भर्खरै :

मार्चको विद्रोह

  • फाल्गुन ११, २०८२
  • अन्ना लुइस स्ट्रङ
  • विचार
मार्चको विद्रोह

(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक
‘When Serfs Stood Up in Tibet’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
तिब्बतको शासक वर्ग खान्दानीहरूले चाम्दोमा आफ्ना सेना पराजित भएको थाहा पाएपछि सम्झौताबाट फाइदा उठाए । सम्झौताबाट तिनीहरूले तिब्बती स्थानीय सरकारमा रहेको नियन्त्रणलाई निरन्तरता दिए† ‘राजनैतिक संरचना परिवर्तन नगर्ने अर्थात् यथावत् राख्ने’ ‘दलाइ लामाको शक्ति, मठहरूको आम्दानी’ यथावत राख्ने र ‘सुधार कार्यलाई अनिवार्य’ गर्न नहुने सर्तहरू पेचिङतर्फ तेस्र्याए । तिनहरूले तिब्बती सरकारमाथि, मठहरू र जनतामाथि नियन्त्रणको माध्यमबाट सुधार कार्यलाई रोक्ने वा ढिला गर्ने प्रयास गरे । तिनीहरू पेचिङको नीतिलाई परिवर्तन गर्ने वा दूषित बनाउने अथवा चीनको विरुद्धमा विदेशी शक्तिलाई अघि बढाउने वा कम्तीमा तिब्बतका विद्रोहीहरूलाई सैन्य तथा अन्य सहयोग गराउने खेल खेलिरहेका थिए ।
पेचिङको लागि पनि समय चाहिन्थ्यो । जनमुक्ति सेनाले तिब्बती सेनालाई हराए पनि ‘तिब्बतमाथि जीत’ हासिल गरिसकेको थिएन । यसले तिब्बती स्थानीय सरकारबाट तिब्बत ‘मातृभूमि चीन’ को एउटा भाग हो भन्ने मान्यता पाउन सफल भयो र जनमुक्ति सेनालाई ‘राष्ट्रिय सेना’ का रूपमा भारत र नेपालको सिमानाका चौकीहरूमा परिचालित गर्ने अधिकार पायो । त्यसबेला यो नै पहिलो आवश्यकता थियो । १९५१ मा अमेरिकी सेना कोरियामा र ताइवानमा चिनियाँ सेनासँग लड्दै थियो र भारत–चीन सिमानामा लडाइँ गर्ने धम्की दिइरहेको थियो । बेलायतले दशकौँसम्म उठाएको ‘तिब्बतको मुक्ति’ को प्रश्न वासिङटनले उठाइरहेको थियो । चीनबाट तिब्बतलाई छुटाउन तिनीहरू चाहन्थे । तत्कालको आवश्यकता भनेको तिब्बती सहयोगमा चीनको क्षेत्रीय सार्वभौमिकताको रक्षा गर्नु थियो । यसका निम्ति पेचिङले तिब्बतमा सुधारका कार्यहरू अनिश्चित समयका लागि स्थगित गर्यो, तिब्बती कुलीनहरूले सुधारलाई रोकिरहेका थिए ।
दास–मालिक कुलीनहरू दासप्रथामा हुने कुनै पनि सुधारलाई घृणा गर्दथे र समाजवादका बारे उनीहरूले कल्पनै गरेका थिएनन् । आफू भोकै र पीडित भए पनि दासहरू त्यसलाई पूर्वजन्ममा गरेको कर्मको फल भन्दथे । तिब्बतका दासहरू कहिले पनि तिनीहरूका कुलीन मालिकहरूसँगै एउटै कोठामा बस्दैनथे र बाटोमा भेट्दा ठाडो शिरले एक अर्कालाई हेर्दैनथे, तिनीहरूले ‘स्वतन्त्रता’ के हो भन्ने कुरा कल्पना पनि गरेका थिएनन् । पेचिङ तिब्बतमा विस्तारै राजनैतिक र आर्थिक परिवर्तनहरू चीनका अन्य भागहरूमा जस्तै होस् भन्ने चाहन्थ्यो । तिनीहरू खान्दानीहरूलाई कम्तीमा दासप्रथा आफनै लागि पनि राम्रो होइन भन्ने बुझाउन चाहन्थे । सबैभन्दा ठुलो त दासहरूको आत्मालाई चीनको सामिप्यताबाट, चीनको गतिशीलताबाट परिवर्तित गर्न पेचिङ चाहन्थ्यो ।
तसर्थ, १९५१ को सम्झौतामा ‘एकमतले स्वीकार’ गरिसकेपछि दुवै पक्षले तिब्बती जनताको नाममा भविष्यमा द्वन्द्वको तयारी गरिसकेका थिए । पेचिङले जनमुक्ति सेनाको माध्यमबाट तिब्बतलाई चीनसँग जोड्ने राजमार्ग निर्माण, अस्पतालहरू, विद्यालयहरू, नमुना खेतीहरू, बिनाब्याज अन्नका बीज, किसानहरूलाई विकसित कृषि सामग्री र उपकरणहरू उपहार दिएर सैनिक रूपले मात्र नभई राजनैतिक र आर्थिक रूपले सम्बन्ध जोड्न थाले । दास मालिकहरूले हान जातिविरोधी झूटा प्रचारहरू गर्ने, विद्यालयहरूले आत्मालाई बिगार्ने, अस्पतालहरूमा विष दिइने, नमुना खेती र सडकहरूले जग्गा बिगार्नेजस्ता हल्ला चलाएर द्वन्द्वको सुरुवात गरे । यी कुराबाट पनि विस्तारै अघि बढेको सुधार र प्रगतिहरूलाई रोक्न असफल भएपछि तिनीहरूले षड्यन्त्र–जालझेल र विद्रोहलाई प्रश्रय दिए । पहिला तिब्बती क्षेत्रसँग जोडिएका प्रान्तहरूमा र अन्तमा ल्हासामा त्यस्तो उपद्रव गर्न लगाए ।
चाम्दोमा युद्ध हुनुभन्दा पहिले नै सिचुआनमा जनमुक्ति सेनालाई तिब्बतका लागि तयारी रहन निर्देशन दिएर पेकिङले रणनीतिक सुरुवात गरेको थियो । विरोधी वा शत्रुहरूसमेतलाई समेटेर अघि बढ्ने रणनीतिमा अनुभवी भएकै कारण जनमुक्ति सेनाले चीनभरि सफलता हासिल गर्न सकेको हो । १९५० मा सिचुआनमा जनमुक्ति सेनालाई साधारण व्यवहारमात्र होइन, अल्पसङ्ख्यक जातिहरूलाई मैत्रीपूर्ण र समानताको व्यवहार गर्न र तिब्बतमा विशेष व्यवहार देखाउन निर्देशन दिइएको थियो ।
‘हामीले पहिलो सम्पर्कका लागि तिब्बती भाषा सिक्यौँ । हामीले विभिन्न सामाजिक वर्गहरूलाई सम्बोधन गरिने आदरहरू सिक्यौँ । तीर्थस्थल जाने बाटोमा कसरी हिँड्ने र तिब्बती धर्मलाई सम्मान गर्ने सिक्यौँ । हामी कहिले पनि धार्मिक स्थलहरूमा छिरेनौँ न मठहरूमा गयौँ न त घरको ढुकुटी कोठामा नै । तिब्बतको जहाँतहीँ शिकार वा माछा मार्ने कामलाई ‘कठिन अनुशासनका’ रूपमा बन्देज लगाइएको थियो । खाद्यान्नको अभाव र यातायातको असुविधा थियो भने पहाड र खोलाहरूमा जनावर र माछाहरू प्रशस्त थिए ।’ तर, जनमुक्ति सेनाले तिब्बती धर्ममा बन्देज लगाएको हुनाले कहिले शिकार खेलेन तथापि जीवित बुद्धले जनमुक्ति सेनाले शिकारलाई बन्देज लगाउन नपर्ने बताए ।
यो अनुशासन धेरै गाह्रो थियो तर धेरै उपयोगी थियो । त्यसबेला सिचुआनबाट ल्हासामा पुगेका क्याप्टेन याङले बताए, “हाम्रो प्रतिष्ठा हामीभन्दा धेरै उच्च भयो ।” हामीलाई ‘बुद्धको सेना’ पनि भन्ने गरियो । चाम्दोमा तिब्बती सेनाको भाग हाम्रो पक्षमा आउनुको मुख्य कारण थियो, हामीले उनीहरूको भावना र मान्यताको कदर गर्नु ।’
पेचिङको रणनीतिको दोस्रो कदम जनमुक्ति सेना १९५१ को सम्झौतालाई कुरेर चाम्दोमा आठ महिनासम्म बस्नु हो । अन्तमा, सो सैनिक टोली तिब्बतको ल्हासामा जाँदा बाटोमा जनघनत्व धेरै भएको ठाउँ–ठाउँमा रोकेर दलाइ लामाले पेचिङसित गरेको सम्झौताबाट आफू ‘राष्ट्रिय सेना’ भएको सम्झाउँदै हिँडे । तिनीहरूले जनतासित त्योभन्दा अघि कहिल्यै कुनै सेनाले नगरेजस्तै लुटपाट गरेनन् र सवारीसाधनहरू चढ्दाखेरि लागेको जति रकम तिरे । जनमुक्ति सेनाले भाडामा लिएको जनावर र भरियाका लागि तिरेको रकम वास्तविक काम गर्ने दासले पाउँछ कि तिनका मालिकले पाउँछ तिनीहरूले सोधेनन् र थाहा पाएनन् । महत्वपूर्ण कुरा के हो भने दासहरूलाई जनमुक्ति सेनाले पैसा तिरेको कुरा थाहा थियो र जबरजस्ती श्रम गराइएका दासहरूलाई ज्याला तिर्ने एउटा नयाँ कुरो थियो ।
जनमक्ति सेना ल्हासामा पुगेपछि कासागले औपचारिक स्वागत–सत्कार त गर्यो तर भित्रभित्रै जनमुक्ति सेनाविरुद्ध जालझेल र षड्यन्त्र पनि सुरु गर्यो । तिनीहरूले जनमुक्ति सेनालाई इन्धन दिन, खानाको लागि खेतीयोग्य जमिन उपलब्ध गराउन अस्वीकार गर्यो ।
पेचिङको रणनीतिको तेस्रो काम भनेको तिब्बतलाई चीनसँग सैनिक, राजनैतिक र आर्थिक रूपमा जोड्नु थियो । सुस्त गतिमा प्रगतिहरू भए पनि जनताको चेतनास्तरमा वृद्धि भयो ।
खुला रूपमा पेचिङको विरोधको सुरुवात सन् १९५३ मा भयो । लोकाङ्वा (Lokangwa) नामका कालुनले तिब्बतबाट सम्पूर्ण जनमुक्ति सेना र हानहरू फर्कनुपर्ने माग राखे । दलाइ लामाले लोकाङ्वालाई बर्खास्त गरे र उनी भारत भ्रमणमा गए । कालिम्पोङमा उनले भावी विद्रोहको तयारीका लागि विदेशी शक्तिहरूसित भेटे, च्याङकाईशेक र भारतबाट असीमित आर्थिक सहयोग प्राप्त गरे । १९५४ मा दलाइ लामा र पञ्चेन एर्डेनीले राष्ट्रिय सभामा प्रतिनिधिका रूपमा भाग लिए । त्यही बेला दलाइ लामाले माओ त्सेतुङलाई सृष्टिकर्ता ब्रह्मासँग तुलना गर्दै माओ त्सेतुङको स्तुतिगान गाएका थिए । उनी ल्हासा फकँदा सिचुआन–तिब्बत राजमार्ग हुँदै फर्के र उनका जासुसहरू तिब्बती मठहरूमा विद्रोहका लागि सङ्गठन गर्न पश्चिम सिचुआनबाट उनीसँग छुट्टिए ।
१९५५–५६ को जाडो याममा ‘काडटिङ विद्रोह’ भयो । यस विद्रोहमा केन्द्रीय सरकारी अधिकारीहरू र हान नागरिकहरूको हत्या गरियो । त्यस क्षेत्रमा जनमुक्ति सेना थिएन । पछि जनमुक्ति सेना त्यहाँ पुगेपछि तिनीहरू पहाडहरू र चाम्दोमा भागे । त्यहाँको सबैभन्दा उँचो ठाउँमा १० हजार सशस्त्र विद्रोहीहरू थिए । हतियार पाउन सजिलो थियो किनभने तिब्बती–सिचुआन युद्ध सरदारहरू बिचको लडाइँमा त्यहाँ पचास हजार हतियार युद्ध सरदारहरूले छोडेका थिए । च्याङ काईशेकले झारेका अमेरिकी हतियार र रेडियो ट्रान्समिटरहरूको सहयोग त आवश्यकतै थिएन विद्रोहीहरूलाई विदेशी सहयोग छ भन्ने अर्थमा बाहेक । १९५६ को अन्ततिर सिचुआन चाम्दो विद्रोहलाई दबाइयो । विद्रोह असफल भएपछि भागेकाहरू तिब्बत र अन्य ठाउँमा किसानहरूबाट अन्न लुट्थे र ल्हासा विद्रोहमा संलग्न हुनुअघिसम्म स्थानीय प्रशासन कासागको निर्देशनमा चल्थे । खम्पा (Khampas) वा शिकाङ लडाकुहरू यसरी नै जङ्गली, अनुशासनहीन र लुटी खान पल्केका थिए ।
१९५८ को वसन्तमा तिब्बती क्षेत्र सिङ्घाइ र कान्सुमा स–साना विद्रोहहरू भए । सो विद्रोह ‘प्रजातान्त्रिक सुधारका’ विरुद्धमा मठहरू र जमिनदारहरूले खालि–मठहरूले बढी तिरो लिने जग्गामा लिन नहुने, मठलाई कारागार र अदालतको अधिकार नहुने गरिएको थियो । सो विद्रोह दबाइएपछि प्रजातान्त्रिक सुधार अघि बढ्यो र लामाहरूलाई ‘नागरिक स्वतन्त्रता’ दिइयो । त्यसपछि लामाहरू पनि मठहरूबाट घर गई जग्गा लिन थाले ।
विद्रोह दबाइसकेपछि प्राप्त कागजातहरूबाट सो विद्रोह ल्हासाबाट प्रोत्साहित गरिएको र मठहरूको आयोजनामा साम्यवादविरोधी ‘पवित्र युद्ध’ (Holy War) को नाममा भएको खुल्यो । भारतमा प्रकाशन गरिएका कागजातमा चिनियाँ कम्युनिस्टहरूलाई सरापिएको थियो । विद्रोही सङ्गठनको नामकरण ‘चार नदीहरू र ६ पहाडी श्रृङ्खलाहरू’ राखिएको थियो । दलाइ लामाको लागि चन्दा सङ्कलन गर्न गठन गरिएको भनिएको सो सङ्गठन आतङ्कवादी भएको र तिब्बती विद्रोहका अपराधीहरू हवाईजहाजबाट खसालिएको पछि थाहा भयो ।
१९५८ मा तिब्बतभित्र विद्रोह सुरु गर्दा ‘तिब्बतको अन्नको भण्डार’ भनिने ल्हासाको दक्षिणी भाग लोका (Loka) मा अमेरिकी हातहतियार ठुलो मात्रामा हवाईजहाजबाट खसालिएको थियो । भारतसँग सिमाना जोडिएको लोकामा विदेशीहरूसित सम्पर्क गर्ने र सैनिकहरूलाई रसद पु¥याउने जिम्मा भारतले लिएको थियो । खम्पालीहरूसहित विद्रोहीहरूले ल्हासाको निम्ति एउटा नयाँ बिजुली घर बनाउन ल्याइएको काठको ढुवानीमा हमला गरे । विद्रोहीले तिब्बती जनतामा आतङ्क मच्चाएको, लुटपाट र बलात्कार गरेको उजुरीहरू जनमुक्ति सेनाको कार्यालयमा परे ।
ती सबै गुनासाहरू तिब्बतको स्थानीय सरकार कासागमा पठाइयो किनभने स्थानीय शान्ति सुरक्षाबारे कासाग जिम्मेवार थियो । कासागले सधैँ त्यसको राम्रो नियन्त्रण गर्ने आश्वासन दिन्थ्यो तर वास्तविकतामा विद्रोहीहरूसँगै साँठगाँठ गर्दथ्यो ।
स्रोत : तिब्बतका भू–दासहरू उठ्दा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *