शिक्षाको गुणस्तर बढाउन योग्य शिक्षक, अनुशासित विद्यार्थी र सहयोगी अभिभावकहरू जरुरी
- फाल्गुन ५, २०८२
भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको शैक्षिक सुधार सम्बन्धमा छलफल गर्न आइतबार विद्यार्थीबिच छलफल कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विद्यार्थीमा भएको क्षमतालाई सशक्त बनाउन आवश्यक कलेजले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिस्पर्धाको बेला उत्तीर्ण मात्र भएर पुग्दैन, उत्कृष्ट हुनुपर्ने हुन्छ† उत्कृष्ट हुनको लागि थप मेहनत आवश्यक हुन्छ । गुणस्तरीय शिक्षा मेहनत र परिश्रमबाट मात्र हासिल गर्न सकिन्छ ।”
भक्तपुर नगरपालिकाले भक्तपुर नगरलाई शैक्षिक र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्य लिई कार्य गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नर्सिङ कलेज सहजरूपमा स्थापना भएको होइन । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले परिकल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ लाई साकार बनाउन भनपाले कलेजहरू सञ्चालन गरिरहेको छ ।”
“युवा भनेको भीड होइन, विचार र सिद्धान्तले निर्देशित शक्ति हुनुपर्छ† देश रक्षा गर्ने भावना युवामा हुनुपर्छ”, प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले देशको लागि आवश्यक दक्ष नर्सिङ जनशक्ति तयार गर्ने उद्देश्य ख्वप बहुप्राविधिक अध्ययन संस्थानको रहेको हुँदा कलेजका समस्याहरू निराकरणको लागि समयमै छलफल गर्नुपर्ने र भएका समस्याबारे प्रशासनलाई जानकारी दिन आग्रह गर्नुभयो ।
ख्वप नर्सिङ विभागका विभागीय प्रमुख ईश्वरी डंगोलले कलेजको गरिमा बढाउन विद्यार्थीको मेहेनत आवश्यक भएको चर्चा गर्दैै नर्सिङ सेवामूलक पेसा भएको हुँदा विद्यार्थीहरू नर्सिङ पेसाप्रति सचेत हुनु जरुरी छ भन्नुभयो ।
Leave a Reply