भर्खरै :

कोरिया युद्धमा सधैंको लागि विराम लगाउने सहमति

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र कोरियाली गणतन्त्र विद्यमान सैनिक सहमतिलाई स्थायी शान्ति सन्धिमा बदल्न सहमत भएका छन् । शुक्रबार दुई कोरियाको सीमावर्ती पानमुनजोम गाउँको दक्षिणी कोरियाली खण्डमा स्थापित शान्ति गृहमा दुवै कोरियाका राष्ट्रप्रमुखहरुबीच भएको शिखर बैठकमा कोरिया प्रायःद्विपलाई पूर्ण रुपमा आणविक हतियार मुक्त बनाउनेमा सहमत भएका छन् ।
प्रजग कोरियाली सर्वोच्च नेता किम जङ उन र कोरियाली गणतन्त्रका राष्ट्रपति मुन जाए–इनले संयुक्त घोषणापत्र जारी गरेका छन् । कोरियाली प्रायःद्विपमा शान्ति, समृद्धि र एकीकरणको लागि पानमुनजोम घोषणापत्र शीर्षक दिइएको सो घोषणापत्रमा कोरिया युद्धको स्थायी अन्त्य घोषणा गर्न दक्षिण कोरिया, प्रजग कोरिया, चीन र संरा अमेरिका संलग्न वार्तालाई सक्रियतापूर्वक अघि सानुपर्ने उल्लेख छ । सन् १९५०–५३ मा भएको कोरिया युद्धको अझै पनि स्थायी युद्धविराम भएको छैन । यसको अर्थ दुवै कोरिया अझै पनि युद्धकै अवस्थामा छन् ।
कोरिया युद्धको अस्थायी सैनिक युद्धविराममा सही भएको यो वर्ष ६५ औं वर्षगाँठ हो ।
‘विद्यमान असामान्य युद्धविराम अन्त्य गर्ने र कोरिया प्रायःद्विपमा दरिलो शान्ति शासन स्थापना गर्नु ऐतिहासिक लक्ष्य हो जसको लागि अब थप विलम्ब उपयुक्त होइन ।’, घोषणापत्रमा भनिएको छ ।
दुवै नेताहरुले घोषणापत्रमा हस्ताक्षर गरिसके पश्चात आपसलाई अंगालो मार्दै मन खोलेर हाँसेका थिए । कोरिया प्रायःद्विपमा नयाँ शान्तिको युगको प्रारम्भको रुपमा दुई नेताहरुको हाँसोलाई लिइएको छ ।
शान्ति शासन स्थापना गर्ने, सैनिक तनाव कम गर्ने र दुवै कोरियाको सह–समृद्धि र एकीकरणलाई पानमुनजोमका तीन महत्वपूर्ण विषय भएको विश्लेषकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *