भर्खरै :

भक्तपुर क्षेत्र नं. १ : उम्मेदवारहरू जनताको घरदैलोमा सक्रिय

भक्तपुर क्षेत्र नं. १ : उम्मेदवारहरू जनताको घरदैलोमा सक्रिय

भक्तपुर, ५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरू घरदैलो अभियान लिएर गाउँ पसेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र २ मा उम्मेदवारी दिएका दलहरूले घरदैलो अभियान सञ्चालन गरेर मतदाताका घरघरमा मत माग्न पुगेका हुन् ।
बिहान र अपराह्न गरी दुई चरणमा अभियानको तालिका नै बनाएर नेपाल मजदुर किसान पार्टी, नेकपा
(एमाले), नेपाली काङ्ग्रेस, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरूले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान तीव्र बनाएका हुन् । नेमकिपाको बलियो आधार क्षेत्र मानिँदै आएको भक्तपुर क्षेत्र नं १ मा चुनावी सरगरमी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूले चुनावी वातावरणलाई तताएका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू सैद्धान्तिक र विकासका एजेन्डा बोकेर जनतामाझ पुगिरहेका छन् ।
भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चौथोेपटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिइरहँदा अन्य विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जना प्रतिस्पर्धामा उभिएका छन् । भक्तपुर क्षेत्र नं १ मा २०४८ साल, २०५१ साल, २०५६ साल, २०६४ साल र २०७० सालमा अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै निरन्तर प्रतिनिधिसभा सांसदमा अत्यधिक मतले निर्वाचित हुँदै आउनुभएको थियो ।
विसं २०७४ मा भने बिजुक्छेँले पार्टीमा पुस्तान्तरण गर्नुपर्छ भन्दै उम्मेदवारी नदिने निर्णय गरेसँगै नेमकिपाबाट सचिव प्रेम सुवाल २०७९ सालमा यही क्षेत्रबाट भारी मतान्तरणले निर्वाचित हुनुभएको थियो । २०७९ सालको प्रतिनिधिसभाका निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत ल्याएर दोस्रो हुनुभएको थियो । तीस हजार ७९३ मतको मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा निर्वाचित भएकाले यस वर्षको निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं १ मा फराकिलो मतान्तरले नेमकिपाले पहिलो पार्टी हुने दाबी गर्दै आएको छ ।
समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य एजेन्डा रहेको नेमकिपाका उम्मेदवार प्रेम सुवालले जानकारी दिनुभयो । निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता लिएर जनतामाझ गएको बताउँदै उहाँले नेमकिपाले जन्मका आधारमा नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था खारेज गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, संसद् र राज्य संयन्त्रलाई ‘सुविधा खोज्ने संस्था’ बन्न नदिन कानुनी सुधार गर्ने घोषणापत्रमा लिएर मतदातामाझ गएको बताउनुभयो ।
नेमकिपालाई यस निर्वाचनमा पछाडि पार्छौं भन्दै विशेषगरी नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नेकपा (एमाले) बाट यस वर्षको निर्वाचनमा सोमप्रसाद मिश्रले उम्मेदवारी दिनुभएको छ ।
यस क्षेत्रमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार एवं नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष अधिवक्ता किरण न्यौपानेले चुनाव प्रचारलाई तीव्र पार्नुभएको छ ।
रास्वपाका उम्मेदवार रुकेश रञ्जित नेमकिपाको किल्ला भत्काउने दाबी गर्नुहुन्छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार हरिराम लवजुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रोपटक उम्मेदवार भएका भरतबहादुर खड्काको आरोप पनि एउटै छ ।
भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आमजनता पार्टीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (संयुक्त) बाट दामोदर पाण्डे, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पार्टी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पार्टीबाट दीपक पोखरेल, श्रम संस्कृति पार्टीबाट विष्णुहरि न्हिसुतु र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाइजु पनि चुनावी मैदानमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *