भर्खरै :

सहिष्णु हिन्दू धर्म : भ्रम र यथार्थ – २

सहिष्णु हिन्दू धर्म : भ्रम र यथार्थ – २


मध्यकालको आरम्भ र त्यसपछिका शताब्दीहरूमा शैव–वैष्णव शत्रुताका अनगिन्ती उदाहरण पाइन्छन् । त्यस्तै, प्राचीन भारतका ग्रन्थहरूमा ब्राह्मणवाद र ब्राह्मणवादविरोधी सम्प्रदायहरूबिच सङ्घर्षका अनेक प्रमाण पाइन्छन् । उदाहरणको लागि जैन धर्मप्रति ब्राह्मणहरूको दुश्मनीको सुरुआती प्रमाण जैन धर्मग्रन्थ आयाराङ्ग सुत्तमा पाइन्छ । यो धर्मग्रन्थअनुसार जैन मुनिहरू दिनमा लुकेर बस्थे र रातमा मात्र यात्रामा निस्कन्थे । दिनमा उनीहरूलाई जासुस ठान्ने डर हुन्थ्यो । त्यस्तै, कौटिल्य अर्थशास्त्रमा गैरवैदिक सम्प्रदायका अनुयायीहरूलाई तिरस्कारपूर्वक वृषल वा पाखण्ड भनिएको छ । (उदाहरण शाक्य, आजीविक आदि) अर्थशास्त्रमा तिनको बस्ती मसानघाटमा वा घाटनजिकै बसाल्न (पाषंडचंडालयानाम) भनिएको छ । साथै, तिनलाई देवता वा पितृको सम्मानमा दिइने रात्रिभोजमा निम्त्याउने व्यक्तिलाई कडा दण्डको व्यवस्था पनि गरिएको छ ।
सम्राट अशोकको शिलालेखमा पाइने ‘पाखण्ड’ शब्दका अर्थ निन्दात्मक होइन । किनभने उनले बौद्ध सङ्घ, ब्राह्मण र आजीवलगायत ‘अन्य धार्मिक सम्प्रदायहरू’ (पाषंदेशु) को क्रियाकलाप रेखदेख गर्नका लागि ‘धर्ममहामात्रहरू’ नियुक्त गरेका थिए । अन्य धर्मप्रति सहिष्णुता अशोकको नीतिगत चिनारी नै थियो । तर, उनीपछि यो सहिष्णुता देखिएन । प्रसिद्ध व्याकरणकार पाणिनी (इपू. दोस्रो शताब्दी) ले भने, “श्रमण र ब्राह्मणहरू साँप र न्याउरी मुसा जस्तै शाश्वत शत्रु हुन् ।” (विरोध शाश्वतिकाः) तेस्रो–चौथो शताब्दीको बौद्ध ग्रन्थ दिव्यावदानमा पुष्यमित्र शुङ्गलाई बौद्धहरूप्रति चरम ज्यादती गर्ने शासकको रूपमा चित्रण गरिएको छ । बौद्ध स्तुपहरू नष्ट गरेर मात्र नपुगेर पुष्यमित्रले एक श्रमणको हत्या गरे बापत १ सय दीनार पुरस्कार दिने घोषणा गरे ।
मध्यकालको आरम्भमा बौद्ध र जैन धर्मप्रति ब्राह्मणहरूको रिसराग असाध्यै बढेको देखिन्छ । तिनका अनुयायीहरूप्रति बढेको उत्पीडन र धार्मिक वैरभावसम्बन्धी विभिन्न धर्मग्रन्थबाट यो कुरा प्रमाणित हुन्छ । सातौँ शताब्दीका उद्योतकरले बौद्ध तर्कशास्त्री नागार्जुन र दिगनागको खण्डन गरे । पछि नवौँ शताब्दीका वाचस्पति मिश्रले पनि खण्डनको यही परम्परालाई बलियो पारे । उनले बौद्ध र जैन सिद्धान्त ज्ञानको वैध परम्परासँग बाझिने अनि बौद्ध र ऋषभहरूले संसारलाई डुबाउन चाहेको बताए । यही विचार पछि गएर अर्का बुद्धविरोधी तर्कशास्त्री उदयनले दोहो¥याए । उनी नव्य न्याय दर्शनका संस्थापक थिए । उनले आफ्नो रचना आत्मतत्वविवेकमा बौद्ध धर्मको निरीश्वरवादी विचारमाथि तीखो प्रहार गरे । बौद्ध शिक्षाको ठाडो खण्डन गरेको हुनाले ‘आत्मतत्वविवेक’ लाई बौद्धधिक्कार ग्रन्थ पनि भनिन्छ । उदयनले अर्को पुस्तक ‘कुसुमाञ्जली प्रकरण’ मा सौगत, दिगम्बर, चार्वाक, मिमांसक र साङ्ख्यहरूको विचारको पनि खण्डन गरे । उनले न्यायकुसुमाञ्जलीको भाष्यको रूपमा यो पुस्तक लेखेका थिए ।
न्याय दर्शनका अलावा कैयन् ब्राह्मणवादी विचारकहरूले बौद्ध र जैन धर्ममाथि प्रहार गरे । आठौँ शताब्दीका दक्षिण भारतीय द्वन्द्ववादी कुमारिल भट्ट यस्तै आलोचक थिए । उनले सबै अपारम्परिक धार्मिक आन्दोलनका तमाम विचारलाई खारेज गरे । खासगरी उनले बौद्ध र जैन मतलाई अस्वीकार गरे । वेदसँग बाझिने सबथोकलाई अस्वीकार गर्नुपर्छ भन्ने उनको विचार थियो । (विरोधे त्व अनयेक्ष्या म स्याद) उनले अवैदिक मतहरूलाई आफ्ना आमाबाको अनुकम्पा अस्वीकार गर्ने कृतघ्न र विमुख बच्चासँग तुलना गरे । किनभने, उनको विचारमा ‘तिनले वेदमा उल्लेख अहिंसाको विचारलाई नै वेदविरोधी प्रचारको साधन बनाउँछन्’ । उमेरले कान्छा तर कुमारिलकै समकालीन थिए शङ्कर । शङ्कर कुमारिलभन्दा अझ कठोर र सम्झौता नगर्ने दार्शनिक साबित भए । उनले वेदइतर सबै परम्परालाई ठाडै अस्वीकार गरे । उनले भागवत (गीता) र पञ्चरात्रिनलाई समेत खारेज गरे । उनले बुद्धलाई ‘असङ्गत प्रलाप’ (असम्बद्ध प्रलापित्वापित्व) गरेको तथा बुद्धले ‘जानाजन र घृणापूर्वक मानव जातिलाई अल्मल्याएको’ आरोप लगाए । उनले बुद्ध धर्म ‘समग्रमा असंगत’ (सर्वथानुपत्ति) भएको आरोप बताए । यसरी नै सन् १०३५ को एक शिलालेखमा एक शैव मन्दिरका पुजारी (लकुलिश पण्डित ?) लाई ‘बौद्ध सागरमा तैरिरहेको आगोको नाउ’ लेखिएको पाइन्छ । १६ औँ शताब्दीमा भागवद् गीताको भाष्य लेख्ने बङ्गाली मधुसुदन सरस्वतीले बौद्धलगायत भौतिकवादी शिक्षालाई ‘म्लेच्छ’ हरूको उपदेश भने र तिनबारे विचारै नगर्न अर्ती दिए ।
रुढीवादी दार्शनिकहरूको प्रतिध्वनि पुराणहरूमा पनि पाइन्छ । देवी पुराणमा बौद्ध धर्मावलम्बीहरूलाई दुष्टताका प्रतीक भनिएको छ । तिनलाई देख्यो कि विपत्ति आइलाग्ने र तिनीहरू सपनामा आए भने पनि अशुभ हुने भनिएको छ । त्यसैगरी, नारदीय पुराण भन्छ, “महाविनाश हुँदासमेत बौद्ध मन्दिरमा प्रवेश गर्ने ब्राह्मणले सयौँपल्ट प्रायश्चित गरे पनि ऊ (बौद्ध मन्दिर पसेको) पापबाट मुक्त हुन सक्दैन ।” यो निन्दा जैन, कापालिक र चार्वाकजस्ता फरक धर्मावम्बीहरूप्रति पनि गरिन्थ्यो भन्ने कुरा देवीभागवत पुराणमा उल्लेख छ । सौरपुराणले बौद्ध, जैन र चार्वाकहरूलाई अधिराज्यमै बस्न दिनुहुन्न भन्छ ।
आरम्भिक मध्यकालीन साहित्यमा समेत यी समूहको अति नकारात्मक चित्रण पाइन्छ । मत्तविलास प्रहसन सातौँ शताब्दीका पल्लव राजा महेन्द्रवर्मनले लेखेको व्यङ्ग्य नाटक हो । यसमा बौद्धहरूलाई पतीत, बेइमान र धर्तीका मयल भनिएको छ । नाटकमा एक भ्रष्ट बौद्ध धर्मावलम्बीलाई सोधिन्छ, “बुद्धले स्त्रीमाथि हक जमाउने र मदिरा पिउने छुट किन दिएनन् त ?” (किन्नखलु स्त्रीपरिग्रह सुरापानविद्यानम का ना द्रष्टम) प्रबोधचन्द्रोदय ११ औँ शताब्दीका कृष्ण मिश्रले लेखेको नाटक थियो । त्यसमा बौद्ध र जैन दुवै धर्मलाई तामसिक (अन्धकारबाट उत्पन्न भएका) भनिएको छ । नाटकमा बौद्ध भिक्षुलाई संसारी सुखमा लिप्त व्यक्ति र एक जैन मुनिलाई नाङ्गो, नामर्द (निर्वीय), तालुखुइले र मयुरको पङ्खा समाइरहेको व्यक्तिको रूपमा चित्रण गरिएको छ । नाटकमा असल र खराबबिच लडाइँ चल्छ† लडाइँमा बौद्ध, जैन, पाषंड (पापिष्ट), लोकायतीहरू हार्छन् । अन्त्यमा, सबै वेदविरोधी दर्शनलाई ‘वैदिक विचारको ज्वारभाटाले जरैबाट उखेल्छन्’ ।
गैरवैदिक सम्प्रदायहरू पनि ब्राह्मणवादी साहित्य र विचारको भत्र्सना गर्नमा पछि परेनन् । सातौँ–आठौँ शताब्दीका जैन तर्कशास्त्री अकलङ्कले वैदिक पशुबलिविरुद्ध विषवमन नै गरे । त्यस्तै, १२ औँ शताब्दीका प्रसिद्ध विद्वान् हेमचन्द्रले कर्मकाण्डीय हिंसाको पक्ष लिने मनुस्मृतिका श्लोकहरूलाई हिंसाशास्त्र नै भने । सातौँ शताब्दीका जैन भाष्यकार जिनदासले महेश्वर (शिव) लाई ‘आफ्नो शक्ति लुकाउने उचित स्थान खोजिरहेको एक धामीद्वारा चमत्कारी ढङ्गले दोजिया बनाइएकी एक भक्तिनीका छोरा’ भने । १६ औँ शताब्दीमा पाण्डव पुराणमा विष्णुलाई नकारात्मक चित्रण गरियो । पाण्डव पुराण महाभारतको जैन संस्करण थियो । त्यसमा कृष्णलाई ‘कपटी र स्वार्थी’ भनियो । जैन सन्तचरित्र ब्राह्मणवादी सम्प्रदायप्रति आक्रामक टिप्पणीले भरिएको छ । तिनमा जैन धर्मका महान् गुरुहरूले बौद्धहरूलाई बहसमा हराएको चर्चा बारम्बार पाइन्छ । आठौँ शताब्दीका प्रसिद्ध जैन दार्शनिक हरिभद्रले बौद्ध धर्म र वेदान्तको आलोचना पनि गरे । जैन धर्मावलम्बीहरूले बौद्ध गुफाहरू कब्जा गरेको विवरणबाट पनि बौद्धहरूप्रति तिनको शत्रुता स्पष्ट हुन्छ ।
