भर्खरै :

अकर्मण्यता र अवसरवादको कारण देश सङ्कटमा

अकर्मण्यता र अवसरवादको कारण देश सङ्कटमा

भक्तपुर, १४ फागुन । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं. १ अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. ७ झौखेलमा चुनावी सभाको आयोजना ग¥यो ।
सभामा पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. का उम्मेदवार प्रेम सुवालले आदर्श समाज निर्माणको लागि वैचारिक स्पष्टता, जनउत्तरदायित्व र नीतिगत प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
उम्मेदवार सुवालले नेमकिपा समाजवादी विचारधारामा आधारित आदर्श समाज निर्माणको लक्ष्यसहित सङ्घर्षरत रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै शासक दलहरूको स्वार्थकेन्द्रित राजनीति, अकर्मण्यता र अवसरवादका कारण देश आर्थिक, राजनीतिक र नीतिगत रूपमा कमजोर बन्दै गएको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार निर्वाचन प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई राजनीतिक रूपमा सचेत बनाउने, सही विचार र नीति रोज्ने अवसर पनि हो ।
उहाँले देशको प्राकृतिक स्रोतसाधनमाथि बढ्दो निजीकरणको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै जल, जमिन र जङ्गलजस्ता राष्ट्रिय सम्पत्तिको संरक्षण राज्यको प्राथमिक दायित्व भएको बताउनुभयो । “देशको सम्पत्ति र स्रोतसाधन जनताको साझा सम्पत्ति हो, त्यसलाई सीमित समूहको स्वार्थमा प्रयोग गर्नु राष्ट्रको दीर्घकालीन हितविपरीत हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले निर्वाचनमा उम्मेदवारहरूले नीति र सिद्धान्तभन्दा विकासका आकर्षक आश्वासनमार्फत मत माग्ने प्रवृत्तिप्रति आलोचना गर्नुभयो । उहाँले नीति निर्माण गर्ने जिम्मेवारीमा पुग्ने प्रतिनिधिहरूले दीर्घकालीन दृष्टिकोण, वैचारिक प्रतिबद्धता र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताउँदै विकासको आश्वासन र व्यक्तिगत सम्बन्धका आधारमा मत माग्ने प्रवृत्ति गलत भएको धारणा राख्नुभयो ।
उहाँले देशलाई आर्थिक रूपमा परनिर्भर बनाउने नीति, विदेशी ऋणमा आधारित विकास मोडेल र असन्तुलित आर्थिक सम्झौताहरूले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने खतरा रहेको उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधिहरूले राष्ट्रिय हित, आत्मनिर्भरता र जनकल्याणलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुच्छेभक्त फोँजुले स्थानीय तहमा जनतामुखी कार्यक्रमहरू सञ्चालन गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र सुरक्षाका लागि आदर निकेतन स्थापना, बालबालिकाका लागि शिशुशाला सञ्चालन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार तथा सार्वजनिक सेवामा पारदर्शिता कायम गर्ने विषयमा पार्टीले प्राथमिकता दिएको जानकारी दिनुभयो ।
उहाँले विकासमा हुने पक्षपात, स्रोतसाधनको असमान वितरण र भ्रष्टाचारजस्ता समस्याको अन्त्यका लागि वैचारिक रूपमा स्पष्ट र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
स्थानीय राजाराम दाहालले नेमकिपाको योगदानको चर्चा गर्दै स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूले जनतामुखी नभई आफ्नो व्यक्तिगत लाभमुखी काम गरिरहेको उल्लेख गर्दै झौखेलवासीले स्थानीय सरकारको अनुभूति गर्न नपाएको बताउनुभयो ।
सभामा हरिसुन्दर छुकांले नेमकिपाको चुनावी घोषणापत्रमा उल्लेख भएका विषयबारे जानकारी दिँदै देश र जनताको निः स्वार्थ सेवा गर्ने पार्टीलाई मत दिन अनुरोध गर्नुभयो ।
कष्णराम सुवालले पनि बोल्नुभएको उक्त सभामा सहभागीहरूले वर्तमान राजनीतिक अवस्थाबारे चासो व्यक्त गर्दै वैचारिक बहस, जनउत्तरदायित्व र नीतिगत स्पष्टताको आवश्यकता औंल्याएका थिए । निर्वाचन नजिकिँदै जाँदा भक्तपुर क्षेत्र नं. १ मा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलहरूले आफ्नो नीति, कार्यक्रम र दृष्टिकोण जनतामाझ प्रस्तुत गर्ने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *