भर्खरै :

नेमकिपा सभ्य, सुसंस्कृत र आदर्श समाज स्थापना गर्न सङ्घर्षरत

नेमकिपा सभ्य, सुसंस्कृत र आदर्श समाज स्थापना गर्न सङ्घर्षरत

भक्तपुर, ५ फागुन । नेपाल मजदुर किसान पार्टी नगर निर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार टेखाचोमा जनसभा भयो ।
उक्त जनसभामा नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले नेमकिपा सभ्य, सुसंस्कृत र आदर्श समाज स्थापना गर्न लागिपरेको उल्लेख गर्दै शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पटक पटक सरकारमा गएका शासकहरूले लामो समयसम्म देश र बहुमत जनताको निम्ति कुनै सेवा नगरेको उल्लेख गर्दै उहाँले निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ‘ब्यारोमिटर’ हो भन्नुभयो ।
समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू राष्ट्रियकरण हुने उल्लेख गर्दै उहाँले देशको स्वाधीनता र सार्वभौमसत्ताको निम्ति नेमकिपाले निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
देशको स्रोत र साधन विदेशीको हातमा दिने दल र दलका उम्मेदवारलाई मतदान गर्न नहुने उल्लेख गर्दै उहाँले देशको आयस्रोत बढाउन र किसानहरूलाई राहत पु¥याउन स्वदेशमै रासायनिक मल कारखाना खोल्न जोड दिँदै आएको बताउनुभयो ।
सीमा अतिक्रमण, विदेशी हस्तक्षेप र आक्रमणको नेमकिपाले विरोध गरिरहेको उल्लेख गर्दै उहाँले सिंहदरबार भ्रष्टाचारको अखडा बनिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बलात्कारी, चेलीबेटी बेचबिखन गर्ने र भ्रष्टाचारहरूलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा विदेशी चलखेल र घुसपैठ भएको कारण देशको सम्पत्ति जलेको तर्फ दल र जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ठुला दलहरू विदेशीहरूको पछि लागेको कारण देश झन्झन् खाडलमा परेको उल्लेख गर्दै उहाँले नेमकिपा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध सङ्र्घषरत छ भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि गंगाराम ज्याख्वले देशमा समाजवादी व्यवस्था स्थापना गर्न समाजवादी प्रचार अभियान चलाइरहेको बताउनुभयो ।
नेमकिपा निर्वाचन परिचालन समिति वडा नं. १ का अध्यक्ष कृष्णबहादुर दुगुजुको सभापतित्वमा भएको सो जनसभामा नेक्राविसङ्घका राज श्रेष्ठ र नेक्रामहिलासङ्घका कल्पना शिल्पकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *