भर्खरै :

सोचविचार गरेर मतदान गरौँ

सोचविचार गरेर मतदान गरौँ

देशको राजनीति र चुनावी बहस जिम्मेवारी बोधभन्दा लोकप्रियता, नीतिभन्दा नारा र संस्थाभन्दा व्यक्तिमा केन्द्रित हुनु राम्रो सङ्केत होइन । काम गरेर देखाउनु भन्दा आश्वासन बाँडेर जनताको मत लिने काममा लाग्नु दलका नेताहरूको कमजोरी हो । निर्वाचनको बेला शासक दलहरू यो गर्ने र त्यो गर्ने भनी जनताको मत लिन्छन् । सरकारमा पुगेपछि उनीहरू न घोषणापत्रबमोजिम काम गर्छन् न त जनतामाझ गरेका प्रतिबद्धता नै व्यवहारमा लागू गर्छन् । निर्वाचनलाई जनताको मत लिनको निम्ति आश्वासन बाँड्ने माध्यम बनाइएको छ । निर्वाचन एक राजनीतिक सङ्घर्ष हो । यो एक प्रकारको वर्गसङ्घर्ष हो । यो बेला जनताले विभिन्न दलको घोषणापत्र या प्रतिबद्धताबारे बुझ्ने मौका पाउँछन् । सबै दलको कुरा सुनेर, बुझेर जनताले मतदान गर्ने हो । यसकारण, नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भनेको हो । जनताले दिएको मतदानको आधारमा जनताको राजनीतिक, वैचारिक या सैद्धान्तिक स्तरको मूल्याङ्कन गर्न सकिन्छ ।
जनतामा राजनीतिक र सांस्कृतिक स्तर नभएकै कारण कति मत लहैलहैमा खसालेको हुन्छ । कति मत जित्नेलाई भन्दै राखिएको हुन्छ । कति मत लोभलालच र पैसामा बिकेको हुन्छ । जनताको यस्तै यस्तै मतले गर्दा संसद्मा जिताउनुपर्ने व्यक्ति हारेको हुन्छ† हराउनुपर्ने मान्छे जितेको हुन्छ । प्रतिनिधिसभाको यो निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा जस्तै विकासको सपना बाँडिएको हुन्छ । विकासको सपनामा भुलेर पनि जनताले मत हालेको हुन्छ । अझै संसद्को मुख्य काम र केन्द्र प्रधानमन्त्री होइन बरु आवश्यक नीति र ऐनको निर्माण गर्ने भन्ने कुरा थाहा छैन । उम्मेदवारहरू नै सांसदको काम गाउँ–ठाउँमा विकास ल्याउने कुरा फुक्छन् । निर्वाचित सांसदहरू आ–आफ्नै जिल्लामा बसेर जनताको सेवा गर्ने र देशको सन्तुलित विकास गर्न पाउने कानुनी व्यवस्था गराउने कुरा भुल्छन् ।
सांसदले आफ्नो गाउँ, ठाउँ हेर्ने होइन । समग्रमा देशको सन्तुलित विकास कसरी गर्ने ? त्यसको निम्ति के कस्ता नीति नियम ल्याउने र सो लागू गर्नेतर्फ सांसदको ध्यान जानुपर्ने हो । देशको दु्रत्ततर विकास गर्न दुर्गम क्षेत्रमा रोपवे (रज्जुमार्ग), केबुलकार र सुरुङ मार्ग, रेलमार्ग, विद्युतीय सवारी साधन सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । देशमा बढीभन्दा बढी विद्युत् उत्पादन गरेर देशभर बिजुली पु¥याउने र बाँकी भएको बिजुली छिमेकी देशलाई बेचेर आयस्रोत जुटाउनुपर्छ । देशभर बिजुली पुग्नु भनेको स–साना उद्योगधन्दा विस्तार हुनु पनि हो । स–साना घरेलु उद्योग, उद्योग, कारखाना खोलेपछि जनताले काम पाउँछन्; जीवन जोहो गर्न सजिलो हुन्छ र विदेश जानुपर्ने बाध्यता हुँदैन । यसले समाज, देशको मात्र होइन आफ्नो जीवनस्तर पनि बढ्नेछ ।
कृषि उत्पादन बढाउन आवश्यक र सम्भव भएका ठाउँहरूमा नहर बनाएर सिँचाइको व्यवस्था भए उत्पादन स्वाभाविक रूपमा बढ्छ । देशभर सिँचाइको व्यवस्था नभएर पनि उत्पादन घटेको हो । यसको निम्ति सांसदले सदनमा बोल्ने हो; काम गराउन सरकारको ध्यानाकर्षण गराउने हो । सांसदहरूले देशमै नयाँनयाँ बीउबिजनको व्यवस्था गर्ने, कृषकहरूलाई राहत दिन रासायनिक मल कारखाना खोल्ने व्यवस्थाको निम्ति आवाज उठाउने हो । जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीको छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउनेतर्फ सांसदहरू उभिनुपर्छ ।
विकासको नाउँमा हरेक उद्योग, कारखाना, प्राकृतिक स्रोत र साधनमा विदेशी पुँजी लगानी गर्ने सोच बदल्नुपर्छ । विदेशी पुँजीको लगानी र खोलेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको कारण नेपाली भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल बढ्नेछ र देश साम्राज्यवादीहरूको नवउपनिवेश बन्ने छ । भ्रष्टाचारीहरूमाथि कारबाही हुनुपर्छ । उनीहरूले पदको दुरुपयोग गरी कुम्ल्याइएको सम्पत्ति राष्ट्रिकरण हुनुपर्छ । देश र जनताका यी आवश्यकता सम्बोधन गर्न संसद्ले नीति निर्माण गर्ने हो ।
पैसा, उपहार र पदको लोभमा कुनै नेपालीले विदेशीको दलाल गर्नु हुँदैन । निर्वाचनमा कुनै विदेशी दलाललाई निर्वाचित गर्नु हुँदैन । जनताले निर्वाचित गरेका सांसदहरू गतिला भएनन् भने देशमा झन्झन् आर्थिक सङ्कट निम्तिने छ† देश परिनिर्भर बन्दै जानेछ । यसको कारण जनताले दुःख पाउनेछन् । देश विकास नहुनुको कारण पनि सरकारकै लापरबाही हो; शासकहरू देश र जनताप्रति जिम्मेवार र दूरदर्शी नभएकाले हो । यसकारण, यो निर्वाचनमा हरेक मतदानले आ–आफ्नो अमूल्य भोट हचुवाको भरमा राख्ने होइन, सोच विचार गरेर मतदान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *