भर्खरै :

सद्दे राजनीति गर्नुपर्ने

सद्दे राजनीति गर्नुपर्ने

हो–हल्लाको राजनीति गरेर र हल्लाको पछि लागेर परिणाम राम्रो आउँदैन । हल्लै हल्ला गरेर जनताको मत लिने काम सही राजनीति होइन । हल्लाको पछि लागेर सही निकास आउँदैन । यो निर्वाचनमा कुनै दलले बढी सीट जित्ला या नजित्ला त्यो आफ्नो ठाउँमा छ । तर, जुनसुकै दलले बढी सीट जिते पनि सरकार पुँजीवादी व्यवस्थाअनुरुप नै चलेको हुन्छ । यो पुँजीवादी व्यवस्थाभित्र रहेर बहुमत जनताको सेवा हुँदैन । केही सुधारका निम्ति ऐन कानुन संशोधन भए पनि श्रमजीवीवर्गको हितमा ऐन कानुन बनाइँदैन । यो निर्वाचनकै सन्दर्भमा कहिले ज्योतिषीय विश्लेषण भनी दलले प्राप्त गर्ने सांसदको सङ्ख्या भनेर त कहिले अनुमानित सीट भनी सङ्ख्या निर्धारण गरेर जनताको मत भाँड्ने काम भइरहेको छ ।
अहिले केही दलहरू आफ्नो दल नै देशको सबभन्दा ठुलो दल बन्ने सपना बाँड्दै छन् । यसरी ठुलो दल बन्ने सपना बाँडेका दलहरूमा नेका, एमाले, नेकपा, रास्वपा आदि रहेका छन् । ठुलो दल बन्ने सपना बाँडेर जनताको मत लिने काम के सही हो ? लोभ देखाएर जनताको मत लिने काम कसरी सद्दे राजनीति हुन्छ ? हरेक राजनीतिक दलले देश बुझेको हुनुपर्छ । मतदातालाई सरकारमा पुग्ने भ¥याङ बनाउने काम कुनै पनि प्रजातान्त्रिक या ठुला दलका नेताहरूलाई सुहाउँदैन । कति राजनीतिक दलका नेताहरूले निर्वाचनको परिणाम नआउँदै प्रधानमन्त्री बन्ने सपना बाँडे । अहिले नै यो र त्यो प्रधानमन्त्री बन्ने शङ्खघोष गरेर झूटको राजनीति हुँदै छ । के यो हल्लाको राजनीति होइन ?
निर्वाचन सम्पन्न भएपछि कुनै न कुनै दलको नेतृत्वमा सरकार बन्छ । बहुमत प्राप्त सरकार नभए पनि मिलीजुली या संयुक्त सरकार हुन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्वाचनमा पनि कुनै दलले बहुमत प्राप्त गर्नसक्दैन । यो विश्लेषण सही भएमा प्रम को हुने भन्ने यकिन हुनेछैन । मिलीजुलीको सरकार बन्दा दलले पालैपालो सरकारको नेतृत्व गर्छ । विगतमा झैँ संयुक्त सरकार पनि पूरा अवधि टिकेको हुँदैन । भागबन्डाको राजनीति भएपछि या आफ्नो दलले भने जति पद नपाएपछि सरकार हेरफेर भइरहने सम्भावना हुन्छ । योभन्दा अघि कुनै पनि सरकार निश्चित अवधिभित्र टिक्न नसक्नुको कारण यही हो । भागबन्डाको सरकारले देशमा निश्चित बाटो तय गर्न सक्दैन । सबै दलको कुरा सुनेर अघि बढेपछि सरकारको निश्चित गन्तव्य हुनेछैन । यस्तो स्थितिमा सरकार अस्थिर हुन्छ । अबको सरकार ढल्दैन, यात्रा पूरा गरेरै छाड्छ भने पनि सरकारको नेतृत्व फेरिरहनेमा शङ्का छैन । सत्तालाई कमाइ खाने भाँडो बनाएर जनताको समस्या सम्बोधन हुँदैन ।
सरकार टिकाउन या स्थायी बनाउन सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ । हरेक दलले कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेकै हुन्छ । सिद्धान्त र विचारको राजनीति गर्दा दिशा निर्देश गर्न सकिन्छ । सिद्धान्त र विचारको राजनीति नभएकै कारण या पथप्रदर्शक नभएकै कारण व्यक्तिकेन्द्रित राजनीतिको हाबी भएको हो । व्यक्ति हाबी राजनीतिकै कारण निर्वाचनको क्रममै कति दलका नेता कार्यकर्ताले पार्टी छोड्न थालेका छन् । उम्मेदवार बन्न लाखाँै रकम पार्टीलाई दिनुपर्ने बाध्यता र पार्टीको नाउँमा उठेको रकम पारदर्शी नभएको कारण पार्टीबाट राजीनामा दिने व्यक्तिहरूले नै बताएका छन् । पार्टीमा नेता कार्यकर्ताले गरेको योगदानभन्दा कसैले टिपेर उम्मेदवारी बनाएकोले पार्टी कार्यालय र निर्वाचन केन्द्रमा हात हालाहाल भएको, पार्टी छोडेको कुरा पनि सामाजिक सञ्जालमा प्रसारण भइरहेको छ । यसरी ठुला र नयाँ भनिने दलभित्र यतिबेला नेता तथा कार्यकर्ताहरूकै असन्तोष बढ्न थालेको छ । नेता तथा कार्यकर्ताहरूको असन्तोष नेका, एमाले, नेकपा र रास्वपाभित्र बढी देखिएको छ ।
पुँजीवादी व्यवस्थामा स–साना सुधार गरेर बहुमत जनताको हित हुनेछैन । यो व्यवस्थाभित्र रहेर सरकारले आमूल परिवर्तन गर्नसक्दैन । सरकारको नेतृत्व फेर्नु नै आमूल परिवर्तन होइन । आमूल परिवर्तन गर्न सङ्घर्ष गर्नैपर्छ । सङ्घर्ष गर्न जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । तर, देशका अधिकांश दलले जनतालाई सिद्धान्तनिष्ठ, कर्तव्यनिष्ठ बनाउने काम गरेका छैनन्; सचेत र सङ्गठित गर्ने काम गरेका छैनन् । यही कारण हरेक पटकको निर्वाचनमा ठुला दलहरूको मत र सांसद सङ्ख्यामा धेरै अन्तरमा हेरफेर हुन्छ । सरकारको नेतृत्व गरेको दलले जनताको विश्वास जित्न सकेन; विश्वास जित्ने काम गरेन । यसको कारण सरकारप्रति जनताको असन्तोष बढ्यो । सरकारको नेतृत्व हेरफेर भयो । देशमा बेथिति र अराजकता बढ्यो । यो देशको दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *