भर्खरै :

“भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ”

“भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ”

भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा सल्लाघारी एकाइ समितिले आइतबार कार्यकर्ता भेला ग¥यो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले पार्टीको गौरवमय इतिहासबारे चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचारीहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “वि.सं. २०२६ र २०२५ सालको भ्रष्टाचारविरोधी आन्दोलन, २२ सालमा सुस्ता अतिक्रमण विरूद्धमा भएको विरोध ¥याली र भियतनाममा अमेरिकी साम्राज्यवादी अत्याचारविरूद्ध पार्टीले खेलेको साहसी भूमिकाबारे नयाँ पुस्तालाई जानकारी गराइराख्नु जरूरी छ ।”
सचिव सुवालले नेपालमा भइरहेका विभिन्न आन्दोलन र गतिविधिमा अमेरिकी जासुसी संस्था र भारतीय विस्तारवादको हात रहेको स्पष्ट पार्दै जेन–जीको नाममा हुने गतिविधि र रास्वपाका गतिविधि शङ्कास्पद छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा अस्पताल र कलेजहरू सञ्चालन गरेर देशमै नमुना काम गरिरहेको अवस्थामा सरकारले ‘ख्वप विश्वविद्यालय’लाई अनुमति नदिनु पूर्वाग्रहपूर्ण रहेको उहाँको भनाइ थियो ।
३५ वर्षसम्म सत्तामा बसेका दलहरूले देशलाई २८ खर्बको ऋणमा डुबाएको र रक्सी बेचेर राजस्व उठाउने जस्ता गलत काम गरेको उल्लेख गर्दै सचिव सुवालले वर्तमान समयमा बन्दुकभन्दा ‘डिजिटल स्क्रिन’ को प्रयोग घातक भइरहेकोले बालबालिकालाई सही मार्गनिर्देशन आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष श्यामकृष्ण खत्रीले संसद्मा नेमकिपाले प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँदै भारतीय विस्तारवाद र सीमा अतिक्रमण विरूद्ध सधैँ आवाज बुलन्द गर्न नेमकिपाका प्रतिनिधिहरूलाई संसदीय निर्वाचनमा विजयी गराउनु आवश्यक छ भन्नुभयो । उहाँले आफ्नै देशका किसानलाई बिजुली र मलमा अनुदान नदिई विदेशीलाई पोस्ने सरकारी नीतिको आलोचना गर्नुभयो ।
कार्यक्रममा स्थानीय कार्यकर्ताहरू शिवलक्ष्मी दुवाल, जीवन दुवाल र पुण्यराम बाइजुले पनि बोल्नुभएको थियो ।
सभाले १ वडा सल्लाघारी एकाइ निर्वाचन परिचालन समितिको गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *