निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ६ फागुन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार वडा नं. ७ गोल्मढीमा चुनावी जनसभा भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उम्मेदवार प्रेम सुवालले नेमकिपाका अग्रजहरूले २०१९ सालदेखि प्रतिक्रियावादी सङ्घ संस्थामा गएर देश र जनताको हितमा निःस्वार्थरूपमा सेवा गर्ने उद्देश्य लिई निर्वाचनलाई उपयोग गर्दै आइरहेका हुन् भन्नुभयो ।
विकास निर्माणमा श्रमदान गर्ने भावना जगाई पार्टीले जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै आएको छ । देश र जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्य लिई देश र जनताको पक्षमा ऐन कानुन बनाउन, भ्रष्टाचारी, कमिसनखोर, बलात्कारी र जघन्य अपराधीलाई मृत्युदण्ड दिने ऐन कानुन बनाउन सङ्घर्ष गर्ने ठाउँको रूपमा निर्वाचनलाई उपयोग गर्दै आइरहेको छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासकहरूको अकर्मण्यता, राष्ट्रघाती सन्धि सम्झौता, देशको प्राकृतिक स्रोतसाधन विदेशीलाई सुम्पेको विरूद्ध देशघाती नागरिकता ऐन र एमसीसी सम्झौताविरूद्ध नेमकिपाले सडकदेखि सदनसम्म सङ्घर्ष गर्नेछ । देशमा भइरहेको भारतीय विस्तारवादविरुद्ध आवाज उठाउँदै सार्वभौमिकताको रक्षार्थ सङ्घर्ष गर्नेछ ।”
सचिव सुवालले भन्नुभयो, “देशका छोराछोरी विदेशमा पठाई बेचबिखन गराउने शासकहरू कहिल्यै जनताको शासक हुनेछैनन् । अमेरिकी साम्राज्यवादले संसारका विभिन्न देशमा उपद्रव मच्चाई आफ्नो अनुकूल कठपुतली सरकार गठन गराई त्यस देशको प्राकृतिक स्रोत र साधन कब्जा गर्ने काम निन्दनीय छ । साम्राज्यवादी देश अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र अपहरण राष्ट्रसङ्घको बडापत्रविपरीत छ । केही दिनअघि टुँडिखेलमा भएको अमेरिकी सेनाको परेड देशघाती कार्य हो । यसको विरूद्ध नेपाली जनता सचेत हुनुपर्छ । अमेरिकी साम्राज्यवादले क्युवामाथि नाकाबन्दी लगाउँदै छ । यो विश्वका न्यायप्रेमी जनताको पक्षमा थिएन । यसकारण, नेमकिपा संसद्मा उपस्थिति जरूरी छ ।”
पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगतको किसान सङ्घर्षलाई आधार मानी स्थापना भएको नेमकिपाले बहुसङ्ख्यक कामदारवर्गलाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै आइरहेको छ भन्नुभयो ।
नेमकिपाका अग्रजहरूले देश र जनताको निःस्वार्थरूपले सेवा गरिरहेको विगतको इतिहासबाट सिकेर नयाँ पुस्ता पनि देश र जनताको हितमा लाग्नु आजको आवश्यकता हो, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “जनताको एकताको शक्तिले मात्र देश विकास गर्न सकिन्छ । विगतको इतिहासलाई पुरानो भयो भनेर कोही हचुवाको भरमा लाग्छ भने तिनीहरूले पछि पछुताउनु पर्ने हुन्छ ।”
उहाँले भन्नुभयो, “शासक पार्टीहरू देश र जनताको हितभन्दा दलगत र व्यक्तिगत स्वार्थमा लागे । त्यही कारण भदौ २३–२४ को घटना भएको हो । त्यो घटनामा विदेशी घुसपैठ हुनुमा सरकारको अज्ञानता थियो ।”
नेमकिपा भक्तपुर नगरपालिका वडा नं. ७ निर्वाचन परिचालन समितिका संयोजक कृष्णगोविन्द खाइजुको सभापतित्वमा भएको उक्त सभामा नेमकिपा भक्तपुर नगर निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मीभक्त लासिवा, नेक्राविसङ्घका सुजल दुवाल, आयोजक समितिका लक्ष्मीकेशरी तुइतुई र दीपक खिचाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply