शैक्षिक सुधारबारे ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा छलफल
- फाल्गुन १०, २०८२
भक्तपुर, ५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भवन राम्रो र ठुलो हुँदैमा र चर्को शुल्कले शिक्षाको गुणस्तर राम्रो नहुने बताउनुभयो ।
भक्तपुरको भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सामुदायिक विद्यालय र निजी विद्यालयलको शैक्षिक गुणस्तरमा समानता भए सार्वजनिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या उत्साहजनक रहने उदाहरण भक्तपुरका विद्यालयहरूले प्रस्तुत गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरूको तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले गणेश माविको सफलतामा योग्य शिक्षक, अनुशासित विद्यार्थी र सहयोगी अभिभावकहरूको संयुक्त पहल र हातेमालो रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई सानै उमेरदेखि परिश्रम गर्न सिकाउनुपर्छ भन्दै विद्यालय तह राम्रो भयो भने भविष्यको जग पनि मजबुत हुने बताउनुभयो ।
विद्यार्थीहरूमा ढाट्ने, चोर्ने बानीहरूलाई शिक्षकहरूले समयमै सम्झाईबुझाई गरी सही दिशातर्फ लैजानु शिक्षकहरूको दायित्व र कर्तव्य भएको बताउँदै उहाँले शिक्षकहरूको आदेश र निर्देशन पालनामा विद्यार्थीहरूले जोड दिनुपर्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले विद्यालय नागरिकलाई शिक्षित बनाउने थलो मात्र नभई सभ्य, सुसंस्कृत र अनुशासित बनाउने थलो पनि हो भन्दै उहाँले विद्यालय शिक्षा सबल, सफल र प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयको स्थापनाकालदेखि स्थानीय जनताबाट आर्थिक, भौतिक सहयोग प्राप्त भएको इतिहासको स्मरण गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई अझ प्रगतिउन्मुख बाटोतिर लैजान प्रयासरत रहेको बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे प्रस्ट पार्दै हाल उक्त विद्यालयमा ७०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब व्यवस्थित रूपमा सञ्चालन भइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य कृष्णबहादुर दुगुजु, नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुँयाल, विद्यालयका सहायक प्रअ लक्ष्मीसुन्दर सुवाल र विद्यार्थी प्रतिनिधिले पनि बोल्नुभयो ।
वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि प्रजापतिले विद्यार्थीहरूलाई पुरस्कार विरतण गर्नुभयो भने औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
Leave a Reply