साम्राज्यवादी नीति रहेसम्म जनताले शान्ति र सुरक्षाको अनुभूति नपाउने
- फाल्गुन १२, २०८२
भक्तपुर, ९ फागुन । सहिद राजकुमार स्मृति पुस्तकालयको ३५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सहिद स्मृति सभा, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ऐतिहासिक जनआन्दोलनको स्मरण गराउँदै निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध भएको जनआन्दोलनमा पञ्चायती शासकहरूले संसारमै प्रतिबन्धित गोली चलाएर दमन गरेको कारण पञ्चायती व्यवस्था ढलेको बताउनुभयो ।
३५ वर्षसम्म पालैपालो सरकारका गएका पार्टीहरूले सरकारी उद्योगहरू निजीकरण गरेको तथा देशलाई परनिर्भर बनाएको बताउनुभयो ।
उहाँले जनताको इमानदारीपूर्वक सेवा गरिरहेको पार्टीमाथि प्रश्न खडा गर्नु र नेमकिपामाथि लान्छना लगाउनु उनीहरूको ठुलो भूल भएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले जस्तो जनताको लागि गरेको योगदान अरु पार्टीले नगरेको जिकिर गर्दै उहाँले राजनीति पदको लागि होइन परिवर्तनको लागि हुनुपर्छ भन्नुभयो ।
जनताको भावनाबमोजिम सङ्घर्ष गरी समाजवादी व्यवस्थाको लागि पार्टी अगाडि बढेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
विचारबिनाको राजनीति नटिक्ने उल्लेख गर्दै उहाँले सहिदको बलिदान जनताको वास्तविक जीतको लागि हुनुपर्छ भन्नुभयो ।
उहाँले सहिद राजकुमार सुवाल जनताको लागि काम गर्ने जुझारु युवा भएको बताउनुभयो ।
बासु माविका संस्थापक प्राचार्य बालमुकुन्द बासुकलाले भक्तपुरको शैक्षिक रूपान्तरण गर्न कठिन परिस्थितिको यात्रा पार गर्दै जनतामा जागरण ल्याएको बताउनुभयो ।
उहाँले पुस्तकालय साँचो मानेमा विचारमा तिखारता ल्याउनको लागि हुनुपर्छ भन्नुभयो ।
आँखा लेन्स विशेषज्ञ शंखनारायण त्वायनाले राजकुमार बालककालको मिल्ने साथी भएको उल्लेख गर्दै सरल स्वभावको भएको बताउनुभयो ।
आमाले समयमै उपचार नपाएर अल्पायुमै मृत्यु भएकोले स्वास्थ्य क्षेत्रमा योगदान गर्न प्रेरणा मिलेको उहाँले बताउनुभयो ।
सहिद राजकुमार सुवालका भाइ डा. एभरेस्ट सुवालले सहिदको स्मृतिमा पुस्तकालय सञ्चालन गरेर समाजको सेवा गर्न सकेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सुजी हेङ्ग्वजूले सामाजिक परिवर्तन नै सहिदहरूको सपना हो र नयाँ पुस्तालाई पुराना पुस्ताले इतिहासको ज्ञान दिँदै जानुपर्ने औचित्यतामाथि प्रकाश पार्नुभयो ।
नेमकिपा सानो ब्यासी एकाइ समितिका सरोज दथेपुथेले पुस्तकालयलाई अध्ययन गर्ने थलोको रूपमा मात्र नभई विभिन्न विषयमा छलफल र अन्तरक्रिया गर्ने स्थानको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवालको सभापतित्वमा भएको उक्त वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईले दोसल्ला, फूलमाला, मायाको चिनो तथा सम्मानपत्रका साथ शिक्षासेवी बालमुकुन्द बासुकला र आँखा विशेषज्ञ शंखनारायण त्वायनालाई सम्मान गर्नुभएको थियो । पुस्तकालयका कार्य समिति सदस्य शिवकृष्ण कोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply