भर्खरै :

नेमकिपा शासक दलहरूले गर्दै आएको राजनीतिक भागबन्डाको विरोधमा

नेमकिपा शासक दलहरूले गर्दै आएको राजनीतिक भागबन्डाको विरोधमा

मध्यपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा मध्यपुर थिमि नगदेशमा आइतबार चुनावी जनसभा कार्यक्रम भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सदस्य सुनिल प्रजापतिले नेमकिपा निःस्वार्थ रूपमा जनताको पक्षमा काम गर्दै आएको बताउनुभयो ।
नेमकिपा कहिल्यै शासकीय भागबन्डामा नलागेको स्पष्ट पार्दै उहाँले शासक पार्टीहरूले गर्दै आएको राजनीतिक भागबन्डाको विरोध गर्दै आएको भन्नुभयो ।
प्रजातन्त्र र कम्युनिस्टको नाममा काम र कुरा फरक गरी जनतालाई ठुला दलहरूले धोका दिइरहेकोमा जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य प्रजापतिले नेमकिपाले प्रखर प्रतिपक्षी भूमिका निर्वाह गरी निर्वाचन घोषणापत्रअनुसार काम गर्नेछ भन्नुभयो ।
युवा उमेरले होइन विचारले हुने र क्रान्तिकारी विचार बोक्नेहरू नै युवा हुने धारणा राख्दै उहाँले शासक पार्टीहरूलाई पराजित गरी दण्ड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेपाल विकास नहुनुमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद प्रमुख रूपमा दोषी भएको धारणा व्यक्त गर्दै नेपाललाई सिक्किम र युक्रेन हुनबाट बचाउन नेमकिपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार रमेश वैद्यले हाम्रो मत विदेशी दलाल भ्रष्टाचारीलाई होइन नेपाली जनताको सेवकलाई दिनुपर्ने बताउनुभयो ।
युवा विद्यार्थीलाई नेपालमै बस्ने व्यवस्था गर्न, ख्वप विश्वविद्यालय विधेयक पारित गराउन, भ्रष्टाचारीलाई फाँसीको सजाय हुने कानुनी व्यवस्था गर्न, स्वदेशमै रोजगारी सिर्जना गर्न कानुनी व्यवस्थाको लागि नेमकिपाका उम्मेदवारहरुको खाँचो छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा मध्यपुर नगर समितिका पूर्वअध्यक्ष विक्रम वैद्य, समानुपातिक उम्मेदवार दीक्षा बाडे, आयोजक समितिका संयोजक वीरकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा जनगायक सपना शाही र विनोद वि.क.ले प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *