भर्खरै :

विचारलाई बन्धक राखेर पैसासँग मोलतोल गर्नु गलत

विचारलाई बन्धक राखेर पैसासँग मोलतोल गर्नु गलत

निर्वाचनमा मतदान गर्नुअघि हरेक मतदाताले दिमागलाई ठण्डा पार्नुपर्छ या विचार गर्नुपर्छ । कसैको लहलहैमा, आवेश या आवेगमा विचारै नगरी मतदान गर्नुहुँदैन । मतदान गर्नुअघि कुन दलको सरकारको पालामा देशमा के कस्तो बेथिति भयो ? देश किन ऋणमा डुब्यो ? देश किन बढी भ्रष्टाचार हुने कालोसूचीमा प¥यो भन्नेबारे व्यापक जनताले बुझ्नुपर्छ । देशका नदीनाला कुन सरकारले विदेशीको अधीनमा दियो ? नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाएर नेपाली भूमिलाई डुबानमा पार्ने काम गरे पनि शासकहरू किन मौन रहे ? किसानहरूको मोहियानी हक कायम नगरिकन द्वैधस्वामित्व अन्त्य गर्ने र कमैया मुक्तको नाउँमा पुस्तौँदेखि जोत्दै गएको जग्गाबाट वञ्चित हुने काम कुन दलको सरकारले ग¥यो र त्यसमा क–कसले समर्थन गरे ? त्यसबारे एक एक हिसाब किताब गरेर नेपाली जनताले मत हाल्नुपर्छ ।
१२ कक्षासम्म निःशुल्क गर्नुपर्ने संवैधानिक व्यवस्था लागू गर्ने काम हालसम्मका कुनै पनि सरकारले गर्न सकेनन् । यसमा सरकारमा सामेल भइसकेका सबै दलहरू दोषी छन् । सरकारले ८ कक्षासम्मको अनिवार्य शिक्षा लागू गर्ने कुनै पनि अभियान सञ्चालन गरेन । घुस खाने र खुवाउने काम रोक्न सकेको छैन । आफू सरकारमा हुँदा बहुमत जनताको पक्षमा काम नगर्ने दलहरूले अबका दिनमा गर्लान् भन्ने विश्वास कसरी गर्ने ? सरकारमा गइसकेका दलहरूले संवैधानिक व्यवस्थाअनुसार काममात्र नगरेको होइन मिठा र आकर्षण आश्वासन बाँडेर जनता ढाँट्ने र छल्ने काम गरे । पानीजहाज ल्याएर सहज ढङ्गले सस्तोमा सामान ल्याउने, लाने, घर घरमा ग्यासको पाइप लाइन जोडेर जनतालाई राहत दिने, भ्रष्टाचार अन्त्य गर्ने, देशलाई समृद्ध र जनतालाई सुखी बनाउने शासकहरूको आश्वासन या प्रतिबद्धता कहाँ पुग्यो ?
निर्वाचनमा आफूलाई बहुमत पु¥याउन मतदान गर्न आग्रह गर्ने दलले मिचिएको नेपाली भूमि फर्काउन पहल गर्ला ? अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्ध भत्काएर डुबानको समस्या अन्त्य गर्ला ? नेपाली भूमि कालापानीमा रहेका भारतीय सेना फर्काउने कूटनीतिक प्रयास गर्ला ? लिपुलेक र लिम्पियाधुरामा नेपाली बसोबास गराउने, प्रशासनिक क्रियाकलाप गरेर त्यहाँ रहेका भारतीयहरूलाई फर्काउने काम गर्ला ? के ख्वप विश्वविद्यालय सञ्चालन गर्न नयाँ सरकारले स्वीकृति देला ? व्यक्तित्व विकास गर्ने समान अवसर देला ? विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्ला ? देशमै रासायनिक मल कारखाना शीघ्रातिशीघ्र खोल्ने प्रक्रियामा जाला ? देश र जनताका यी राष्ट्रिय सवालबारे ध्यान नदिने शासकहरू यो निर्वाचनमा फेरि लोलोपोतो गरेर के जनताको मत लिन छलको राजनीति गर्न आएका होइनन् ?
सोझा–सीधा जनता छल र झूटको राजनीतिमा फस्नु हुँदैन । पुराना दलहरू काम लागेनन् भनेर पुराना जतिलाई खराब दलको सूचीमा राख्नु दृष्टिदोष हो । जुन दल सरकारमा सामेल भएकै छैन, त्यस दललाई दोष दिएर नयाँ दलको नाउँमा फाइदा लिने कामबाट जनता सचेत हुनुपर्छ । हालसम्म सरकारको नेतृत्व गरेका र सरकारमा पुगेका कुनै दलले भ्रष्टाचार अन्त्य गर्न सकेनन्; ढिलासुस्ती हटाउन सकेनन् । देशको सन्तुलित विकास गर्नेतर्फ चासो नै राखेनन् । आफ्नो दलको नेतृत्वमा सरकारमा रहँदा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकासको बजेट ल्याए, खन्याए† विकास देखाएर अकुत सम्पत्ति पनि कुम्ल्याए । सरकारले त सबै ठाउँमा विकासको योजना पु¥याएर स्थानीय जनतालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यसतर्फ शासकहरूको ध्यान खोइ ?
शासन गर्नुको अर्थ सिंहासनमा बस्नुमात्र होइन† हैकम चलाउनुमात्र होइन† देश र जनताको पक्षमा काम गरेर देखाउनु हो । हालसम्मका शासकहरूप्रति युवा–विद्यार्थीको आक्रोश पोख्नुको कारण पनि उनीहरू व्यक्तिगत र दलगत स्वार्थमा लिप्त हुनु हो । शासकहरूको गलत कार्य र कमजोरीको कारण अरू दललाई दोषी देख्नु गलत हो । एउटाले गरेको गल्ती र कमजोरी अरू दलमाथि थोपर्नु दृष्टिदोष हो । देशका यस्ता यावत कुरा बुझेर, विश्लेषण गरेर जनताले सही दल र दलका उम्मेदवारलाई मतदान गर्नुपर्छ । मतदान गर्न उत्साहित गर्नुपर्छ । प्रतिनिधिसभाको यो निर्वाचन विकासको पोको बाँड्ने निर्वाचन होइन । विकासको ध्वाङ फुकेर जनतामाझ झूटको राजनीति गर्ने होइन । सार्वजनिक संस्थान डुबाएर, घाटामा पु¥याएर निजीकरण गरेर विदेशीको हातमा दिने होइन । देश र जनताका आधारभूत आवश्यकता पूर्ति गर्न आवश्यकताअनुसार यथोचित स्थानमा उद्योग तथा कलकारखाना खोलेर आत्मनिर्भर बनाउनेतर्फ सरकार लाग्नुपर्ने हो ।
यसैले अहिले एकचोटि नयाँ दल या अर्को दललाई मतदान गरौँ भनेर विचार फेर्ने होइन, विचार फेरेर विदेशीहरूको पछि लाग्ने होइन; उनीहरूको पक्षपोषण गर्ने होइन । सच्चा उम्मेदवारलाई जिताउने र खराब उम्मेदवारलाई हराउने मौका यही हो । सिद्धान्त र विचार भुलेर अहिलेलाई त्यो र यो दल रोजौँ भनेर आफ्नो विचार फेर्नु उचित हुँदैन । लोभलालचमा फसेर आफ्नो विचार बन्धक राख्नु हुँदैन† आफ्नो विचार पैसासँग मोलतोल गर्नु हुँदैन । यो बेला जनता बिउँझिनुपर्छ; जनता चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *