भर्खरै :

सरकारमा गएका दलहरूको ‘नुर’ खसेको यो महानिर्वाचन – २०८२

सरकारमा गएका दलहरूको ‘नुर’ खसेको यो महानिर्वाचन – २०८२

बारम्बार प्रधानमन्त्री र गृहमन्त्री बनेका विभिन्न दलका नेताहरू आज शक्तिशाली मित्रहरूले घोक्र्याएर संसद््को निर्वाचनमा पठाइएका नेताहरू आफ्नै क्षेत्रभित्र कैद भएका छन् – टाउको झुकाएर, अनुहारमा फुर्ती र तेजहीन हुँदै अपराधबोध मानसिकता र असफल खेलाडी र लडाइँमा हार खाई आत्मसमर्पणको भावना लिएर । केही निर्लज्जहरू फेरि पनि बाहिरी हावाबाट ‘बेलुनजस्तै फुलिँदै’ मनमा केही नैतिक अपराधबाट त्रस्त हुँदै आफ्नै भिडमाथि शङ्का गर्दै छन् । मनमा ती नेताहरू ‘नयाँ पुस्ताको हावाबाट’ हामीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन एवं मन्त्री निवासहरूको आगलागीको सम्झनाले जिल्ला–जिल्लामा सरकारी एवं सार्वजनिक सम्पत्तिको क्षतिलाई जोगाउन नसक्नुमा सरकार चलाउने सबै दलका नेताहरू मात्र होइनन् संवेदनशील कार्यकर्ताहरूसमेत भित्री मनदेखि आआफ्ना दल र नेताहरूको गल्ती र कमजोरीमा आफ्नै कमी–कमजोरी अनुभव गर्दै छन् ।
‘भगवान राम’ लङ्काको विजयपछि अयोध्या पुगेपछि ‘बाँदर’ सेनाले उपद्रव गरेका थिए । त्यसबाट जोगाउन राम र लक्ष्मणले अनेक उपायहरू गरेका थिए । २०६२/०६३ को आन्दोलनपछि सत्तामा आएको नयाँ शक्तिले ‘बेरोजगार लडाकुहरूको निम्ति’ समिति, आयोग र परीक्षाको बन्दोबस्त गरे पनि आआफ्ना निर्वाचनमा लागेका कार्यकर्ताहरूको रोजगार, अध्ययन र विदेशमा छात्रवृत्तिबारे अहिले सपनामा पनि बरबराउँदै होलान् भनी अड्कल काट्ने नेताहरूको कमी छैन ।
‘स्वर्ग’ बनाइदिन्छु भन्न लाज मानेर शासक दलका नेताहरूले ‘स्वीजरल्यान्ड, सिङ्गापुर’ र अनेक झिलिमिली आश्वासन दिइसकेको हुनाले ती नेताहरू जनताको माझमा जान डराइरहेका छन् – कतै पुराना आश्वासन, घोषणा वा बाचा पत्रबारे प्रश्न गरे भने के गर्ने भनी ! धन्य ! हाम्रा राजधानीका नाउँ चलेका दैनिक पत्रपत्रिकाले नेताहरूको सानो स्वरलाई ठुलो अक्षरले लेखिटोपलेका छन् ।
हिजोका सरकारमा गएका भ्रष्टाचार मुद्दा खेप्दै गरेका नेताहरू पनि आफ्ना छोरा, नातिहरूले जनताको प्रश्न दोहो¥याउलान् भनी घरघरमै स्वच्छाले कैद छन् । दलहरूले आक्रामकहरूलाई निर्वाचन नलड्न र जनतासामु उभिन नपर्ने स्थितिको कारण मनमनै उम्मेदवारी नदिएकोमा धन्य सम्झेका छन् । देशी वा विदेशी शक्तिले कथंकदाचित यस्तो बेलामा पनि निर्वाचन ‘स्थगित’ वा ‘अर्को मिति तोकेमा’ ती अपराधी र कायर भावना भएकाहरू साह्रै खुसी हुन्थे ! जनतामा यस्तै चर्चा छ ।
xxx
अभिभावकहरू आजको परिवेशमा आआफ्ना सन्तान (नयाँ पुस्ता) मा उमेरअनुसारको फेसबुक, इन्टरनेट वा मोबाइलबाट पठाइएका प्राचीन कालका ‘मायाजाल’ मा परेकोमा आश्चर्य र छटपट्टीमा छन् । थोरै घरमा मात्र यस्तो नयाँ ‘मायाजाल’ बाट छुटकारा पाएका परिवार होलान् तर उत्तर पनि तयार छ – ‘हिजोका सबै क्रान्तिकारी नेताहरू पनि १५–२० वर्षको उमेरबाटै विदेशी आक्रमणको विरोधमा सहिद भएका थिए र व्यापक जनताको ‘काम–माम–कपडा’, ‘छाना र नाना’ अनि ‘उच्च शिक्षासम्मको निःशुल्क शिक्षाको’ मागबाट विभिन्न देशमा सर्वहारा क्रान्ति, किसान आन्दोलन, देशको मुक्ति आन्दोलन र विदेशी आक्रमणको विरोधमा समर्पित थिए । युरोप र अमेरिकामा काम र पढाइमा गएकै विद्यार्थीहरूले बेलायतको हाइड पार्क र अन्य पार्क एवम् क्लवहरूबाट, विश्वविद्यालय र युवा सङ्गठनहरूबाट राजनीति सिकेर ती युरोपेली र अमेरिकी सरकारको विरोधमा आआफ्ना देशको मुक्तिको निम्ति सङ्घर्ष सुरु गरे । युरोपेली भाषाहरू सिकेरै ती देशका सरकारहरूले आआफ्ना देशहरू लुटेका र ठगेका बुझेर अनेक वर्ष जेल जीवन प्रवास र सङ्घर्षबाट नेतृत्वमा पुगे, समर्पणको भावनाले र आआफ्ना देशलाई मुक्त गरे ।
यसरी आजका तेस्रो देशका मुलुकहरूले स्वतन्त्रता र मुक्ति पाए नयाँ प्रजातन्त्रको अनुभव गरे र गर्दै छन् । देशभक्तहरूको रगत र पसिना तथा क्रान्तिकारी युवाहरूको चिहानबाटै धेरै देशहरूले स्वतन्त्रता र मुक्ति प्राप्त गरे, काम–माम–कपडा, निःशुल्क उपचार तथा निःशुल्क उच्च शिक्षा युवा विद्यार्थीहरूले पाए । आज नेपाली युवाहरू आफ्नो देशलाई शोषणविहीन समाज बनाउन कामदार जनतासँग एक भएर उभिँदै छन् । तर, संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले क्युवालाई नाकाबन्दी गरेर सारा युवा, विद्यार्थीहरूको पढाइलाई क्षति पु¥याउँदै छ, लाखौँ बिरामीहरूको उपचारमा बाधा पु¥याउँदै छ । संसारका नयाँ पुस्तालाई यो एक चेतावनी हो ।
यसको अर्थ हो नेपालजस्तै गरिब मुलुकहरूलाई सस्तो ज्यामी बनाएर विकास गर्न दिन चाहँदैनन् – विकसित मुलुकहरू । अमेरिकाको आर्थिक हतियार विश्व बैङ्क अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली बैङ्क हो । हिजोका हाम्रा शासकहरूका नेताहरू र अर्थमन्त्रीहरू तिनीहरूबाटै शिक्षित भएका हुन् । नेपालको विकासको निम्ति विदेशी शिक्षाबाट देशलाई जोगाउनु आवश्यक छ । विदेशमा नेपाली युवाहरूलाई सस्तो ज्यामीमा जान बाध्य नपार्नको लागि ‘शिक्षा उत्पादन श्रमसँग मिलाउन शिक्षा नीति’ चाहिन्छ भन्ने आवाज उठेको आज होइन । हिजोका सरकारहरू १०–२० वर्षदेखि तयार भएनन् र त्यस्ता विश्वविद्यालय स्थापना गर्न दिएनन् – सरकारहरूले जनतालाई । यसकारण, युवाहरू त्यस्ता विश्वविद्यालय स्थापना गर्न जुरुक्क एक भएर उठ्नु आवश्यक छ । संवेदनशील जनता र बुद्धिजीवी समुदायको यसबारे सकारात्मक सोच रहेको आज होइन भन्ने हाम्रो ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *