सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभा
- फाल्गुन १४, २०८२
भक्तपुर, १३ फागुन । देशका शासकहरूले भक्तपुर इँटा कारखाना, ट्रलिबस, भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना आदि कौडीको मूल्यमा बेचेर देशलाई पराधीन बनाए । कृषि उत्पादनमा जोड नदिएको कारण भारतबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था आयो ।
उक्त भनाई नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार प्रेम सुवालले बुधबार देगमनामा आयोजित चुनावी सभामा व्यक्त गर्नुभएको हो ।
देशमा पर्याप्त विद्युत् उत्पादन गरी ग्याँस आयात कम गराउनेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिँदै उहाँले हरियो वन तस्करको धन बनाउनेमाथि कारबाही गर्नुपर्ने बताउनुभयो ।
जनताको घर खेत–बेची सवारी साधन किन्न लगाउने अर्थमन्त्रीको विचार ठीक नभएको उल्लेख गर्दै उहाँले शासकहरूको गैरजिम्मेवारीको कारण कर्मचारीहरूको तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउनु विडम्बना हो भन्नुभयो ।
सहकारी ठगहरू पनि निर्वाचनमा उम्मेदवारी बनेकोतर्फ नेपाली जनता सचेत हुनुपर्ने कुरा स्पष्ट पार्दै उहाँले पारित नागरिकता विधेयकले भारतीयहरू नेपालको प्रमुख पदमा पुग्ने अवस्था आउनेतर्फ सचेत गराउनुभयो ।
“ठुला दलहरूले पारित गरेको एमसीसी नेपाल र नेपालीको हितमा छैन । विद्युत्को साँचो भारतको हातमा दिने काम र अमेरिकी नीति तथा कानुन पालना गर्नुपर्ने एमसीसी देशघाती कदम हो”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले हरेक मतदाताले वर्गीय शत्रु र मित्र पहिचान गरी मतदान गर्न आग्रह गर्दै शासक दलहरूको अकर्मण्यताको कारण देश रसातलमा पुगेको बताउनुभयो ।
शासक दलहरूले देशलाई तहसनहस बनाइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता नहुने विचार व्यक्त गर्नुभयो ।
देशको बेहाल र सङ्कट अवस्थाबाट मुक्त हुन नेपाली जनता बेलैमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले लोभलालचमा नफस्न आग्रह गर्नुभयो ।
नेमकिपा भनसका गङ्गाराम ज्याख्वले नेमकिपाले चुनावलाई उपयोग गर्दै देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपा वडा नं. ३ समितिका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा भएको उक्त सभामा नेक्राविसङ्घका सगुन धन्छा, वितिषा बाटी र रामसुन्दर त्वायनाले पनि बोल्नुभएको थियो ।
सभामा श्रमिक कला सदनबाट गीत प्रस्तुत गरिएको थियो ।
Leave a Reply