भर्खरै :

सचेत र सङ्गठित जनशक्तिबिना परिवर्तन असम्भव

सचेत र सङ्गठित जनशक्तिबिना परिवर्तन असम्भव

वर्गीय समाजमा राजनीतिक दलहरूको विचार भिन्नभिन्न हुनु स्वाभाविक हो । दलले कुनै न कुनै सिद्धान्त र विचार बोकेको हुँदा कुनै न कुनै वर्गका जनताको प्रतिनिधित्व गरेको हुन्छ । यही भएर देशमा बहुमत जनता श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलदेखि सामन्त, पुँजीपति, जालीफटाहा, शोषकहरूको प्रतिनिधित्व गर्ने दलहरू पनि छन् । दलले आ–आफ्नो वर्गीय चरित्रअनुसार राजनीति गर्छ । तर, देशका कति जनता अझै राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपले सुसूचित नभएको हुँदा, अपठित, अशिक्षित भएको हुँदा, जाति, भाषा र क्षेत्र हेरेर मतदान गर्ने भएको हुँदा देश र जनताको लागि चाहिने व्यक्ति जति जिताउनुपर्ने हो, त्यति जिताउन सकेको देखिँदैन । कुन दलले कुन वर्गका जनताको प्रतिनिधि गर्छ भन्ने थाहा नहुँदा, जनता हल्लाको राजनीतिमा लागेको हुँदा देशमा भ्रष्टाचारी, अत्याचारी, कलुषित, अपराधी जनप्रतिनिधिहरू निर्वाचित भएको कुरा गलत होइन । नयाँ पुस्ताका युवा – विद्यार्थी नयाँ दलको नाउँमा लहैलहैमा गएको घटना पनि गलत होइन । देशको राजनीतिबारे सही विश्लेषण गर्न नसकेका, गहिरो अध्ययन नगरेका या वर्ग विश्लेषण सही नभएरै कति युवा– विद्यार्थीहरू लहैलहैमा लागेको पनि यथार्थ हो ।
सतही राजनीति गर्नेहरूको विश्लेषण सही हुँदैन । उनीहरू अवसरवादी हुन्छन्; स–साना लोभलालचमा फस्छन् । कुनै पुरानो दलले गरेका गलत या कमी कमजोरीलाई हेरेर सबै दल उस्तै हुन् भनी उनीहरू झूट कुरा फलाक्छन् । देशका सबै दलले निर्वाचनलाई सिद्धान्त र विचार जनतामाझ पु¥याएका भए जनता सचेत हुन्थे; सङ्गठित हुन्थे र सही दलका सही उम्मेदवार छान्न अघि सर्थे । मतदाताले जाति, भाषा, लिङ्ग र क्षेत्रको आधारमा मतदान गरेको कारण देशले सही जनप्रतिनिधि निर्वाचन गर्न नसकेको हो । कति दलका नेताहरू पनि सिद्धान्त, विचार र कार्यदिशा छोडेर नितान्त व्यक्तिगत र दलगत स्वार्थमा लागेको कारण राजनीतिक संस्कार विकास नभएको हो । नेमकिपाले निर्वाचनलाई राजनीतिक कक्षा सञ्चालनको रूपमा लिनुको कारण जनतालाई सचेत र सङ्गठित गर्न नै हो । सचेत र सङ्गठित जनशक्तिबिना समाज परिवर्तन सम्भव छैन । आमूल परिवर्तनको निम्ति देशका जनता सचेत र सङ्गठित हुनुपर्छ ।
कति सर्वसाधारण जनता र नयाँ पुस्ताका युवा विद्यार्थीहरू पुरानालाई धेरै हेरिसकेँ, अब नयाँ दल रोज्नुपर्छ भन्छन् । कोही भन्छन्, नयाँ दलले के गरेको छ र नयाँ दललाई मतदान गर्न । नयाँ दल हुँदैमा सही हुने र पुरानो दल हुँदैमा गलत हुने मानसिकता राजनीतिक निकास होइन । ठीक र बेठीकको मापदण्ड नयाँ दल र पुरानो दल होइन । गलत काम गर्ने दल नयाँ या पुरानो जे भए पनि जनताले समर्थन गर्नु हुँदैन । आजको नयाँ दल भोलि पुरानो हुन्छ । आजको नयाँ दल अर्को निर्वाचनमा पुरानो भयो भनेर काम नलाग्ने होइन । यसकारण, नेपाली जनताको वैचारिक र सैद्धान्तिक द्वन्द्व नयाँ र पुरानोबिचको होइन । निर्वाचन विचारको लडाइँ भएको हुँदा मूल कुरा दलको उद्देश्य र विचार हो । विचार नै खोटपूर्ण छ भने त्यो दलले नयाँ या पुरानो जे भए पनि काम लाग्दैन । अतः दलको सही मापदण्ड पुरानो र नयाँ दल होइन । पुरानो कामै नलाग्ने र नयाँ भन्नेबित्तिकै सबै सही हुने बुझाइ गलत हो । गलत विचारको जहिले पनि विरोध गर्नुपर्छ – दल पुरानो होस् या नयाँ !
हाम्रो अमूल्य भोट दबाब, धाकधम्की, लोभलालच या प्रलोभनमा बिकाउनु हुँदैन । आफ्नो मत सिद्धान्त र विचारको निम्ति राख्ने हो । आफ्नो मत व्यक्त गर्नु नै विचार व्यक्त गर्नु हो, आफ्नो मत राख्नु नै विचार राख्नु हो । यसकारण, आफ्नो मत बुझेर राख्ने हो । जनताले देशलाई ऋणमा डुबाउने, भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने दल र दलका उम्मेदवारहरूलाई कसरी मतदान गर्ने ? निर्वाचन नयाँ र पुरानो दलको द्वन्द्व होइन विचारको द्वन्द्व हो ।
आज हचुवाको भरमा या कसैको लहैहलैमा मतदान गरेर पछि पछुताउने होइन । कसको कारण देश ऋणमा डुब्यो ? कसको कारण देश भ्रष्टाचार बढी हुने देशको सूचीमा प¥यो ? बेथितिको देश कसरी बन्यो ? देशको सन्तुलित विकासमा सरकारको ध्यान किन गएन ? देशमा कसरी विदेशी चलखेल बढ्यो ? ठुला दल या सत्तासीन दलका नेताहरू किन अवसरवादी बने ? उनीहरू आ–आफ्नो दलको सिद्धान्त र विचार बन्धक राखेर किन भागबन्डामा अघि सरे या गठबन्धनमा लागे ? जनताको शान्ति सुरक्षा र आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ शासकहरू किन अघि सरेनन् ? देश र जनता दलभन्दा माथि छ भन्ने कुरा किन बुझ पचाइयो ? यसकारण, प्रत्येक मतदाताले आ–आफ्नो अमूल्य भोट सही ठाउँमा उपयोग गर्नुपर्छ† सही उम्मेदवार निर्वाचित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *