भर्खरै :

प्रदेशसभाले तोक्यो स्थानीय तहको तलब सुविधा

हेटौंडा, १३ बैशाख । प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार बसेको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको तबल सुविधा तोकेको छ । बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर लामो समयदेखि अन्योलमा रहेको स्थानीय पालिकाहरुका पदाधिकारी र सदस्यहरुको तलब सुविधा तय गरेको छ ।
पारित विधेयकअनुसार नगरपालिकाको मेयरको मासिक तलब ३५ हजार, उपमेयरको ३० हजार, वडाध्यक्षको २१ हजार, कार्यपालिका सदस्यको ७ हजार र सभाको सदस्यको ६ हजार तय गरिएको छ ।
साथै मेयरलाई सञ्चार सुविधा मासिक दुई हजार, उपमेयरको पन्ध्र सय र वडाध्यक्षको एक हजार तय भएको छ ।
दैनिक भ्रमण भत्ता मेयरको दुई हजार, उपमेयरको अठार सय, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्यको सोह« सय तय भएको छ ।
विदेश भ्रमणको सन्दर्भमा मेयरको भ्रमण भत्ता १५० डलर, उपमेयरको १४० डलर, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदस्यको १२५ डलर हुने भएको छ ।
साथै न्यायिक समितिका सदस्यहरुलाई प्रतिमहिना बढीमा चार पटकको बैठकको लागि प्रति बैठक पाँच सय भत्ता सुविधा दिने निर्णय भएको छ ।
साथै विधायन समिति, लेखा समिति र सुशासन समितिका सदस्यहरुलाई वार्षिक १२ पटक बैठकका लागि प्रति बैठक पाँच सय बैठक भत्ता तय गरिएको छ ।
गाउँपालिकाको सन्दर्भमा अध्यक्षको प्रतिमहिना तलब ३० हजार, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको ६ हजार र सभा सदस्यहरुको ५ हजार रुपैयाँ तोकिएको छ ।
साथै अध्यक्षलाई १५ सय, उपाध्यक्षलाई एक हजार र वडाध्यक्षलाई ८ सय मासिक सञ्चार सुविधा तोकिएको छ ।
साथै अध्यक्षको दैनिक भ्रमण भत्ता १८ सय(विदेश भ्रमणमा १५० डलर), उपाध्यक्षको १६ सय(विदेशभ्रमणमा १४० डलर), वडाध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्यको लागि १५ सय(विदेश भ्रमणमा १२५ डलर) तोकिएको छ ।
न्यायिक, विधायन, लेखा र सुशासन समितिको बैठक भत्ता नगरपालिकाकै साविक तोकिएको छ ।
न्यायिक समितिको बैठक भने महिनामा तीन पटक मात्र बस्ने पाउने बन्दोबस्त गरिएको छ ।
महानगरको सन्दर्भमा मेयरको तलब मासिक ४२ हजार, उपमेयरको ३७ हजार, वडाध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको ८ हजार र सभा सदस्यको ७ हजार तोकिएको छ ।
सञ्चार सुविधा क्रमशः मेयरको ३ हजार, उपमेयरको १५ सय र वडाध्यक्षको एक हजार तोकिएको छ ।
दैनिक भ्रमण भत्ता मेयरको २५ सय, उपमेयरको २ हजार, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्यको १६ सय तोकिएको छ ।
उपमहानगरपालिकाको प्रमुखको मासिक तलब ४० हजार, उपमेयरको ३५ हजार, वडाध्यक्षको २२ हजार, कार्यपालिका सदस्यको ७ हजार ५ सय र सभा सदस्यको ६ हजार ५ सय तय गरिएको छ ।
जिल्ला समन्वय समितिको प्रमुखको मासिक तलब ४२ हजार, उपप्रमुखको ३७ हजार र सदस्यको ८ हजार ५ सय तोकिएको छ ।
विदेशमा दैनिक भ्रमण भत्ताको सन्दर्भमा युरोपेली मुलुक, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हंगकंग, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेवनान, बहराइनको भ्रमणमा जाँदा तोकिएको रकममा तेत्तीस प्रतिशत थप रकम दिइने निर्णय भएको छ । साथै भारतको चेन्नाई, हैदरावाद, बैंग्लोर, मुम्बई, दिल्ली, कोलकोत्ता, बंगलादेशको ढाका र चटगाउँमा रात बिताउनुपर्ने अवस्थामो तोकिएको विदेश भ्रमण भत्ताको आधा प्रतिशत दिने विधेयक पारित भएको छ ।
सबै पदाधिकारी र सदस्यहरुको यात्रा विमा भने दश लाख तोकिएको छ ।
संविधानमा स्थानीय तहको पदाधिकारी र सदस्यहरुको तलब सुविधा प्रदेशसभाबाट तय गर्ने बन्दोबस्त छ । तर प्रदेश सभा बन्नुअघि नै स्थानीय तहको निर्वाचन भई पदाधिकारी निर्वाचित हुँदा लामो समय पदाधिकारीहरुको तलब सुविधा अनिश्चित बनेको थियो । केही पालिकाहरुले भने आफैले मनोमानी तरिकाले तलब तोकी सुविधा लिएका थिए ।
बिहीबार बसेको प्रदेशसभा बैठकले गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि पनि पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *