अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
-राजन
हामी २५८० औं बुद्ध जयन्ती मनाइरहेका छौं । यतिका वर्षपछि पनि बुद्धको उपदेशको सान्दर्भिकता झनै बढिरहेको छ भने अर्कोतिर संसारमा हत्या–हिंसा पनि त्यसरी नै बढ््दै गइरहेको छ । यो कुराबाट हामीले के बुझ्ने ? कहिले त लाग्छ बुद्धको उपदेश साह्रै सान्दर्भिक भएता पनि यसलाई बुझ्न साह्रै जटिल भएर पो हो कि ? एकदमै उच्च दिमाग हुनुपर्ने रकेट साइन्स सामान्य विद्यार्थीले अध्ययन गर्न नसकेझैं । जस्तै एउटा कक्षा कोठामा रहेका ५० जना विद्यार्थीमध्ये एक दुई जनामात्र एकदमै प्रतिभावान हुन्छन् जुन प्राकृतिक नियम नै हो । त्यसरी नै संसारमा पनि थोरैमात्र मानिस साह्रै ज्ञानी हुन्छन् । यदि त्यसो हो भने एकदमै थोरै मान्छेले मात्र बुझ्ने अनि धेरै नबुझ्ने मान्छे भएको यो संसारमा बुद्धको ज्ञान त कहिल्यै पूर्ण नहुने भयो जसले गर्दा समाज त बुद्धले सोचे जस्तो कहिल्यै नबन्ने भयो । म कहिलेकाही सोच्छु बुद्धको उपदेश मलाई थोरै भएपनि थाहा छ तर उपदेशअनुसार मैले किन रिस, लोभ–लालचलाई नियन्त्रण गर्न सकिनँ ? श्रीखण्ड भनेर बुझ्न नसकेर हो कि ? अथवा मैले यस्तो बुद्ध दर्शन अध्ययन नगरेर हो ? त्यसो हो भने बुद्ध अध्ययन संस्थामा नै ज्ञान हासिल गरेका ल्हार्केल लामा किन जघन्य अपराधको फोहरी खेलको दलदलमा फसे ? यो पछिलो उदाहरणले पनि हामी अनुमान गर्न सक्छौं कि बुद्धको सिद्धान्तमा धेरै नै जटिलता छ जसले गर्दा बहुसख्यक मान्छेले बुझ्न सकेका छैनन् । त्यसैले बुद्ध ज्ञानका विद्धान गुरुहरूले यसलाई अझ सरल बनाउनु पर्ने हो कि ? परिमार्जन गरेर समाजमा ल्याउनुपर्ने हो कि ? त्यो परिमार्जन भनेको वैज्ञानिक समाजवाद नै हो कि ? ताकि बहुसङ्ख्यक सामान्य मान्छेले पनि बुझून् र संसार बुद्धले सोचेजस्तो बनोस् ।
अर्थशास्त्रले भन्छ, ‘हरेक मान्छेले गर्ने हरेक गतिविधिको उद्देश्य नै आनन्द प्राप्त गर्नु हो ।’ तर बुद्धले सबै आनन्दलाई वास्तविक आनन्दको रूपमा लिएका छैनन् । बुद्धले आनन्दलाई विभिन्न प्रकारमा विभाजित गरेका छन् । एउटा अनुभवबाट भएको आनन्द र अर्को गैरअनुभवबाट पाएको आनन्द । पहिलो प्रकारलाई भेयदयिता र अर्कोलाई अभेयदयिता भनिन्छ । परिवर्तन नहुने भएर अभेयदयितालाई उच्च तहको आनन्दको रुपमा लिइन्छ भने परिवर्तन हुने भएर भयदयिता तल्लो तहको आनन्दको रुपमा लिइन्छ । पछिल्लो आनन्द मनमा भएको कलुषित विचारलाई त्यागेपछि मात्र प्राप्त हुन्छ जुन दीर्घकालीन हुन्छ । भेयदयी आनन्द लोभी लालचीले पनि पाउन सक्छन् । कलुषित मनलाई समाप्त नपारेसम्म लोभी लालचीले पाउने खुसी परिवर्तन भइरहन्छ । भलै त्यो गतिविधि अरुलाई अप्ठेरोमा पारेर आनन्द प्राप्त गर्ने कार्य नै किन नहोस् । चीन र अमेरिकाबीच व्यापार युद्ध हुन्दा भारतीय मिडिया खुशीले पागल हुन्छ । त्यसैगरी हामी नेपाली बेलायतमा नेपाली मूलका मेयर भए भनेर आनन्दित हुन्छौं । कसैकसैलाई त अरूलाई अपमान गर्नमा नै आनन्द आइरहेको हुन्छ । त्यसैले यी सबै भेयदयी आनन्द हुन् । यस्तो खुशी दीर्घकालीन वा वास्तविक हुँदैन । सुकरातले ‘क्रोधबाट बच्न सके जीवन सुखी हुन्छ’ भने । गुरुनानकले ‘क्रोध भनेको आफैलाई जलाउने आगो हो’ भनेका छन् । तर यहाँ त क्रोधबाट पनि मान्छे खुसी भइरहेका पाउँछौं ।
अज्ञानी भएर पाएको आनन्द दीर्घकालीन हँुदैन । एक पटक जर्ज वर्नाडशाले भनेका थिए, ‘हे प्रभु मलाई अर्को जन्ममा प्लम्बर भएर जन्माइदिनू ।’ कुरा के रहेछ भने बर्नाड शाको घर अगाडि एक जना प्लम्बरको पनि घर रहेछ । प्लम्बर अफिसबाट फर्केपछि बच्चाहरूसँग खेल्ने, स्वास्नीसँग रमाउने, सुत्नुअगाडि अलिकति रक्सी पिउने अनि मस्तले निदाउने गर्दा रहेछन् । प्लम्बरलाई संसारसँग अन्य कुनै कुराको वास्ता पनि रहेनछ, कसैसँग कुनै सरकोकार पनि रहेनछ । जीवन सहज रुपमा बिताइरहेको थियो । किनकि उनलाई केही पनि थाहा थिएन । संसार कस्तो हुनपर्छ, मानव जीवन कसरी सुखी हुन्छ, उसको लागि यो कुनै विषय नै थिएन । प्लम्बरको दिनचर्या देखेर बर्नाडशालाई ईष्या लाग्यो किनकि बर्नाडशाले मानव जातीदेखि विश्व दर्शनसम्म सोच्ने गर्थे । अनि जहिले तनावै तनावमा हुन्थे । यदि प्लम्बरलाई जस्तै दुनियादारी, दर्शन, ज्ञान, विज्ञानजस्ता जटिल विषयवस्तुप्रति चासो नभएको भए उनलाई नि आनन्द नै हुने थियो । त्यतिबेला बर्नाडशाले भने ‘इग्नोरेन्स इज ब्लिस अर्थात् अज्ञानता नै आनन्द’ । जर्ज बर्नाड शालाई त्यस्तो लाग्यो होला तर प्लम्बरको खुशी पनि वास्तविक आनन्द थिएन । उसलाई अर्कै दुःखले गाँजेको हुनुपर्छ । त्यसैले ‘अज्ञानी बन्नु’ खुसी हुने तरिका हुनै सक्दैन । ज्ञानी भएर कुनै पनि परिणामलाई सहज रुपमा स्विकार्न सक्ने व्यक्ति मात्र दीर्घकालीन आनन्दित भएर खुशी हुन सक्छ । त्यसैले हामीले वास्तविक आनन्द पाउने आवश्यक शर्त भनेको ज्ञानी हुनु हो भने पर्याप्त शर्त भनेको बुद्धले भनेजस्तै मनलाई शुद्धीकरण गर्ने अर्थात प्राणी मात्रको भलो चिताउने हो । यो प्रसङ्गलाई अर्को एउटा उदाहरणबाट प्रष्ट पार्न सकिन्छ । एकजना बच्चा पाँच तलामाथि कौसीको छेउमा कुदेर जान सक्छ जबकि एकजना वयस्कलाई त्यो उचाइबाट तल हेर्दा पनि रिङ्गटा लाग्न सक्छ । अब उक्त बच्चालाई आँटिलो भन्ने कि नभन्ने ? वास्तवमा त्यहाँबाट खस्यो भने के हुन्छ, बच्चालाई त्यसको परिणाम नै थाहा छैन र त उनी मज्जाले कुदिरहेका छन् । किनकि उनी अज्ञानी छन् । त्यसैले उनलाई आँटिलो भन्नु भएन । यदि त्यही ठाउँमा उभिदै वयस्क मान्छे काम गरिरहेको छ भने उक्त वयस्कलाई आँटिलो भन्न सकिन्छ किनभने त्यहाँबाट खस्यो भने के हुन्छ उनलाई परिणाम थाहा छ । हो, यसरी नै हामी पहिला ज्ञानी हुनुप¥यो अनि त्यसपछि पनि हरेक परिणामलाई सहजै ग्रहण गर्न सक्यौं भने बल्ल हामी वास्तविक अथवा दीर्घकालीन आनन्दतिर उन्मुख हुन्छौं । अज्ञानी भएर पाएको आनन्द वास्तविक हुँदैनन् ।
हामी हरेक वर्ष बुद्ध जयन्ती मनाउँछौं । धेरैलाई थाहा छ बुद्धका उपदेशहरू, जस्तै क्रोध, मोह, लोभ त्याग्नुपर्छ । हामीले बोल्ने कुरा भनेको ‘बुद्धले के के भने मलाई पनि थाहा छ’ भनेर भनिरहेजस्तै लाग्छ । उदाहरणको लागि कसैले हामीलाई चित्त नबुझेको कुरा बोल्दा वा गर्दा हामी कतिसम्म रिस थाम्न सक्छांै ? आफूलाई मन नपर्ने मान्छेको दुःखमा कतिसम्म हामी आनन्दित हुन्छौं ? अझ अरू कसैले ‘इग्नोर’ गर्दा किन हामी क्रोधित हुन्छौं ? यहीबाट आफै आफ्नो परीक्षा लिन सक्छांै कि हामीले बुद्धको उपदेशलाई कति ग्रहण गरिरहेका छौं । धर्म पुज्नु होइन, बुझ्नु हो । पुज्नलाई त हामीले अनेकांै जनावरलाई पनि त पुजेकै छौं । सबैले मनन गरौं ।
Leave a Reply