाँलाई आफ्नै शत्रु सम्झेर अनाहक तर्सन्छन्
भित्री अपराध र पाप पोलेर बरबराउन थाल्छन्
मतिभ्रम र बुद्धिहीन भएर तिनीहरू
दूधे ढुङ्गालाई हिलो छ्यापेर मैलाउन र गलाउन खोज्छन्
एक ढुङ्गा फालेर महा–सागरलाई धमिल्याउन खोज्छन्,
दनदन बलेको सूर्यलाई तिनीहरू
थुकेर निभाउने दुस्साहस र मूर्खता गर्छन्
जाज्वल्यमान भएर बलिरहेको चिरागलाई
खान खोज्ने कीरा–फट्याँग्राहरू जस्तै तिनीहरू
क्रान्तिको बल्दो ज्वालालाई ‘सस्पेण्ड’, ‘मुल्तवी’ र
‘कारबाही’ को मूर्खताले निभाउन खोज्छन् ।
(२)
‘तर्कहीन मानिस रिसाउँछन्’ लेनिनले हामीलाई सिकाउनु भएको छ
क्रान्तिको बोली बोल्ने तर भाव र भाषा नबुझ्ने
नक्कली क्रान्तिकारीहरू तर्कले हारेर
रिस पोख्न चाहन्छन्, लाज छोप्न चाहन्छन् बहुलाएर
हिमालयमाथि ‘कारबाही’ को मुक्का हानेर आफै मार खान्छन् ।
(३)
उज्यालो देख्न नसक्ने अन्धाहरू
घाम देख्न नसक्ने चमेरा र लाटाकोसेराहरू
सच्चाइको निम्ति लड्न नसक्ने हुतिहारा क्रान्तिकारीहरू
निर्लज्ज भएर बाँचिरहेका पशुहरू
धिक्कार छ, तिमीहरूलाई बारम्बार धिक्कार !
न्यायको निम्ति लड्न नसक्ने कातर ‘बहादुरहरू’
‘ज्यू’ ‘हजुर’ ले मक्किएका दरबारियाहरू
सबै अर्थमा कासीबास पाएका जिउँदा मूर्दाहरू
आफ्नो मुकुण्डोलाई उघार
नत्र तिमीहरूलाई जनता आफै नङ्ग्याउने छन् ।
‘कारबाही’ को नामबाट आफ्नो पाप पखाल्न खोज्ने
हार स्वीकार्न नचाहने लाजमर्दा ए, जिउँदा लासहरू
मर, मर आफ्नै थुकमा डुबेर मर ¤
लाज पचिसकेका जाली–फटाहा, बेसर्मी ठग र भँडुवाहरू
‘एकताको नाममा फूटका बीउ छर्ने’ स्वार्थी कीराहरू
खोर्सानीको बोटहरूमा झुण्डिएर मर, आफै सेरिएर मर !
पटुचामा डुबेर मर्न नसक्ने
‘नाँगा नाचे हजार दाऊ’ का हकदारहरू
‘कार्बाई’ को बञ्चरोले आफ्नै खुट्टामा हिर्काउने मूर्खहरू
तिमीहरू आफ्नो चिहान आफै खन्दै छौ ।
(४)
तर याद गर !
उठ्दो क्रान्तिकारी ज्वार र जवानीमाथि
सडे–गलेको संशोधनवादको कसिंदै जाने हरेक बन्धन
टुक्रा–टुक्रा भएर चुँडिनेछन्, र
त्यस्ता चुँडिने हरेक बन्धन
स्वतन्त्रता र मुक्तिको निम्ति एक भूमिका बन्ने गर्छ ।
(फेबु्रअरी र मार्च १९७६)
स्रोतः आकाश बाँधिएको छैन
Leave a Reply