भर्खरै :

नेपालमा भारतीय संस्था आरएसएसको फैलँदो प्रभाव

  • माघ २६, २०८२
  • महेश कुशवाहा
  • विचार
नेपालमा भारतीय संस्था आरएसएसको फैलँदो प्रभाव

अघिल्लो महिना मधेसमा फेरि पनि धर्मको नाममा तनाव चर्कियो । हिन्दू युवा र मुस्लिम समुदायबिच झडपको रूप लिएको यो तनाव वीरगञ्जमा सुरु भई छिट्टै अन्य सहरहरूमा फैलियो । सामाजिक सञ्जाल योपटक पनि उक्साउने माध्यम बन्यो तर केही वर्षयता नेपालमा उल्लेखनीय रूपमा बढ्दै गएको यो चिन्ताजनक प्रवृत्ति भारतको राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र त्यसको राजनीतिक शाखा भारतीय जनता पार्टी (भाजपा) को हिन्दूत्ववादी विचारधारा र कार्यनीतिसँग जोडिएको छ । प्रश्न उठ्छ, आरएसएसबाट प्रेरित अतिवाद कसरी नेपाली राज्यको निगरानीलाई छल्दै सिमाना पार गर्दै छ ?
यसलाई बुझ्न ‘द क्याराभ्यान’ द्वारा हालसालै गरिएको गहिरो अनुसन्धान पढ्नुपर्छ, जसले आरएसएस अर्थात् सङ्घको सङ्गठनात्मक संरचना, सञ्चालन पद्धति र जेलिएको सम्बद्ध संस्थाहरूको विश्वव्यापी सञ्जाललाई उजागर गरेको छ । उक्त अनुसन्धानले आरएसएस अर्थात् सङ्घको सङ्गठनात्मक संरचना, काम गर्ने तरीका र यससँग जोडिएका संस्थाहरूको विश्वव्यापी सञ्जाललाई स्पष्ट रूपमा देखाएको छ । आरएसएससँग सम्बन्ध भएका २५ हजार संस्थाहरू सार्वजनिक गरेको छ । यी सम्बन्ध विचारधाराको आधारमा मात्र होइन, आर्थिक, सङ्गठनात्मक र व्यावहारिक सम्बन्धका आधारमा पनि रहेको देखिन्छ । अनुसन्धानमा भनिएअनुसार आरएसएसले ‘केन्द्रदेखि घेरासम्म’ (सेन्टर टु पेरिफेरी) मोडेलमा काम गर्छ । यसको अर्थ, केन्द्रमा रहेको मूल सङ्गठनसँग बाहिरतिरका धेरै साना, सामान्य देखिने र कम परिचित संस्थाहरू जोडिएका हुन्छन् । ती संस्थाहरू समाजका विभिन्न तहमा पुग्छन् र ठुला समुदायसम्म आफ्नो पहुँच बनाउँछन् ।
यो विशाल र विविध सञ्जालको बलले आरएसएसले समाजमा उल्लेखनीय प्रभाव पार्छ । प्रतिवेदनले उल्लेख गरेझैँ आरएसएस सञ्जालमा यस्ता संस्थाहरू पनि छन्, जो अत्यन्तै ‘गोप्य’ रूपमा सञ्चालन हुन्छन् । यी संस्थाले अरू संस्थासँग राखेको सम्बन्ध स्पष्ट देखिँदैन र यिनीहरूका बारेमा सूचना कमै पाइन्छ । यसकारण, उनीहरूले आरएसएसका बढी विवादास्पद र राजनीतिक रूपमा संवेदनशील कार्य गर्न सक्छन् । यी सबै संस्था धर्मको नाममा गरिएको आरएसएसको राष्ट्र–निर्माण अभियानमा प्रभावकारी रूपमा सहकार्य गर्छन् । यस कुराको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गर्वका साथ प्रशंसा गरेका छन् ।
नेपालमा आरएसएस सम्बद्ध सङ्गठनात्मक संस्थाहरू
‘द क्याराभ्यान’ मा प्रकाशित नक्साले नेपालमा आरएसएससँग निर्णायक सम्बन्ध भएका तीन संस्था देखाउँछ– हिन्दू स्वयंसेवक सङ्घ, नेपाल (एचएसएस–नेपाल), युथ फर सेवा नेपाल र विश्व हिन्दू महासङ्घ (भीएचएम) । ‘द क्याराभ्यान’ को वर्गीकरणमा यी संस्थाले ‘पर्फेक्ट लिङ्केज स्कोर १’ पाउँछन् । नेपालमा आरएसएसले कति गहिरोसँग प्रवेश गरेको छ भन्नेबारे यसले महत्वपूर्ण सङ्केत दिन्छ । उदाहरणका लागि, एचएसएस–नेपालले आफूलाई सङ्घको संस्था भएको स्व–घोषणा गरेको छ । यसले आरएसएस र औपचारिक सङ्घ परिवारका विभिन्न सदस्यलाई बोल्न आमन्त्रित गरेको छ र अरू हिसाबले संलग्न गराएको छ । सङ्घका प्रकाशनहरूसँग एचएसएसको सम्बन्ध रहेको पनि लेखले पुष्टि गर्छ । लेखअनुसार एचएसएस नेपालले प्रयोग गर्ने नामकरण र सामग्रीमा आरएसएससँगको सम्बन्धका स्पष्ट सङ्केतहरू देखिन्छन् (जस्तै, आरएसएसका संस्थापक केशव बलिराम हेडगेवारको तस्वीर फ्रेम गरिएको हुनु वा एक ‘प्रचारक’ अर्थात् सङ्घका पूर्णकालीन कार्यकर्ताको नामबाट नामकरण हुनु) । यसले सङ्घका अन्य सम्बद्ध संस्थासँग संयुक्त कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।
युथ फर सेवा नेपालको आरएसएससँगको सम्बन्ध एचएसएस–नेपालको जस्तो स्पष्ट देखिँदैन, तर यसले पनि ‘स्कोर १’ प्राप्त गरेको छ । अर्थात्, क्याराभ्यानका अनुसार यसको आरएसएससँग निर्णायक सम्बन्ध छ । यो युवा परोपकारी संस्थाले सङ्घबाट आर्थिक सहयोग पाएको मात्र छैन, यसलाई आरएसएससँग ठोस सम्बन्ध भएका संस्थाहरूले साझेदार संस्थाका रूपमा सूचिबद्ध पनि गरेका छन् । यसका अतिरिक्त, सङ्घका सम्बद्ध संस्थाहरूसँग सम्बन्ध रहेको र उनीहरूसँग संयुक्त कार्यक्रमहरू सञ्चालन गरेको पाइन्छ । अन्ततः भीएचएमलाई सङ्घकै संस्था मान्ने आधारहरूमध्ये सङ्घको एउटा संस्थाद्वारा स्थापना गरिनु एक हो भने यसले सङ्घका विभिन्न अङ्गसँग पदाधिकारीको साझेदारी गर्नु अर्को हो ।
प्रतिवेदनले नेपालमा आरएसएससँग खास सम्बन्ध भएका तीन संस्थाहरू मात्र सूचिकृत गरेको छ, यद्यपि शिव सेना (नेपाल) र बजरङ्ग दल (नेपाल) सहित दर्जनौँ अन्य संस्था पनि नेपालमा सक्रिय छन् । अनुसन्धानका सीमितता वा अन्य कारणले यी सम्बद्ध संस्थाहरू सूचीमा नपरेका हुनसक्छन् । तर, यी संस्थाहरू आरएसएस र भाजपाजस्ता केन्द्रीय संस्थाहरूसँग प्रत्यक्ष जोडिएका पनि हुनसक्छन् । यी सबै संस्था मुख्य संस्थाको बाहिरी घेरामा रहेका सहायक संस्थाजस्तै भएर चलिरहेका हुन्छन् । अर्को शब्दमा, सङ्घको सङ्गठनात्मक संरचना र सञ्चालनले यसलाई नेपाली समाजमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।
सङ्घीय सम्बन्धहरूको प्रभाव
नेपालमा सक्रिय सङ्घ सम्बद्ध संस्थाहरूका वैचारिक र राजनीतिक प्रतिबद्धता भारतका आरएसएस र भाजपाकै जस्ता हुन्छन्, जसमा हिन्दू उग्रवाद र हिन्दूत्व सबैभन्दा चिन्ताजनक पक्ष हुन् । भारतमा देखिएको जत्तिकै तीव्रता नेपालमा नदेखिए पनि सीमापार उग्रताको फैलावट पछिल्ला वर्षहरूमा छर्लङ्गै छ । विशेषगरी हिन्दू पर्वहरूको समयमा, पहिले कम घर्षण हुने विषयहरूलाई लिएर स्थानीय युवाबिच झडप हुने क्रम बढेको छ, जसका कारण मधेस क्षेत्रमा धर्मको नाममा हुने साम्प्रदायिक टकरावमा वृद्धि भएको छ । परिणाम– नेपालमा सामाजिक सद्भाव क्रमशः क्षय हुँदै गएको छ, जुन न स्वाभाविक हो न त संयोगले मात्र भएको हो । आप्रवासन, जनसाङ्ख्यिक संरचनामा परिवर्तन र डिजिटल मिडियाका विविध भूमिका पनि कारण हुन् भने आरएसएस सम्बद्ध संस्थाहरूको भूमिका निर्णायक छ र तिनका गतिविधिमाथि गहिरो निगरानी आवश्यक छ । उदाहरणका लागि, एचएसएस–नेपाल देशभर सञ्चालन हुने आफ्ना तालिम शिविर र शाखाहरूमार्फत प्रचार–प्रसार गरेर युवालाई उग्र बनाउने कार्यका लागि बदनाम छ ।
सङ्घको घोषित लक्ष्य ‘सङ्घ समाज बनेगा’ – अर्थात् सङ्घ नै समाज बन्ने हो । यही लक्ष्यका साथ नेपालमा सङ्घको विस्तार गर्नुले नेपाली समाजमा मात्र होइन, दीर्घकालमा नेपाली राज्यको सार्वभौमिकतामै पनि प्रभाव पार्न सक्छ । यसलाई पूर्ण रूपमा बुझ्न नेपाल र अन्य देशमा रहेका आरएसएसका विदेशी सम्बद्ध संस्थाहरूबिचको भिन्नता बुझ्न आवश्यक छ । अन्य देशमा ती संस्था प्रायः (भारतीय) हिन्दू प्रवासी समुदायका सङ्गठनहरू हुन्छन्, जसले भारतभित्र आरएसएस÷भाजपालाई विभिन्न प्रकारका सहयोग जुटाउँछन् । तरङ्ग नेपालका सम्बद्ध संस्थाहरूको उद्देश्य छ : आरएसएसका सिद्धान्त र राजनीतिक लक्ष्यअनुसार समाजलाई सङ्गठित गर्नु । भारतसँग खुला सिमाना र घनिष्ठ सामाजिक–सांस्कृतिक तथा भाषिक सम्बन्ध भएको नेपालका लागि, यो सीमापार प्रभाव सामाजिक सद्भाव विघटनमै सीमित नरही दीर्घकालमा नेपाली समाजका केही क्षेत्रको राष्ट्रिय कल्पनालाई नै रूपान्तरण गर्न सक्ने क्षमता राख्छ । ग्रामीण मधेशमा केसरिया वस्त्रधारी हिन्दू पुजारी र गुरुहरू परिवार–परिवारमा पुग्छन् र राष्ट्रियता वा नागरिकताभन्दा पर साझा भाषा र कहिलेकाहीं पारिवारिक–सामाजिक सम्बन्धका कारण उनीहरूको प्रभाव रहने गर्छ । यस पृष्ठभूमिमा आरएसएसका सम्बद्ध संस्थाहरूको संस्थागत पहुँच र नेपाली समाजसँगको सम्पर्कले आफ्नो राजनीतिक लक्ष्य अनुसार समाजलाई प्रभाव पार्न वा आकार दिनसक्ने सम्भावना प्रबल हुन्छ ।
अगाडिको बाटो
धार्मिक सङ्घ–संस्थाहरू वा तिनका राजनीतिक अभिव्यक्तिहरू नेपाली संविधानले निषेध गरेको छैन† तर तिनका सम्बन्ध, उद्देश्य र गतिविधिहरू पारदर्शी हुनुपर्छ र राष्ट्रिय हितलाई सेवा गर्नुपर्छ । ‘द क्याराभ्यान’ को नयाँ प्रतिवेदनले सङ्घका केही पक्षको सन्दर्भ बुझाउन मद्दत गर्छ तर यी संस्थाले नेपालमा पार्ने प्रभावको विस्तृत मूल्याङ्कनका लागि अझ गहिरो अनुसन्धान आवश्यक छ । यो केवल शैक्षिक अभ्यास होइन† यो राष्ट्रिय सुरक्षाको आवश्यकता हो । नेपालको वर्तमान राजनीतिक वातावरणमा कुनै पनि किसिमको उक्साहट कमै वाञ्छनीय भए पनि औपचारिक र संरचनात्मक अन्तर्राष्ट्रिय सम्बन्धका संयन्त्रहरूलाई छल्दै निगरानीबाट बच्ने कुनै पनि विदेशी पात्रको दुर्भावनापूर्ण उद्देश्य र भूमिकाको परीक्षण प्राथमिकतामा पर्नै पर्छ ।
(कुशवाहा आयरल्याण्ड गणराज्यस्थित डब्लिन सिटी विश्वविद्यालयको स्कूल अफ ल एन्ड गभर्नमेन्टमा विद्यावारिधिका शोधार्थी हुन् र सेन्टर फर सोशल इनोभेसन एन्ड फरेन पलिसीका गैरआवासीय फेलो हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *