भर्खरै :

पुँजीवादी बन्दोबस्तले निर्वाचन धाँधलीरहित र निष्पक्ष हुन नसक्ने

पुँजीवादी बन्दोबस्तले निर्वाचन धाँधलीरहित र निष्पक्ष हुन नसक्ने

भक्तपुर, १० फागुन । भक्तपुर क्षेत्र नं. २ मा नेमकिपा कटुञ्जेको आयोजनामा शनिबार चुनावी सभा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले राजनीति गर्नुको उद्देश्य निःस्वार्थ रूपमा जनताको सेवा हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन वर्गसङ्घर्ष र राजनैतिक सङ्घर्ष हो । निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर हो । निर्वाचनले समाजवाद आउँदैन ।”
नेमकिपाले मात्र एमसीसीको विरोध गरेको उल्लेख गर्दै उहाँले ठुला भनाउँदा दलहरूले पैसाको लोभमा एमसीसी पास गरेको बताउनुभयो । उहाँले विदेशीले देशको जलस्रोत कब्जा गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै देशभरि नेमकिपाले नजितेसम्म आमूल परिवर्तन गर्न नसकिने चर्चा गर्नुभयो ।
पुँजीवादी बन्दोबस्तले निर्वाचन धाँधलीरहित र निष्पक्ष हुन नसक्ने बताउँदै उहाँले विश्वविद्यालयले समाजलाई बुद्धिजीवीकरण गर्न संसद्ले नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक कानुन नबनेसम्म देश र जनताको समस्या यथावत रहने स्पष्ट पार्नुभयो । जन्मको आधारमा नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुन खारेज गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले जनताको हितमा कानुन निर्माण गर्ने ठाउँमा नेमकिपालाई पु¥याउन आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपा २०४८ सालदेखि नै आफ्नो घोषणापत्रमा देशको द्रुतत्तर विकास गर्न रज्जुमार्ग, केबुलकार, सुरुङमार्ग निर्माणको माग गरिरहेको उल्लेख गर्नुभयो ।
नेपालमा विदेशीले सहयोग गरेको कलकारखाना निजीकरण गरेको र युवा शक्ति बेरोजगार बनाएर विदेश पलायन गर्न बाध्य भएकोमा ठुला दलहरू दोषी रहेको उल्लेख गर्नुभयो ।
उहाँले देशमा विद्युत् उत्पादन गरेर जनतालाई कम शुल्कमा विद्युत् प्रदान गर्न सके विदेशबाट ग्याँस आयात कम गर्न सकिने विचार व्यक्त गर्नुभयो । देश विकास गर्न निर्वाचित सांसद जिल्लामा नै बसेर जनताको सेवा गर्नुपर्ने उल्लेख गर्दै उहाँले सबै सहरकेन्द्रित भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले देशमा सन्तुलित विकास गरेमात्र आमूल परिवर्तन गर्न सकिने चर्चा गर्दै युवा उमेरले भन्दा विचार र सिद्धान्तले हुने बताउनुभयो । युवा शक्तिलाई शैक्षिकरूपले योग्य र सक्षम बनाई देशभित्रै रोजगारको बन्दोबस्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार रमेश वैद्यले निर्वाचन घोषणापत्रको सैद्धान्तिक लडाइँ हो† निर्वाचन जनतामाझ पार्टीको विचार लाने माध्यम हो भन्नुभयो । “घोषणापत्रअनुसार इमानदारीपूर्वक र निष्पक्ष तरिकाले जनताको सेवा गर्न संसद्मा जाने हो । सांसद बन्नु कुनै मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा जनताको हितमा कानुन निर्माणमा लाग्नु हो,” उहाँले भन्नुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको लागि आवाज उठाउन, देशभक्तहरूको सदन बनाउन, निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त गर्न, आत्मनिर्भर हुन र देशभित्रै रोजगारको सिर्जना गर्न आवश्यक कानुन निर्माण गर्न लागिपर्ने दल र दलका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
स्थानीय निकायलाई ज्ञान विज्ञानको केन्द्र बनाउन ख्वप विश्वविद्यालयको विधेयक सदनबाट पास गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कृषि उत्पादन बढाउन, मल कारखाना बन्दोबस्त गर्न आवाज उठाउन, सिँचाइको बन्दोबस्त गराउन र वैज्ञानिक कृषि प्रणालीको बन्दोबस्तको लागि नेमकिपाको संसद्मा खाँचो रहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रम वडा नं. ५ समितिका रामकृष्ण बखुन्छेँको सभापतित्वमा भएको थियो भने नेमकिपा सूर्यविनायकका अध्यक्ष सूर्यभक्त त्वाती, समानुपातिक उम्मेदवार श्याम बिसुङ्के र जितबहादुर खाइजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बिचबिचमा विनोद विक र सपना शाहीले प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, जितबहादुर खाइजु, अञ्जना बखुन्छेँ, जुनु कोजु, मैँया खाइजु र सुन्दर गुमाञ्जुले पनि संयुक्त गीत प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *