नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, २५ माघ । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाको शनिबार एक समारोहबिच अर्ध–वार्षिक समीक्षा गोष्ठी भयो ।
उक्त गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सामुदायको सेवा गर्ने भावना राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै काम गर्दा अवसरसँगै चुनौती पनि आउने बताउनुभयो ।
स्वदेशमै सरकारले रोजगारीको व्यवस्था गर्न नसकेको कारण युवाहरू बिदेसिन बाध्य भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्ने नीतिको खाँचो छ भन्नुभयो ।
भागबन्डाको राजनीतिले सरकारले देशमा मार्गनिर्देश गर्न नसकेको चर्चा गर्दै प्रदेशसभा सदस्य गोसाईले विदेशीको भरमा बसेको सरकारले कहिले पनि प्रगति गर्न नसक्ने विचार व्यक्त गर्नुभयो ।
देश र जनताप्रति समर्पित नेता तथा कार्यकर्ताहरूले देश र जनताको दूरगामी सोचेर काम गर्ने आवश्यकता औँल्याउँदै उहाँले विदेशी चलखेलप्रति सरकारमात्र होइन राजनीतिक दल र जनता सचेत हुनुपर्ने बताउनुभयो ।
अहिले हुन लागेको चुनावमा पनि विदेशीहरूको स्वार्थ हुनेतर्फ जनता सचेत हुनुपर्ने उहाँको बुझाइ हो ।
प्रशिक्षक गोपाल किसीले एआईको प्रयोगले मानिसहरूले काम पाउने सम्भावना कम हुँदै जाने विचार व्यक्त गर्दै त्यसले काम चाँडो गर्न सहयोग गर्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष जितेन्द्र खायमलीले सामिप्यता बढाउन समिति उपसमितिका पदाधिकारीहरू समय–समयमा सहकारी आइरहनुपर्ने आवश्यकता औँल्याउँदै संस्थाको तरलता राम्रो भएको र ऋण लगानी राम्रै भइरहेको बताउनुभयो ।
संस्थाका सचिव रत्नप्रसाद साँय्जुले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीप्रसाद दुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहसचिव मेनसन लाखेमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply