भर्खरै :

कपर्निकस : सूर्यलाई धर्मग्रन्थको अँध्यारोबाट निकाल्ने खगोलशास्त्री

  • फाल्गुन ५, २०८२
  • अशोक पाण्डे
  • विचार
कपर्निकस : सूर्यलाई धर्मग्रन्थको अँध्यारोबाट निकाल्ने खगोलशास्त्री

निकोलस कपर्निकस

प्लेग महामारी (ब्ल्याक डेथ) ले युरोपको आधा जनसङ्ख्या नष्ट भयो । १४ औँ शताब्दीको यो दुखद अवधिपछि युरोपले अर्को तीन सय वर्ष आफ्नो पुनःनिर्माण गर्यो । ग्रीक र रोमन सभ्यताको ज्ञान पुनः पत्ता लगाइयो । कला र विज्ञानप्रति त्यहाँका जनतामा चासो बढ्यो । शिक्षित मानिसहरूले ‘मानिसको विचारको क्षमता असीमित छ र एउटै जीवनमा चाहेजति ज्ञान सङ्कलन गरेर सभ्यताको विकासमा ठुलो योगदान गर्न सकिन्छ’ भन्ने सिद्धान्तको प्रचारप्रसार गरे । तीन सय वर्षको यो सुनौलो अन्तराललाई पुनर्जागरण भनियो ।
पोल्याण्डका निकोलस कपर्निकसलाई प्रायः पुनर्जागरणको अगुवा विद्वान/वैज्ञानिकका रूपमा चिनिन्छ । गणितज्ञ र खगोलशास्त्री कपर्निकस चर्च कानुनका विद्वानसमेत थिए । उनी चिकित्सक, अनुवादक, चित्रकार, गभर्नर, कूटनीतिज्ञ र अर्थशास्त्री पनि थिए । उनीसँग कानुनमा डक्टरेट डिग्री थियो । उनी पोलिस, जर्मन, ल्याटिन, ग्रीक र इटालियन भाषाका विद्वान थिए । कपर्निकस परिवारका चार दाजुभाइमध्ये कान्छो थिए । उनको जन्म सन् १४७३ फेब्रुअरी १९ मा तामा व्यापारीको परिवारमा भएको थियो । उनका आमाबुबा दुवैको मृत्यु हुँदा उनी दश वर्षका मात्र थिए । त्यसपछि उनको थप पालनपोषण मावलीले गरेका थिए ।
निकोलस कपर्निकस
उनका मामा–माइजूले उनलाई क्राकाव विश्वविद्यालयमा अध्ययन गर्न पठाए । त्यहाँ उनले गणित, ग्रीक र इस्लामिक खगोलशास्त्रको अध्ययन गरे । त्यहाँबाट फर्किएपछि मामाले आफ्नो योग्य भान्जालाई थप अध्ययनका लागि इटाली पठाउने मन बनाए । त्यस समय यातायातका साधनहरू दुर्लभ थिए र दुई महिनाको पैदल यात्रापछि कपर्निकस इटाली पुगे । इटलीमा उनले ६ वर्षसम्म युरोपका दुईवटा सबैभन्दा पुराना र उत्कृष्ट विश्वविद्यालय – बोलोना र पाडुआमा अध्ययन गरे । त्यहाँ उनले आफ्ना शिक्षकहरूले कक्षामा सिकाउने सबै कुरामा निरन्तर प्रश्न सोध्न थाले । उनले ब्रह्माण्डको संरचनाको बारेमा एरिस्टोटल र टोलेमीका सिद्धान्तहरू गलत रहेको फेला पारे ।
जब उनी सन् १५०३ मा आफ्नो घर फर्किए । उनी जम्मा तीस वर्षका थिए । कपर्निकसका काका पनि समाजमा राम्रो प्रभाव भएका व्यक्ति थिए । काकाको सिफारिसमा कपर्निकसले स्थानीय चर्चमा ‘क्यानन’ को रूपमा जागिर पाए । उक्त पेशामा नक्सा बनाउनुका साथै कर उठाउने र चर्चका किताबहरू समेत हेर्नुपथ्र्यो । यो एक आरामदायी काम थियो ।
सन् १५१० मा उनका मामाको मृत्यु भयो । कपर्निकसले अब आफ्नो छुट्टै घर बनाए र आफ्नो खगोलीय अध्ययनको लागि टावरसमेत बनाए । त्यतिबेलासम्म टेलिस्कोपको आविष्कार भएको थिएन । काठ र धातुको पाइपको सहायताले उनी नक्षत्रहरूको गतिको अध्ययन गर्थे । यसैक्रममा सन् १५१४ मा उनले एक वैज्ञानिक रिपोर्ट लेखे र आफ्ना साथीहरूलाई बाँडे । भौतिकशास्त्रको इतिहासमा उक्त प्रतिवेदनलाई अचेल ‘द लिटिल कमेन्ट्री’ भनेर चिनिन्छ । सो प्रतिवेदनमा कपर्निकसले पहिलोपटक ‘धर्मशास्त्रमा लेखिएजस्तो पृथ्वीको वरिपरि सूर्य घुम्ने होइन, पृथ्वी सूर्यको वरिपरि घुम्छ’ भनी दाबी गरे । यो सिद्धान्तले एरिस्टोटल र टोलेमीका सिद्धान्तहरूको कमीममजोरी हट्थ्यो । यो प्रारम्भिक काम थियो । यस क्षेत्रमा अर्को दुई दशक गहन अध्ययन भयो ।
सन् १५३२ सम्म कपर्निकसले आफ्नो सिद्धान्तलाई पाण्डुलिपिको रूप दिए । उनले जानाजानी यसको प्रकाशनमा ढिलाइ गरे किनभने उनले आशा गरेका थिए कि समय लम्बिदै जाँदा उनी केही थप सामग्रीहरू जम्मा गर्न सक्षम हुनेछन् । यसबाहेक आफूले नयाँ वैज्ञानिक तथ्य बाहिर ल्याउँदा धर्मगुरुहरूले भगवानको नाममा ठुलो बबण्डर मच्चाउलान् भन्ने डर पनि थियो । केही वर्षपछि जर्मनीका एक प्रसिद्ध गणितज्ञ जर्ज रेटिकस उनीसँग काम गर्न पोल्याण्ड आए । जर्ज रेटिकसले उनको सहमतिमा परिमार्जित पाण्डुलिपिलाई न्युरेम्बर्ग सहर लगे । त्यहाँ योहान पेट्रियस नामक मुद्रकले यस पाण्डुलिपीलाई ‘अन द रेभोलुसन अफ हेभन्ली स्फियर्स’ नामक क्रान्तिकारी पुस्तकको आकार दिँदा कपर्निकस अठ्सठ्ठी वर्षका थिए ।
पुस्तकको सुरुमा कपर्निकसले ब्रह्माण्डको आकारबारे एउटा रेखाचित्रमार्फत बताए । यसमा सूर्यलाई केन्द्रमा राखेर परिक्रमा गर्ने सबै ग्रहलाई यसको वरिपरि देखाइएको थियो । जटिल गणनापछि उनले ती प्रत्येक ग्रहले सूर्यको एक पटक परिक्रमा गर्न कति समय लगाउँछन् भनेर समेत पत्ता लगाए । आजको उन्नत खगोल विज्ञान र प्रविधिको सहायताले ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने समय जति निक्लिएको छ, कपर्निकसको गणना पनि आश्चर्यजनक रूपमा यिनै गणनाको धेरै नजिक छ ।
पुस्तक प्रकाशित भएर आइसकेको थिएन । उतिखेर लामो समयदेखि बिरामी परेका कपर्निकस बेहोस अवस्थामा थिए । भनिन्छ, जब किताबको पहिलो प्रतिलिपि उनलाई दिइयो, बेहोसजस्तै अवस्थामा रहेका उनी उठेर बसेका थिए र लामो समयसम्म किताबलाई आँखा चिम्लिएर समातेका थिए । त्यसको केही दिनपछि उनको मृत्यु भयो । दुःखको कुरा, कपर्निकसले आफ्नो महान् क्रान्तिकारी सिर्जनाले ‘पुजारी र धर्मगुरुहरूले बनाएको संसार’ लाई कसरी धक्का दियो भनेर हेर्न पाएनन् ।
कपर्निकसको पुस्तक छापिएर बजारमा आएपछि धर्मका व्यापारीहरूलाई हावाकावा खेलाएको थियो । त्यसपछि चर्चको आधिकारिक बयान आयो । त्यसमा कपर्निकसको पुस्तकलाई ‘झूटो र पवित्र धर्मशास्त्रको विरोधी’ भनेर वर्णन गरियो । त्यसको करिब ६० वर्षपछि इटालीका विज्ञान प्रचारक ब्रुनोलाई ‘कपर्निकसको सिद्धान्त’ प्रचारप्रसार गरेको कारण देखाउँदै जिउँदै जलाउने सजाय सुनाइयो । सोही ‘अपराध’ का लागि ग्यालिलियोलाई जिउँदै जलाइएको त थिएन, तर ग्यालिलियोको सम्पूर्ण जीवन अपमानै अपमानले भरिएको थियो ।
आज मानिसले मङ्गल ग्रहमा घर बनाउने कल्पना गर्दैगर्दा हामीले कपर्निकसलाई सम्झनुपर्छ । पूरै खगोल विज्ञानको अध्ययनमा ती सन्तले ४०–५० वर्षको साधना गरेका थिए । कपर्निकसको जीवनले देखाउँछ, सोध र सत्यको खोजी कहिल्यै असफल हुँदैन र सत्यको ज्योतिले शताब्दीयौंसम्म मानिसको बाटोमा ज्ञानको प्रकाश दिइरहन्छ । २४ मे १५४३ मा कपर्निकस बिते तर चर्चकै जागिर खाएर ‘धर्मशास्त्र’ को खण्डन गरेका ती सन्तको सिद्धान्त, बुझाइ तथा निचोड विश्वभरका प्रयोगशालाहरूमा बाँचिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *