मतको आधारमा दलले राज्यको कोष लिने विचार गलत
- फाल्गुन १४, २०८२
मतदान गर्नु जनताको राजनीतिक अधिकार हो । जनताले प्राप्त मौलिक र राजनीतिक अधिकार उपयोग गर्नुपर्छ । प्रतिक्रियावादी, पुँजीवादी, शोषक, सामन्त र जालीफटाहाहरूलाई निर्वाचनमा सजिलैसँगै निर्वाचित गराउनु हुँदैन । तिनीहरूलाई जनताले पराजय गर्नुपर्छ । प्राप्त अधिकारको उपयोग गर्दै देश र जनताको निम्ति इमानदारीपूर्वक राजनीति गर्दै आएको दल र दलका उम्मेदवारलाई चयन गर्ने या जिताउने अवसर हो यो निर्वाचन । देशमा अहिले क्रान्तिको परिस्थिति छैन या क्रान्तिको परिस्थिति तयार भएको छैन । न त अहिले आर्थिक क्रान्तिको परिस्थिति नै बनेको छ । यस्तो बेला चुनावमा भाग नलिने, मतदान गर्न नजाने भन्ने कुरा समय सान्दर्भिक देखिँदैन । न्यायप्रेमी, श्रमजीवी जनताले मतदान नगर्दा श्रमजीवी जनताकै प्रतिनिधित्व गर्ने दलका उम्मेदवार हार्छन् । यसले घुमाइफिराइ शोषक, सामन्त, पुँजीपति, जालीफटाहा, प्रतिक्रियावादीहरूलाई नै सहयोग पुग्न जान्छ ।
निर्वाचनमा हार–जीत स्वाभाविक छ । निर्वाचनमा हार्ने भयले निर्वाचन बिथोल्ने, निर्वाचनविरोधी गतिविधि गर्ने कसैको भावना या विचार समय सान्दर्भिक छैन । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढङ्गले गर्न र गराउनुपर्छ । कुनै पनि निर्वाचन क्षेत्रमा आफ्ना दल या दलका पक्षधर उम्मेदवारहरू छैनन् भने कम्युनिस्ट, वामपन्थी या प्रगतिशील पक्षधर दल र दलका समर्थकहरूले कम्युनिस्ट पार्टी स्थापना गरेर आमूल परिवर्तनको निम्ति राजनीति गर्दै आएका दल र दलका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिनुपर्छ । कुनै पनि जिल्ला या निर्वाचन क्षेत्रमा आफ्नो मतको कारण पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दल जित्न सकिन्छ । यसले कम्युनिस्ट पक्षधर दल र दलका उम्मेदवारहरू पछि पर्नेछन् । अनि उही शोषक, सामन्त र पुँजीपतिवर्गले पाँच वर्षसम्म श्रमजीवी जनतामाथि रजाइँ गर्नेछ । यो अवसर हामीले दिनु हुँदैन ।
कामको खोजीमा भारतका विभिन्न स्थान तथा अन्य देशमा गइरहेका नेपाली युवा–विद्यार्थीहरू मत हाल्नको निम्ति स्वदेश फर्किरहेको बेला हामीले देशका हरेक मतदातालाई मतदान गर्न उत्प्रेरित गर्नुपर्छ । सकेसम्म सबै मतदाताले मत खसाल्ने वातावरण तयार गर्नुपर्छ । हालेको मत कसैको खेर नजाओस् । विगतको निर्वाचनमा सय मतको फरकमा हारजित भएको दृष्टान्त छ । आफ्नो मताधिकार प्रयोग गर्न पछि हट्नु हुँदैन । हो, युवाहरूको स्वदेशमै रोजगारीको बन्दोबस्त सरकारले गर्नुपर्छ । अब आउने सरकारले यहीँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । कामको खोजीमा विदेश जानुपर्ने बाध्यता आउन दिनु हुँदैन ।
हिजो पटक–पटक सरकारमा गइसकेका दल र दलका नेता तथा उम्मेदवारहरू अहिले गरिबी उन्मूलन गर्न फलाना उम्मेदवारलाई जिताउन मतदान गर्न फुक्दै छन् । मानौँ, आफ्नो दलको उम्मेदवार जितेपछि तुरुन्त्तै गरिबी उन्मूलन हुन्छ । सरकारको नेतृत्व गर्ने दलका नेताहरूले हिजो गरिबी उन्मूलन किन गरेनन् ? सम्पदा संरक्षण गर्न फलानालाई जिताउनुपर्छ भनी उद्घोष गर्ने उम्मेदवारहरू पनि देखिए । ख्वप विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने माग नेमकिपाको हो । ख्वप विश्वविद्यालय खोल्न भक्तपुर नगरपालिका लागिपरेको हो । सरकारले स्वीकृति नदिएको कारण हाल ख्वप विश्वविद्यालय सञ्चालनमा आएको छैन । यहाँका जनताको मत आफूतिर तान्न ख्वप विश्वविद्यालय सञ्चालनको लागि भनी आफ्नो उम्मेदवारलाई जिताउन आग्रह गर्ने अरु दलका नेता र उम्मेदवारहरू पनि देखिए । एक थरीका नेताले त ‘एमालेको बजेट’ स्थानीय तहले रोकेको जस्ता ‘हावादारी’ कुरा समेत मतदातामाझ राख्ने काम गरे । उनले देशको बजेटलाई ‘एमालेको बजेट’ भनी आफ्नै दलको सम्पत्ति जस्तो ठाने ।
भक्तपुर सहरलाई जीवित सङ्ग्रहालय या सम्पदा संरक्षित सहर बनाउन भक्तपुर जनताका प्रतिनिधिहरू निरन्तर लागिरहेका छन् । यो यथार्थलाई छोप्ने प्रयास भक्तपुरमा उठेका केही उम्मेदवारहरूले गरे । जसरी भए पनि विरोध गरेर जनताको मत लिने उनीहरूको कुचाल रहेछ । ढाँटको कुरा फलाकेर, भ्रम फैलाउने कुनै पनि दल र दलका उम्मेदवारलाई जनताले चिन्नैपर्छ । भनिन्छ, ढाँटेको कुरा काटे पनि मिल्दैन । भूकम्पको कारण भत्केका घरहरू पुनः निर्माण गर्न नसक्नुमा सरकार नै दोषी हुन्छ; स्थानीय तह हुँदैन । पुनर्निर्माण गर्न नसकेका भूकम्पपीडितहरूलाई पुग्दो सहयोग सरकारले गर्नुपर्छ । नेमकिपाले त्यो माग अघि सारेकै हो । जनता सचेत हुनुपर्छ । कुन दलका कुन उम्मेदवार या नेताले बोलेको कुरा सही कि गलत पहिल्याउनुपर्छ । यसैले कुनै पनि मतदाताहरू कसैको लहैलहैमा लाग्नुहुँदैन । यो निर्वाचनमा सही राजनीति नगरी छल्ने, ढाँट्ने, विरोधको निम्ति विरोध गर्ने, भ्रम फैलाउने, झगडा गराउने दलका नेता र उम्मेदवारहरू पनि हुन्छन् भन्ने कुरा थाहा पाउनुपर्छ; उनीहरूलाई चिनेर निर्वाचनमा पराजय गर्नुपर्छ ।
Leave a Reply