भर्खरै :

झापामा नेमकिपाका उम्मेदवारहरू जनतासँग भेटघाटमा

झापामा नेमकिपाका उम्मेदवारहरू जनतासँग भेटघाटमा

झापा, ६ फागुन । नेपाल मजदुर किसान पार्टीले बुधबार झापा क्षेत्र नं १, २, ३ र ४ का विभिन्न स्थानहरूमा चुनाव प्रचारप्रसार कार्यक्रमहरू गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले त्यहाँका स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरी निर्वाचनमा कसैको दबाब र लहैलहैमा मत नराख्न, देश र जनताको निःस्वार्थ सेवा गर्ने पार्टी र इमानदारीपूर्वक काम गर्ने उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
नेमकिपाले देश र जनताको हितमा गरिरहेको काम र सङ्घर्षबारे बताउँदै उहाँले नेमकिपा कहिल्यै पद र पैसाको पछाडि नलागेको यो स्वच्छ र सफा पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा झापा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार हिरण्यप्रसाद भट्टराईले मजदुर किसानको शासन व्यवस्था नआएसम्म किसान मजदुरले दुःख पाइरहने उल्लेख गर्दै मजदुर किसानकै उम्मेदवार र हितमा काम गर्ने उम्मेदवारलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभयो ।
उहाँले किसानको भावना नबुझ्ने पुँजीवादी पार्टीका नेताहरूलाई समयमै चिन्नुपर्ने र किसानको हितमा काम गर्ने नेमकिपालाई मत दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका समानुपातिक उम्मेदवार भवानी महतले देशमा निःशुल्क शिक्षा र स्वास्थ्य, स्वदेशमै रोजगारीको व्यवस्था, शैक्षिक योग्यता, सीप र क्षमताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त बनाउनुपर्ने उल्लेख गर्दै समाजवादी व्यवस्थामा मात्र कामगरी खाने वर्गको हित हुने स्पष्ट पार्नुभयो ।
नेमकिपाका समानुपातिक उम्मेदवार मीनाकुमारी प्रधानले देशको स्वतन्त्रता, भूअखण्डता, सार्वभौमसत्ताको रक्षा गर्न सदा तत्पर रहेको पार्टी नेमकिपा भएको उल्लेख गर्दै उहाँले देश र जनताको हितमा निःस्वार्थ भावनाले काम गर्ने नेमकिपालाई मत दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *