भर्खरै :

शिक्षकले विद्यार्थीलाई सचेत पार्नुपर्नेमा जोड

शिक्षकले विद्यार्थीलाई सचेत पार्नुपर्नेमा जोड

भक्तपुर, २६ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा बडा दसैँ, दीपावली (तिहार) र छठ पर्व २०८३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । वागीश्वरी कलेजको सभा हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शुभकामना दिँदै देशको राजनीतिक अवस्था अत्यन्त तरल अवस्थामा रहेको हुँदा बौद्धिकवर्ग शिक्षकहरूले नयाँ पुस्ताका विद्यार्थीहरूलाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
साम्राज्यवादी देश सं.रा. अमेरिकाले संसारका विभिन्न देशहरूमा जस्तै नेपालमा पनि विभिन्न आइएनजीओमार्फत समानान्तर सरकार चलाइरहेको उल्लेख गर्दै उहाँले गत वर्ष भदौ २३–२४ को आगजनीमार्फत सत्ता उलतपुलत त्यसैको परिणाम भएको प्रस्ट पार्नुभयो । त्यसबेला सत्ताको नेतृत्वमा रहेका एमाले अध्यक्ष के.पी. ओलीले सेनालाई राजीनामा बुझाई भाग्नु हुने थिएन भन्दै उहाँले जेनजीको आगजनीविरुद्ध संसद् वा सर्वदलीय बैठक बोलाई देशको गम्भीर अवस्थाबारे जनतालाई सूचित गर्नुपर्ने थियो तर उहाँ आफू जोगिएर भाग्नु वा लुक्नु प्रतिकूल परिस्थितिको अगाडि झुक्नु प्रधानमन्त्री पदको लागि सुहाउँदैनथ्यो भन्नुभयो ।
प्रजातन्त्रको लागि प्राणाहुती गर्ने सहिदहरूको सालिकमा माल्यार्पण गरी सत्ता आरोहण गरेका प्रधानमन्त्रीले देश सङ्कटमा परेको बेला सहिदको भावनाविपरीत आत्मरक्षामा लाग्नु उचित नभएको बताउँदै उहाँले अहिले उही ओलीले जनतालाई अनेक दोष दिँदै हिँड्नु ठीक होइन भन्नुभयो ।
कार्यक्रममा नेक्राशि सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नयाँ थिति बसाल्ने सङ्कल्पसहित सत्तामा आएको रास्वपा सरकारले समाजमा अनेक बेथितिहरू बसाल्न खोजेको बताउनुभयो । शिक्षा नियमावलीको दसौँ संशोधनले विद्यार्थीलाई उच्छृङ्खल बनाउन सक्ने हुँदा शिक्षकहरू सचेत हुन आग्रह गर्दै उहाँले विगतका सरकारहरूझैँ यो सरकारले पनि शिक्षालाई उपेक्षा गरेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारले शिक्षकलाई दसैँ पेस्की पनि पुग्दो निकासा गरेको छैन । ईसीडी तहमा सहजकर्ताको सट्टा प्रावि तृतीय शिक्षक नियुक्ति गरेको छैन । नयाँ शिक्षा ऐनको चर्चा छ† शिक्षक सङ्घले दिएको सुझाव सम्बोधन गर्नुपर्छ ।”
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष घनश्याम खड्का, सदस्यहरू के.पी. छुस्याकी र हरिप्रसाद ढकाललगायतका शिक्षकहरूले साहित्यसहितको शुभकामना दिनुभएको थियो । कार्यक्रममा सचिव राजन लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *