भर्खरै :

भ्रमजाल फालेर मत दिने प्रचार गलत

भ्रमजाल फालेर मत दिने प्रचार गलत

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाले कामदारवर्गको प्रतिनिधित्व गर्दैन । पुँजीवादी व्यवस्थाभित्र पसेर आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तनको निम्ति सङ्घर्षबाहेक अर्को विकल्प छैन या कामदारवर्गलाई शासकवर्गमा पु¥याउन वर्गसङ्घर्ष गर्नुपर्छ । यो कुरा हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई थाहा हुन्छ । तर, आफूलाई कम्युनिस्ट ठान्ने नेता तथा कार्यकर्ताहरू कम्युनिस्टको सिद्धान्त र विचार बन्धक राखेर पुँजीपतिवर्गको पक्षपोषण गर्छन् । उनीहरू आफ्नो दलको नेता या सांसदलाई मन्त्री बनाउनु नै कामदारवर्गलाई शासकवर्गमा पु¥याएको अनुभूति गर्छन् ।
सरकारमा धेरै जनजातिका नेताहरू मन्त्री भए, मधेस समुदायका राष्ट्रपति भए । तर, कामदारवर्गका जनता र मधेसी समुदायका श्रमजीवी जनताको हित भएन; हितमा काम गर्न सकिएन । यसको कारण पुँजीवादी व्यवस्था नै हो । पुँजीवादी व्यवस्थामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री जुन जातिको भए पनि श्रमजीवीवर्गको हितमा काम गरिँदैन । यो कुरा बहुदलीय व्यवस्था स्थापना भएपछि बनेको सरकारले गरेको हालसम्मको गतिविधिबाट थाहा हुन्छ । सच्चा कम्युनिस्ट पार्टीले मात्र कामदारवर्गको पक्षमा काम गर्छ । नेमकिपा मन्त्री बन्न र बनाउन निर्वाचनमा भाग लिएको होइन । नेमकिपाको घोषणापत्रमा भनिएको छ, नेमकिपाका उम्मेदवारहरू देशभरिबाट निर्वाचित नभएसम्म आमूल परिवर्तनको लागि सङ्केत परिपक्क हुनेछैन । संसद्को मुख्य काम प्रधानमन्त्री छनोट गर्ने होइन बरु आवश्यक नीति र ऐनहरूको निर्माण गर्ने हो । कामदारवर्गका जनतालाई शासकवर्गमा पु¥याउनु भनेको निर्वाचनमा जितेका सांसदहरूलाई मन्त्री बनाउन होइन । आफूलाई कम्युनिस्ट भन्ने एमाले, नेपाल कम्युनिस्ट पार्टी, पहिलेको माओवादीले सरकारको नेतृत्व गरेर कामदारवर्गका जनताको हितमा खासै कुनै काम गरेको छैन । बरु, उनीहरूले कामदार जनताको अहितमा नीति नियम बनाए । पुस्तौँदेखि जोत्दै आएको जग्गामा मोही कायम नगर्दै तत्कालीन नेकाको सरकारले द्वैधस्वामित्व अन्त्य गरेर किसानहरूलाई जग्गा हकबाट वञ्चित ग¥यो, कमैया मुक्तिको नाउँमा कमैयाहरूलाई बिचल्ली बनायो । यसमा एमालेले पनि समर्थन ग¥यो । यस कार्यको नेमकिपाले विरोध ग¥यो, यो धोका हो भनेर सो कदम फिर्ता लिन दबाब दियो । श्रमजीवी जनतालाई हकबाट वञ्चित गर्ने दलले कामदारवर्गको हितमा काम गर्ला भन्ने विश्वास कसरी गर्ने ?
एमाले, रास्वपा र अन्य दलका नेता र उम्मेदवारहरू भक्तपुरमा एउटै दलका उम्मेदवारलाई बारम्बार जिताउनु हुँदैन; अब मत बदल्नुपर्छ भनी चुनाव प्रचारमा जुटेका छन् । प्रश्न एउटै दल र व्यक्तिको होइन, सिद्धान्त र विचारको हो । नेमकिपाले सदनमा जहिल्यै देश र जनताको पक्षमा आवाज बुलन्द ग¥यो; देशघाती, जनघाती र असमान सन्धि सम्झौताको विरोध ग¥यो र प्रखर प्रतिपक्षको भूमिका निर्वाह ग¥यो । एउटै दल र एउटै व्यक्तिलाई लगातार निर्वाचित गर्न नहुने हो भने केपी ओलीलाई निर्वाचनमा किन उम्मेदवार बनाउनुप¥यो ? फेरि प्रम बनाउने सपना किन्न बुन्नुप¥यो ? नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकाका गगन थापा र रास्वपाका रवि लामिछानेलाई किन उम्मेदवार बनाउनुप¥यो ? सङ्कीर्ण विचारका, दास मानसिकताका नेता तथा कार्यकर्ताहरू सोचेर बोल्दैनन् भन्ने कुरा उनीहरूकै अभिव्यक्तिबाट थाहा हुन्छ । पटकपटक शासन गर्ने उनीहरू नै हुन् । पटक – पटक शासन गरेर केही गर्न नसक्नेहरू पनि उनीहरू नै हुन् । अनि उनीहरू नै एउटै दलका उम्मेदवारलाई अब मत हाल्ने होइन मत बदल्नुप¥यो भनी घाँटी सुक्ने गरी किन फुक्छन् ? उनीहरूकै दलका नेताहरू भन्छन्; नेमकिपाले झैँ जनतामाझ गएर जनताको निम्ति इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्नुपर्छ । उनीहरूबाट पाठ सिक्नुपर्छ । भक्तपुरबाट पाठ सिक्न नै देशभरिका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी आउँछन्, बुझेर जान्छन् । तर, यहाँका अन्य दलका स्थानीय नेता तथा कार्यकर्ताहरू स्थानीय जनप्रतिनिधि र नेमकिपाका नेता तथा कार्यकर्ताहरू स्थानीय जनप्रतिनिधि र नेमकिपाको विरोध गर्न पाएपछि मख्ख हुन्छन्; गर्व गरेर आफूलाई ठुला ठान्छन् र जिम्मेवारी पूरा गरेको ठान्छन् ।
कहिले प्रधानमन्त्री बन्ने जाल फ्याँकेर, कहिले सरकारको नेतृत्व गर्न एक नम्बरको दल बनाउने भनेर त कहिले एक्लैले केही गर्न सक्दैन भनी भ्रमजाल फालेर जनताको मन भाँड्ने काम जसरी विगतमा सरकारमा रहेका दलका नेता तथा कार्यकर्ताहरूले गरे त्यसरी नै आज पनि उनीहरूले गरिरहेका छन् । यस्ता हरेक भ्रमजाल, झूटको खेतीबारे सर्वसाधारण जनता जहिल्यै सचेत हुनुपर्छ । कुनै पनि नेपालीको मत सरकारको नेतृत्व गर्नेलाई होइन, देश र जनताको निम्ति सेवा गर्ने र गरिरहेको दल र दलका उम्मेदवारलाई दिने हो । यतिबेला कुन दल कहाँबाट सञ्चालित छ र त्यो दलले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने कुरा बुझेर मात्र दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *