भर्खरै :

अभौतिक सांस्कृतिक सम्पदाहरूको राष्ट्रिय सूचीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

अभौतिक सांस्कृतिक सम्पदाहरूको राष्ट्रिय सूचीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, ९ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा अभौतिक सम्पदाहरूको राष्ट्रिय सूचीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर मूर्त र अमूर्त सम्पदाले भरिएको सहर भएको उल्लेख गर्दै मूर्त सम्पदाहरूको जति महत्व छ त्यतिकै अमूर्त सम्पदाको पनि महत्व भएको बताउनुभयो ।
उहाँले संरक्षणको अभावमा नेपालका मूर्त अमूर्त सम्पदा लोप हुँदै गइरहेको बताउँदै एउटा सम्पदा लोप हुनु भनेको देशको सम्पत्ति समाप्त हुनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले हरेक खालका सम्पदाहरूलाई संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको बताउँदै उहाँले टोलटोलमा विभिन्न परम्परागत बाजाहरूको प्रशिक्षण सञ्चालन गर्नु यसको ज्वलन्त उदाहरण हो भन्नुभयो ।
हाम्रा मूर्त र अमूर्त सम्पदाहरूको अभिलेखीकरण नहुँदा ती सम्पदाहरू व्यवस्थित संरक्षण हुन नसकिरहेको प्रस्ट पार्दै उहाँले सम्पदाहरू राष्ट्रिय रूपमा सूचीकरण गर्न सकिएमा त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पाउन सहज पार्ने बताउनुभयो ।
ख्वप कलेज अफ लमार्फत अभौतिक सम्पदा सूचीकरणको प्रयास थालनी गरेको बताउँदै उहाँले पहिलो चरणमा कवांचा प्याखं, पा वास, भादगाउँले टोपी, जुजु धौ, थथें जागु रस (गीत) को विस्तृत अध्ययन अभिलेखीकरण गरिने अवगत गराउनुभयो ।
कलेजले गरेको अध्ययन अनुसन्धानलाई नपाले क्रमशः कार्यान्वयन गर्दै लगिने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डाक्टर सुरेश सुरस श्रेष्ठले अभौतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्दै त्यसलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताउँदै अभौतिक सम्पदाहरूलाई समुदायले बचाइराखेको हुँदा त्यसलाई कानुन बनाई विश्वव्यापीकरण गर्दै लगिनुपर्ने बताउनुभयो ।
अभौतिक सम्पदा राष्ट्रिय सूचीमा दर्ता गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहयोग गर्न तयार रहेको सचिव श्रेष्ठले सोही अवसरमा बताउनुभयो ।
ख्वप कलेज अफ लका अनुसन्धान तथा कानुनी सीप विभागका प्रमुख आशिष पौडेलले अभौतिक सम्पदाहरूको सूचीकरणसम्बन्धी कानुनी र व्यवहारिक पक्षबारे प्रस्तुतीकरण देखाउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा अनुसन्धानमा कार्यरत विद्यार्थी र शिक्षकहरू, जुजुधौसँग सम्बन्धित सङ्घका प्रतिनिधि, भादगाउँले टोपी, स्थानीय खेल कसिमला पाँय्लगायतका विज्ञ प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अभौतिक सम्पदाहरूको सूचीकरण गर्न चाहनेहरूले चैत १५ गतेभित्र प्रक्रिया पुर्याई दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुँदा भक्तपुर नगरपालिकाले जुजु धौ, कसीमला पाँय्, मौलिक गीतसहित पाँचवटा विधामा सूचीकरणको लागि तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *