भर्खरै :

‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ विषयक छलफल

बुटवल । नेपाल मजदुर किसान पार्टी रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ विषयक छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले कम्युनिष्ट घोषणापत्रको सान्दर्भिकता अझै बढेको चर्चा गर्दै कम्युनिष्ट विरोधी प्रतिक्रियावादीहरुको भ्रमको पर्दा च्यात्न नयाँ पुस्तामाझ घोषणापत्रबारे छलफल चलाउनुपर्ने जोड दिनुभयो ।
घोषणापत्रमा व्याख्या भएजस्तै नेपाली समाजमा पुँजीवादी व्यवस्थाले निर्दयीयतापूर्वक विभाजन ल्याइरहेको उदाहरण दिंदै अध्यक्ष वासीले नेपाली समाजमा भारतीय एकाधिकार पुँजीका दलाल शासक दल र देशभक्त कामदार जनताबीच अन्तरविरोध चर्किंदै गएको बताउनु भयो ।
भारतीय विस्तावाद र एकाधिकार पुँजीको दलाली गर्ने एमाले र माओवादी जस्तो पार्टीहरुले कहिलेकाँही भारतीय शासकहरुको विरोध गर्दा नेपाली जनता अलमलिने गरेको चर्चा गर्दै अध्यक्ष वासीले बुटवलमा भारतीय सेनाको स्थायी पेन्सन क्याम्प राख्न लगाउने जस्ता एमाले र माओवादीको देशघाती निर्णयहरु उदङ्ग्याएपछि नेपाली जनताले शत्रु र मित्र पहिचान गर्ने बताउनु भयो ।
कामदार वर्गलाई संगठित पार्नु, दलाल पुँजीवादी वर्गको प्रभुत्व अन्त्य गर्नु र कमादार वर्गलाई शासनसत्तामा पु¥याउनु कम्युनिष्टहरुको उद्देश्य भएको चर्चा गर्दै अध्यक्ष वासीले पुँजीपति वर्गको पुँजी बढाउन मात्र कामदार जनतालाई बचाइराख्ने शोषणको दयनीय व्यवस्था नस्त गर्नुपर्छ भन्नुभयो ।
मजदुरहरुलाई न्युनतम बाच्न पनि मुश्किल हुने गरी ज्याला दिने पुँजीपतिहरुले आफ्नै श्रमले कमाएको सम्पति पनि कम्युनिष्टहरुले अपहरण गर्छ भनी हल्ला गर्नु फट्याइँ भएको उल्लेख गर्दै अध्यक्ष वासीले मजदुरहरुको श्रमको मुल्य समाजवादी व्यवस्थामा मात्र पाउने स्पष्ट पार्नु भयो ।
नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य जगिलाल थापाले नेपालमा कामदार जनताको समाजवादी व्यवस्था स्थापना गर्न कम्युनिष्ट पार्टीको घोषणापत्रलाई इमानदारीपूर्वक पछ्याउनु पर्छ भन्नु भयो । कार्यक्रममा नेक्राविसंघ रुपन्देहीका सदस्यहरुले पनि कम्युनिष्ट पार्टीको घोषणापत्रबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *