नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाकाले विभिन्न कलेजहरू सञ्चालन गरी भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्ने कोसिस गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्युनिकेसनबारे राष्ट्रिय सम्मेलनको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले कलेजले २०८२ सालमा मात्र २ वटा अन्तर्राष्ट्रिय सम्मेलन र २ वटा राष्ट्रिय सम्मेलन गरी ४ वटा सम्मेलनहरू आयोजना गरिसकेको उल्लेख गर्दै भक्तपुरलाई बौद्धिक छलफल र चिन्तन गर्ने थलोको रूपमा विकास गरिरहेको बताउनुभयो ।
नपाबाट सञ्चालित कलेजहरूले दक्ष इन्जिनियरहरू मात्र होइन इमानदार, अनुशासित र देशभक्त प्राविधिकहरू उत्पादन गर्ने प्रयास गरिरहेको विचार व्यक्त गर्दै उहाँले विभिन्न विषयमा यी कलेजहरूले आयोजना गर्ने सम्मेलनले भक्तपुरको शैक्षिक क्षेत्रलाई उचाइमा पु¥याउने काम गरिरहेको र ज्ञानविज्ञानको केन्द्र बनाउने अग्रजले देख्नुभएको सपना पनि पूरा हुने क्रममा छ भन्नुभयो ।
इन्जिनियरिङ कलेजको सहकार्यमा नपा आफैले अनुसन्धान केन्द्र सञ्चालन गर्न बजेट छुट्याएको बताउँदै ख्वप विश्वविद्यालयलाई देशकै उदाहरणीय नगरपालिकाको रूपमा सञ्चालन गर्ने लक्ष्य नगरपालिकाले लिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्ने अधिकार दिनुपर्ने पक्षमा नेमकिपाले विगतदेखि नै जोड दिँदै आएको बताउँदै उहाँले अनसन्धानकेन्द्रित फरक शैलीमा शिक्षा दिने र उत्पादन श्रमसँग मिल्ने शिक्षा दिने उद्देश्यले ख्वप विश्वविद्यालयको अवधारणा अगाडि आएको विचार व्यक्त गर्नुभयो ।
सम्मेलनको मुख्य उद्देश्य भनेकै विद्यार्थीलाई अनुसन्धानकेन्द्रित भएर काम गर्न उत्साहित गर्ने, समयसँगै प्रतिस्पर्धी विद्यार्थी तयार गर्ने र विश्वलाई योगदान गर्ने जनशक्ति तयार गर्नु हो भन्दै उहाँले कलेज र विश्वविद्यालयहरू अनुसन्धानको केन्द्र हुनुपर्छ भन्ने मान्यताले भक्तपुर नपाले अनुसन्धानमा जोड दिँदै आएको बताउनुभयो ।
नपाको स्वामित्वमा सञ्चालित कलेजहरूमा अनुसन्धानको निम्ति वार्षिक करोडौँको बजेट छुट्याउँदै आएको बताउँदै उहाँले विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा हुने बन्द हडतालले गर्दा शैक्षिक क्रियाकलापमा नकारात्मक असर पार्ने स्पष्ट पार्नुभयो ।
विश्वविद्यालय र कलेजमा शान्तिपूर्ण वातावरण भए मात्र विद्यार्थीहरूले सहज रूपमा पठन पाठन गर्नसक्ने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति बिदेसिँदा देश नै पछाडि परिरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सम्मेलनको उपलब्धि र अनुसन्धानका निष्कर्षबारे व्यापक छलफलको आवश्यकता औँल्याउँदै कलेजका गतिविधिले नगरपालिकाको उद्देश्य पूरा गर्न मद्दत पु¥याइरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले समाजलाई बुद्धिजीवीकरण गर्दै भक्तपुरलाई देशकै उत्कृष्ट सहर बनाउन नगरपालिका प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको आयोजनामा भएको सम्मेलनहरूमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेजलाई थप हौसला मिलेको बताउँदै सम्मेलन विद्यालयकेन्द्रित रहेको र अनुसन्धानलाई अझ परिस्कृत ढङ्गले अगाडि बढाउन प्रयत्न गरिने बताउनुभयो ।
Leave a Reply