सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभा
- फाल्गुन १४, २०८२
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । यतिबेला राजनीतिक दलहरू मतदातासँग मत माग्न हिमाल, पहाड र तराईको गाउँ, सहर, उकाली ओराली गर्दै कुना कन्दरामा पुग्दै छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार दलहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी बैठक र सभाहरू राख्दै छन् । यसमा नयाँ–पुराना, ठुला–साना, इमानदार – बेइमान, नैतिकवान्– अनैतिक, भ्रष्टाचारी – सदाचारी, शोषक – शोषित, अपराधी–निष्कलङ्कित, विदेशी दलाल – देशभक्त आदि चरित्रका दल र दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रँदै छन् । उनीहरू भोट माग्न घरदैलो, चुनावी बैठक र भेटघाटमा आउँदै छन् । हिजो यस्तै गाउँ, सहर पसेर चुनावमा जितेका प्रधानमन्त्री, मन्त्री, सांसदहरूले देशमा रातारात समृद्धि ल्याउने, आकाशको तारा झारिदिने जस्ता चटके भाषण दिएका थिए । उनीहरू गाउँ घुमे, किसानको, गरिब, दुःखीको घरमा गोहीको आँसु बहाउन बास बसे, खाना खाए । तर, जितेपछि नाक मुख देखाउन आएनन् । उनीहरू काठमाडौँमै घरजम गरेर बसे । चुनावको बेला जसरी खटेको थियो अरु बेलामा पनि गाउँ, देश बनाउन र संविधान बनाउन खट्नुपथ्र्यो । तर, त्यसो भएन । त्यसैले गाउँ बनेन, देश बनेन, मात्र उनीहरू बने ।
प्रतिनिधिसभाको निर्वाचन पनि एक राजनीतिक विश्वविद्यालय हो । अरु विश्वविद्यालयहरूमा केही सय, हजार प्राध्यापकहरूले केही हजार विद्यार्थीहरूलाई पढाउँछन् भने यो विश्वविद्यालयमा हजारौँ, लाखौँ नेता, कार्यकर्ता, उम्मेदवारहरूले करोडौँ जनतालाई देश र विश्वका राजनीति, इतिहास, अर्थशास्त्र, विज्ञान, भूगोल, नागरिक भावना, देशभक्तिका कुराहरू सिकाउँछन्, सचेत पार्छन् । लेनिनवादी नीतिअनुसार चुनावलाई उपयोग गरेर नेपाल मजदुर किसान पार्टीले हिजोका निर्वाचनमा जनतासँग भेटघाट, कक्षा, बैठक र सभा गर्दै आयो । तर, शासकहरूले जनतालाई सजग, सचेत र सङ्गठित गर्ने, त्यसअनुसारको संविधान बनाएर शिक्षित र दीक्षित पार्ने र देश बनाउने काम गरेनन् । उनीहरूले खालि जसरी पनि जितेर, जसरी पनि प्रधानमन्त्री, मन्त्री, सांसद बन्न प्रतिस्पर्धा गरे । यसैको परिणाम भदौ २३ र २४ गते विदेशीको ग्रायन्ड डिजाइन र उक्साहतमा देशको सम्पत्ति सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन आदि ध्वस्त भयो । शासकहरू टुलुटुलु हेरेर बस्नुपर्यो । नेमकिपाले जस्तो निर्वाचनमा र अरु बेलामा राजनीतिक कक्षा चलाएको भए, युवा, विद्यार्थी, मतदाता, जनतालाई शिक्षित, दीक्षित पार्ने काम गरेको भए त्यसरी देशको सम्पत्ति जल्ने थिएन ।
शासक दलका नेता, कार्यकर्ताहरू चुनावमा जितेर ३५ वर्ष पटक – पटक प्रधानमन्त्री, मन्त्री, सांसद भए । बैठक र जनसभामा चटकेले जस्तो उनीहरूले कायापलट गर्ने झूटा आश्वासन दिएका थिए । उनीहरूले वषौँ जग्गा जोतिआएका भूमिहीन किसानलाई मोहीयानी हक कायम गरिदिने, जग्गाको मालिक बनाइदिने, सिँचाइ, मलको कारखाना खोलिदिने, पानीजहाज ल्याउने, ग्यासको पाइप घर घरमा ल्याइदिने चीनको केरुङबाट रेल रसुवा, नुवाकोट, काठमाडौँ हुँदै लुम्बिनी पु¥याउने, उद्योग, कारखाना खोल्ने, युवाहरूलाई देशमै रोजगारी दिने, कालापानी, लिम्पियाधुरा, सुस्तालगायतका मिचिएका नेपाली भूमि फिर्ता लिएरै छोड्ने, देशलाई आत्मनिर्भर बनाउने आदि झूटा आश्वासन दिँदै आए । तर, उनीहरूले काम गरेनन् ।
चुनावमा उनीहरूले घोषणापत्रमा एउटा तर काम अर्कै गरेका थिए । उनीहरूले घोषणापत्रलाई कागजको खोस्टा बनाए । उनीहरूले विदेशी धम्कीको अगाडि झुकेर देशघाती एमसीसी, महाकालीलगायतका सन्धि सभ्झौता पास गरे । उनीहरू भ्रष्टाचारको फोहर पोखरीमा पौडी खेले, त्यसैमा चुर्लुम्म डुबे । उनीहरू भुटानी शरणार्थी, गिरिबन्धुु चिया बगान, पतञ्जली जग्गा, बालुवाटार जग्गा, एनसेल, रातो पासपोर्ट, सुन, सहकारी ठगी आदि अपराधमा मुछे । उनीहरूले विदेशीसँग निर्वाचनको लागि सहयोग मागेको कुरा बाहिर आएकै हो । उनीहरू एनजीओ, आइएनजीओको नेता, कार्यकता भए । उनीहरूलाई देशको सूचना विदेशीलाई दिने आरोप पनि लागेकै हो । यसबारे मतदाताहरूले प्रश्न उठाउन आवश्यक छ ।
विगतको निर्वाचनमा काङ्ग्रेसले रुखमा होइन हँसिया, हठौडा चिह्नमा मतदान ग¥यो । माओवादीले पनि रुख चिह्नमा मतदान ग¥यो । एमालेले पनि त्यस्तै ग¥यो । चुनावमा एउटा दलसँग विचार र सिद्धान्तविपरीत सहकार्य गर्ने अनि पदको लागि अर्कै दलसँग मिलेर अनैतिक सरकार गठन गरेको घिनलाग्दो, लाजमर्दो समाचार ठुला ठुला राष्ट्रिय दैनिक पत्रिकाको मुखपृष्ठमा बाहिर आएको थियो ।
मतदाता अर्थात् राजनीतिक विश्वविद्यालयका विद्यार्थीहरू पनि लोभी पापी हुनु भएन† व्यक्तिगत स्वार्थको लागि जे पनि गर्नु भएन । बरु, सबै सचेत, सङ्गठित भएर सङ्घर्ष गर्ने हो । प्यास लाग्यो भन्दैमा विष पिउनु भएन । कसैले सिट्टैमा दियो भन्दैमा हात थप्नु हुँदैन । उम्मेदवारहरूले जाँड, रक्सी, भोज खुवाउलान्, पैसा, मासुको पोका आदि बाँड्लान् । उनीहरूको आफ्नो स्वार्थ कसैलाई बताउँदैनन् । उनीहरू भ्रष्टाचारी, डोजर मालिक, ठेकेदार, देशद्रोही, देशघाती, बलात्कारी, हत्यारा आदि हुनसक्छन् । भोलि उनीहरू लेण्डुप डोर्जे, दलाई लामा, जेलेन्सकीका विभीषण, ट्रोजन हर्स आदि हुनसक्छन् । देश सिध्याउने, विदेशीको हातमा सुम्पने देशद्रोही, भ्रष्टाचारी, अपराधीहरूले जिताउने कि देश बनाउने, जोगाउने, देशभक्त उम्मेदवारहरूलाई जिताएर स्वाभिमानपूर्वक बाँच्ने हो । त्यो हामी मतदाताहरूको हातमा छ ।
मतदाताले शासक दलका उम्मेदवारहरूलाई देशलाई आफ्नै खुट्टामा उभ्याउने, ट्रलिबस सेवा, साझा यातायात सेवा, भृकुटी कागज कारखाना, गोरखकाली टायर कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हेटौँडा कपडा कारखाना, बुटवल, धागो कारखानालगायतका कारखानाहरूको बेहाल हेर्न आउनु भन्नु आवश्यक छ । त्यस्तै उनीहरूलाई सुस्ता, कालापानीलगायत मिचिएको नेपाली भूमिमा, अन्तर्राष्ट्रिय नियमविपरीत बाँध तथा तटबन्ध बनाएको कारण बर्सेनि डुबानमा पर्ने तराईका फाँटमा गएर त्यहाँका किसानसँग, सिमानाका पीडित जनतासँग माफी मागेर त्यसलाई फिर्ता ल्याउने, प्रण भत्काउने बाचा गराउनु आवश्यक छ ।
कुनै दलका नेता, उम्मेदवारहरूले चुनावबाटै समाजवाद आउँछ भन्नु जनतालाई धोका दिनु हो । चुनावबाट समाजवाद आउँदैन । यदि चुनावबाट समाजवाद आउने भए बेलायत अमेरिकामा उहीँ बेला समाजवाद आइसकेको हुन्थ्यो । त्यस्तै नेपालमा समाजवाद आइसक्यो । अमेरिका र युरोपलगायतका देशहरूमा समाजवाद त आयो । तर, त्यो वैज्ञानिक समाजवाद नभइकन पुँजीवादी समाजवाद हो । यसले पुँजीवादी, साम्राज्यवादी, उपनिवेशवादीहरूको हित गर्छ । तर, बहुसङ्ख्यक गरिबवर्गको हित गर्दैन, सेवा गर्दैन । चुनावबाट समाजवाद आउँदैन भन्ने कुरा चिल्लीको घटनाले देखाइसकेको छ । बहुसङ्ख्यक गरिबवर्गको सेवा गर्ने, हित गर्ने वैज्ञानिक समाजवाद त्यसै आउँदैन । त्यो त सही विचार, सक्षम र देशभक्त नेताको नेतृत्वमा सचेत, सङ्गठित जनताले सशस्त्र सङ्घर्ष गरेर ल्याउने हो । चीन, उत्तर कोरिया, क्युवा, भियतनाम आदिको जनताको बलिदानीपूर्ण सङ्घर्षले देशमा समाजवाद ल्याएको इतिहासले देखाउँछ । यसरी यो निर्वाचनमा देश र विदेशको संविधान, शोषण, विदेशी हस्तक्षेप, देशको शत्रु, भ्रष्टाचार, नागरिक भावना आदिबारे जनता दीक्षित हुने अवसर पाउनेछन् । उनीहरूले यसलाई देश निर्माणको लागि नैतिकता इमानदारीता, त्यागी र देशभक्त नेता, जनता तयार गर्ने राजनीतिक विश्वविद्यालय बनाउनु आवश्यक छ । यसमा मतदाता र जनताले पनि साथ र सहयोग दिनु आवश्यक छ ।
Leave a Reply