यसैगरी, ब्राह्मणवादप्रति बौद्धहरूको घृणा पनि लुकेको तथ्य होइन । बुद्ध आफैले तीन वेदलाई ‘मूर्खतापूर्ण बकबक’ र ‘काकाकुल मरुभूमि’ भने । वेदको विवेकलाई बुद्धले ‘बाटो नभएको जङ्गल’ र ‘नर्क’ भने । (दिग्घनिकाय १, तेविज्जासुत्त) मध्यकालको आरम्भमा ब्राह्मण धर्मलगायत जैनजस्ता अन्य धर्मप्रति बौद्धहरूको शत्रुता ह्वात्तै बढ्यो । सैद्धान्तिक तहमा आठौँ शताब्दीका शान्तरक्षितले तत्वसङ्ग्रहजस्ता आफ्ना रचनामा बौद्ध कोणबाट न्याय, मीमांसा, साङ्ख्य र जैन दर्शनहरूको समीक्षा गरे । ब्राह्मण धर्मका देवताप्रति बौद्धहरूको घृणाभावबाट पनि ब्राह्मणवादप्रति तिनको धार्मिक विद्वेष स्पष्ट हुन्छ । तिनले विभिन्न ब्राह्मण देवता र त्यसमा पनि खासगरी शैव देवताहरूलाई बौद्ध देवीदेवताभन्दा अनुचर र अधिनस्थका रूपमा देखाए । यसकारण, मध्यकालको आरम्भमा बनेका विभिन्न बौद्ध वास्तुकलामा इतर देवीदेवताहरू कुल्चिएको अवस्थामा पाइन्छन् । शैवहरूप्रति बौद्ध र जैनहरूको शत्रुताका प्रमाण धेरै छन् । तर, यसको तुलनामा इतर सम्प्रदायप्रति शैवहरूको शत्रुताका प्रमाण कता हो कता बढी छन् । इतर सम्प्रदायप्रति शैवहरूको विद्वेष कति कडा थियो भने तिनीहरू बौद्ध र जैन ग्रन्थहरू नष्ट गर्ने हत्कण्डामा पनि उत्रिन्थे । कुन्तलकेची र विम्पिचारकतै जस्ता महत्वपूर्ण बौद्ध रचना लुप्त हुनुको कारण यही धार्मिक उन्माद थियो । वलैयापति र रामायण जस्ता जैन रचना हराउनुको कारण पनि यही धर्मान्धता थियो । तमिल भाषाका सिद्ध ग्रन्थहरूलाई पनि रुढीवादी शैवहरूले जानाजान नष्ट गरेका थिए ।
बौद्ध–जैनहरूप्रति ब्राह्मणहरूको गालीगलौज खोक्रा शब्द मात्र थिएनन् । सन् ५०० आसपास भारतमा मध्यकाल प्रारम्भ भएको मानिन्छ । त्यसबेलाका सन्दर्भ ग्रन्थमा बौद्ध र जैनहरूमाथि भएका अत्याचारका धेरै प्रमाण भेटिन्छन् । चिनियाँ यात्री ह्वेन साङ भन्छन् – राजा हर्षवद्र्धनका समकालीन राजा शशाङ्कले बोधगयामा बुद्धले ध्यानस्थ रहेको बोधी वृक्ष काटेका र स्थानीय मन्दिरबाट बुद्धको प्रतिमा हटाएका थिए । ह्वेन साङकै विवरणअनुसार शिवभक्त हुण शासक मिहिरकुलले १६ सय बौद्ध स्तुप र विहार ध्वस्त पारेका थिए भने हजारौँ बौद्ध भिक्षु तथा साधारण धर्मावलम्बीको हत्या गरेका थिए । उनको नृशंस कुकृत्यको प्रमाण ११ औँ शताब्दीका कल्हणको रचनामा पनि पाइन्छ । उनले कश्मीरका राजाले अघिअघि बौद्धहरूमाथि गरेको अत्याचारबारे लेखेका छन् । कल्हणको राजतरंगिणीमा बौद्ध मठहरूमा भएको लुटपाट र विध्वंसबारे उल्लेख छ । यी विनाशलीला धेरै त राजामहाराजाको धनको लोभका कारण भएका थिए । तैपनि, यसबाट बौद्धहरूप्रतिको विद्वेष पनि झल्किन्छ । सम्राट अशोकका छोरा जलौकले बौद्ध विहारमा मच्चाएको विनाश यसखाले सुरुआती विनाश थियो । जलौक शैवमार्गी थिए ।
कश्मीरमा बौद्धहरूमाथि भएको ज्यादतीको अर्को महत्वपूर्ण प्रमाण हो राजा क्षेमगुप्तको शासनकाल (सन् ९५०–५८) । क्षेमगुप्तले श्रीनगरको जयेन्द्रविहारलाई नष्ट गरेर त्यसको भग्नावशेषबाटै क्षेमगौरीश्वर नायक मन्दिर निर्माण गर्न लगाएका थिए । भनिन्छ, आजको उत्तर प्रदेशको सुल्तानपुर जिल्लामा भेटिने किल्लाबन्द सहरहरूका ४७ सुनसान इलाकामा कुनै बेला बौद्ध नगरहरू थिए र बुद्ध धर्ममाथि विजयी भएको खुसियालीमा ब्राह्मणहरूले तिनमा आगजनी गरेका थिए । उत्तर भारतका कतिपय पुराण तथा शिलालेखमा पनि बौद्धहरूमाथि भएको अत्याचारको प्रमाण पाइन्छ । एक तिब्बती परम्पराअनुसार ११ औँ शताब्दीका कलचुरी वंशका राजा कर्णले मगधमा कैयन् बौद्ध मठहरू नष्ट गरेका थिए । तिब्बती ग्रन्थ पाग–साम–जोन–जाङ्गमा नालन्दा विश्वविद्यालयको पुस्तकालयलाई कुनै ‘हिन्दू कट्टरपन्थी’ ले जलाएको थियो भनी लेखिएको छ । यद्यपि, नालन्दा विश्वविद्यालयलाई बख्तियार खिलजीले जलाएको भन्ने आम प्रचार छ । बौद्ध धर्मको विरोधका रोचक उदाहरण दक्षिण भारतमा भेटिन्छन् । १३ औँ शताब्दीका आलवार ग्रन्थका अनुसार वैष्णव कवि सन्त तिरुमङ्काईले नागपत्तिनमस्थित स्तुपबाट बुद्धको विशाल स्वर्ण मूर्ति चोरेका थिए । त्यसपछि त्यो मूर्तिलाई आगोमा गालेर पुनः मन्दिरमा प्रयोग गरे । विष्णुले नै आफूलाई यो जिम्मेवारी सुम्पेको ती कविको बयान थियो । बौद्धहरूप्रति ब्राह्मणहरूको दुश्मनी र घृणा समाजका धेरै तप्कामा आज पनि जारी छ । जस्तो तेलगू भाषामा लन्ज दिव्बालु शब्द प्रयोग गरिन्छ । यसको अर्थ ‘वेश्या पहाड’ हो । बौद्ध पुरातात्विक अवशेषका थुम्काहरूलाई जनाउन यसको प्रयोग आज पनि हुन्छ ।

बौद्धहरूभन्दा जैनहरूप्रति गरिएको ज्यादतीका प्रमाण बढी पाइन्छन् । खासगरी दक्षिण भारतमा जैनहरूले ठुलो उत्पीडन व्यहोर्नुप¥यो । शैवमार्गी (नायनार) र वैष्णव (आल्वार) हरूले लगातार जैनहरूलाई घृणास्पद ‘पराइ’ को रूपमा चित्रण गरिरहे । छैटौँ–सातौँ शताब्दीदेखि यो घृणा सयौँ वर्षसम्म जारी रह्यो । यसको प्रमाण दसौँ शताब्दीको रचना तेवरममा भेटिन्छ । यो सुरुसुरुका तीन प्रसिद्ध नायनार सन्त कविहरूका श्लोकहरूको सङ्ग्रह हो । ती कविमध्ये अप्पर (सातौँ शताब्दी) र सम्बन्दर (सातौँ शताब्दी) ले जैनहरूलाई अपमानजनक भाषामा निन्दा गरेका थिए । अप्परले जैनहरूलाई ‘निर्लज्ज जैन मुनि’, ‘रातमा उपवास बस्ने नाङ्गा जैनहरू’, ‘बर्बर पाराले खाने दुष्ट मुनि’, ‘पहेँला दाँतसितका निम्छरा र फोहरी जैन मुनि’ भने । सम्बन्दरले पनि यसरी नै जैनहरूलाई गालीगलौज गरे । जैनहरूलाई उनले ‘राडी लगाउने, आफ्नो केश लुछ्ने र उभिएर खाना खाने बौलाहा जैन मुनि’ भने । यी दुई नयानार सन्तहरूले जैनहरूसँग भेट्दाको एउटा घटनाको सजीव वर्णन १२ औँ शताब्दीको आख्यान सेक्किलारले लेखेको पेरियपुराणम्मा पाइन्छ । यसमा वर्णित सबैभन्दा रोचक र महत्वपूर्ण घटनामा सम्बन्दरले जैन मुनिहरूलाई सबै बहसमा हराउँछन् । उनले मदुरैका पाण्डेयन राजालाई जैनबाट शैव मतमा धर्मान्तरण गराउँछन् र अन्ततः बहसमा पराजित ८ हजार जैन मुनिहरूको हत्या गरिन्छ ।
यो नरसंहारको कुनै ऐतिहासिक दस्ताबेज पाइन्न । तैपनि, जैनहरूप्रति शैवहरूको असहिष्णुताका प्रमाणहरू अनेक अनुश्रुतिहरूमा पाइन्छ । यस्तै उल्लेख मदुरैको स्थलपुराणमा पनि छ । यसैगरी तिरुनेलवेली जिल्ला (तमिलनाडु) का सबैभन्दा पुराना जैन गुफा मन्दिरलाई सातौँ शताब्दीमा शैव तीर्थमा फेरिएको थियो । कान्चीपुरमको कैलाशनाथ मन्दिर र मदुरैको मिनाक्षी मन्दिरको स्वर्ण कुमुदनी पोखरीको मण्डपम्का भित्ताहरू हिंस्रक चित्रहरू कोरिएको थियो । यसबाट जैनहरूले सहनुपरेको ज्यादतीको भेउ पाइन्छ ।
कर्नाटकका जैनहरू सधँैजसो लडाकु शैवमार्गी लिंगायत सम्प्रदायको निसानामा परिरहन्थे । लिंगायत सम्प्रदाय १२ औँ शताब्दीमा बनेको थियो । यसका संस्थापक थिए बासव । उनको सन्त जीवनचरितमा जैनहरूको संहार गरेको, कर्नाटकका विभिन्न इलाकामा रहेका जैन मन्दिरहरूलाई शैव तीर्थस्थलमा फेरेको र जैन मूर्तिहरूलाई नष्ट गरेको लिखित प्रमाण पाइन्छ । त्यस्तै, एउटा कर्नाटक अभिलेख र चेन्नाबासव पुराणमा एक जैन धार्मिक मठलाई अपवित्र गरेको घटना पढ्न पाइन्छ । यो घटना सन् ११६० मा अब्लुरमा भएको थियो । एउटा बहसमा जैनहरूलाई पराजित गरेपछि वीरशैव एकान्तद रामैयाले जैनहरूको मन्दिर भत्काउन लगाए । त्यसको स्थानमा उनले वीर सोमनाथको सम्मानमा एउटा मन्दिर स्थापना गर्न लगाए । त्यो मन्दिरमा उनले जैनहरूसँग शास्त्रार्थ हराएको दृश्य कुँदेको पाइन्छ । जैनहरूमाथिको अत्याचारले सीमा नाघ्यो । यसर्थ, १४ औँ शताब्दीमा विजयनगरको शासक परिवारसँग हस्तक्षेप गर्न याचना गर्नुप¥यो । तर, वीरशैवहरूले त्यसपछि पनि जैनहरूमाथि लगातार ज्यादती गरिरहे । आन्ध्र प्रदेशको श्रीसेलम क्षेत्रमा भेटिएका १६ औँ शताब्दीका अनेक शिलालेखबाट यो तथ्य पुष्टि हुन्छ । एक शिलालेखअनुसार लिङ्ग नाम गरेका मुखियाले श्वेताम्बर जैनहरूको मुन्टो काट्नमा गर्व गर्थे । त्यस घटनाको धेरै पछि पनि जैनहरू घृणाका पात्र बनिरहे । एक अज्ञात स्रोतमा हात्तीले कुल्चिने डर भए पनि जैन मन्दिरमा शरण लिनु हुँदैन भन्ने कथन पाइनु आश्चर्यको कुरा भएन । (हस्तिना ताडियामानो पी नागच्छिद जैन मन्दिरम्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *