भर्खरै :

अमेरिका–इजरायल र इरानबिचको युद्धमा तानिएलान् खाडी देश ?

  • फाल्गुन २१, २०८२
  • उरुबा जमाल
  • विचार
अमेरिका–इजरायल र इरानबिचको युद्धमा तानिएलान् खाडी देश ?

जब इरानी क्षेप्यास्त्र वा तिनका अवशेष यसै सप्ताहन्तमा खाडी देशका राजधानी र प्रमुख सहरमा खस्न थाले, तिनले त्यहाँका सिसा र कंक्रिट मात्र होइन, ती देशले वर्षौं लगाएर निर्माण गरेको स्थिरताका केन्द्रको छवि पनि चकनाचुर भएको छ । अहिले त्यस भेगका देशले विश्लेषकले भन्ने गरेको असम्भव विकल्प सामना गरिरहेका छन्, इरानमाथि जवाफी प्रहार गरेर इजरायलको पक्षमा उभिएर जोखिम उठाउने कि आफ्ना जलिरहेका सहर चुपचाप हेरेर बस्ने ?
ती देशका क्षितिज धुवाँले ढाकिएको अवस्थामा पनि क्षेत्रीय समूहले संयमताको आह्वान गरिरहेको छ । आफूले नचाहेको युद्धमा तानिन नहुने र संयमताको आह्वान गर्नेमा खाडी राष्ट्रको जोड छ । दोहास्थित ‘गल्फ टाइम्स’ का प्रधान सम्पादक फैसल अल–मुदाहकाले यसै कुरालाई जोड दिँदै भने, ‘अहिले चलिरहेको युद्ध इजरायल र अमेरिकाको युद्ध हो । यसको खाडी देशसँग कुनै सरोकार छैन । हामी खालि आफ्नो भूराजनीतिक स्थितिका कारण बिचमा परेका हौँ ।’
शनिबारदेखि अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेका छन् । सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र अन्य वरिष्ठ सैन्य अधिकारी मारिएका छन् । इरानका सैन्य र सरकारी भवन आक्रमणमा परेका छन् । जवाफमा तेहरानले इजरायल र खाडीभर छरिएका अमेरिकी सैन्य आधारमाथि मिसाइल र ड्रोन हानिरहेको छ । आक्रमणबाट संयुक्त अरब इमिरेट्स (युएई) मा कम्तीमा तीनजना मारिएका छन् ।
इरानी मिसाइल वा तिनका भग्नावशेषले खाडीका दुबईको विमानस्थल, मनामाको अग्ला भवन र कुवेतको विमानस्थलमा असर गरेको छ । साउदी अरेबियाका अनुसार इरानले रियाद र यसको पूर्वी भेगमा पनि क्षेप्यास्त्र आक्रमण ग¥यो । कतारका अनुसार इरानी आक्रमणमा उसको भूमिमा १६ जना घाइते भएका छन् । जबकि ओमानमा पाँच जना, कुवेतमा ३२ जना र बहराइनमा चारजना घाइते भएका छन् । घटनाबिच युएईले इजरायलका लागि आफ्नो देशका राजदूतलाई पनि फिर्ता बोलायो, जसले खाडी देशको निराशालाई सङ्केत गर्छ ।
रोक्न खोजेको युद्ध भड्कियो
खाडी देशले यो टकराव चाहेका थिएनन् । इरानमाथि आक्रमण हुनुभन्दा अघिल्लो सातासम्म ओमानले वासिङ्टन र तेहरानबिच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरिरहेको थियो । ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले तेस्रो चरणको वार्तापछि सकारात्मक हुँदै तेहरान भविष्यमा प्रशोधित युरेनियम भण्डारण नगर्न र भएका समृद्ध युरेनियमलाई पनि नष्ट गर्न तयार रहेको बताएका थिए । तर, त्यसको केही घण्टापछि अमेरिका र इजरायलले आक्रमण सुरु गरे ।
गल्फ टाइम्सका प्रधान सम्पादक अल–मुदाहकाले ओमनले ‘ओबामाले गरेकोभन्दा उत्तम सम्झौता’ दिलाउन लाग्दालाग्दै पनि युद्ध सुरु गरिएकोप्रति प्रश्न गरे । कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीले इरानविरुद्ध युद्ध भए खाडी सैन्य आधार प्रयोग नगर्न वासिङ्टनलाई मनाउने प्रयास गरेको बताए । त्यस्तै, अल–मुदाहकले इरानको जवाफी आक्रमणको पनि आलोचना गर्दै भने, ‘तेहरान आफ्नो नेतृत्व गुमाएपछि आतङ्कित भएर हमला गरिरहेजस्तो छ ।’ आफूहरूले खाडी देशमा नभई तिनका अमेरिकी आधारमा हमला गरिरहेको भन्ने इरानी स्पटोक्तिलाई ‘अन्तर्राष्ट्रिय सम्बन्धको बुझाइको कमी’को रूपमा अथ्र्याए ।
कठिन विकल्प
द्वन्द्वबाट टाढा रहने खाडीको चाहनाका बाबजुद अहिले यो भेगका देशले पीडादायी द्विविधाको सामना गरिरहेको विश्लेषकहरूको बुझाइ छ । ‘खाडी देशका नेताले यो युद्ध रोक्न महिनौँ नभए पनि हप्तौँदेखि प्रयास गरेका थिए । त्यस्तै तिनलाई यो पनि थाहा थियो कि इरानी शासकले हार स्विकार्नुसट्टा आफ्नो खाडी छिमेकलाई बन्धक बनाउन रुचाउनेछन्,’ न्युयोर्क विश्वविद्यालय अबुधाबीमा मध्यपूर्व राजनीतिकी प्राध्यापक मोनिका मार्कस्ले बताइन् । किंग्स कलेज लन्डनका लेक्चरर रोब गेइस्ट पिनफोल्डले पनि खाडी देशले सैन्य कारबाही रोक्न कडा मिहिनेत गरेको सहमति जनाए । त्यस पृष्ठभूमिमा इरानविरुद्ध युद्धमा सामेल हुनु ‘इजरायलीसँग मिलेको देखिनु हुने’ र यसले तिनको वैधतामाथि गम्भीर चुनौती ल्याउनेछ ।
तैपनि, निष्क्रिय रहनु फेरि आफैँमा जोखिमपूर्ण विकल्प हो । पिनफोल्डले खाडी देशले सामना गरिरहेको पीडादायी द्विविधाबारे बताउँदै भने, ‘इरानले पटक–पटक आक्रमण गर्दा पनि केही नगर्नु पनि फेरि युद्धमा प्रवेश गर्नुजत्तिकै हानिकारक छ । उनीहरू खासमा आफ्ना जनताको रक्षा गरेको र आफ्नो भूमि तथा सार्वभौमिकताको रक्षा गर्ने शक्तिका रूपमा देखिन चाहन्छन् ।’ यस्तोमा खाडी देशले ‘पेनिन्सुला सिल्ड फोर्स (पिएसएफ)’ जस्तो निकायमार्फत एकीकृत रूपमा कारबाही बढाउन सक्ने पिनफोल्डले बताए । पिएसएफ सन् १९८४ मा स्थापित एकीकृत सेना हो, जुन सन् २०१३ मा एकीकृत सैन्य कमान्डमा विकास भयो । ‘उनीहरू इजरायलको पक्षबाट नलडेको देखाउन पनि यो विकल्प रोज्न बाध्य हुन सक्छन्,’ पिनफोल्डले थपे ।
दुःस्वप्न परिदृश्य
तत्कालीन खाडी नेताका लागि सबैभन्दा ठुलो चिन्ता आफ्ना पूर्वाधारमा केन्द्रित छ । ‘विशेषतः पावर ग्रिडहरू, समुद्रको पानी शुद्ध पार्ने डिसेलिनेसन प्लान्टहरू र ऊर्जा पूर्वाधारहरूलाई तिनले नाजुक पूर्वाधार मान्छन् । हुन पनि अरबको गर्मीमा वातानुकूलित अवस्था सिर्जना गर्न ऊर्जा र पानी डिसेलिनेसनविना बसोबास निकै कठिन हुन्छ,’ मोनिका मार्कस्ले भनिन्, ‘ऊर्जा पूर्वाधारबिना तिनको नाफाको स्रोत नै सुक्छ । खाडी राज्यले ती क्षेत्र खतरामा पर्नेजस्तो लागेमा आवश्यक कदम चाल्न सक्छन् ।’
गल्फ टाइम्सका अल–मुदाहकाले अहिलेको सङ्कटको परिणाम खाडीभन्दा धेरै टाढा पनि महसुस हुने बताए । ‘विश्वको ऊर्जाको सो¥ह प्रतिशत कतार एक्लैबाट आउँछ । त्यस्तै विश्वव्यापी तेलको ३३ प्रतिशत हिस्सा स्ट्रेट अफ हर्मुजबाट बाहिरिनुपर्छ । यो विश्वको ऊर्जा आपूर्तिको सबैभन्दा महत्वपूर्ण भूराजनीतिक स्थान हो । यदि यहाँ केही भयो भने, ओसाकाको बिजुली अवरुद्ध हुनेछ । चीनमा इन्धनको मूल्य बढ्नेछ । के अमेरिकीहरू २०० डलर प्रतिब्यारेल तेलमा खुसी हुनेछ ?’ अल–मुदाहकाले भने । पिनफोल्डका अनुसार अहिलेको सङ्कटले खाडी क्षेत्रमा निम्त्याउने गम्भीर समस्या प्रतिष्ठाको हुनेछ । अर्थात्, खाडी राज्यले वर्षौं लगाएर निर्माण गरेको सफ्ट पावर थियो कि यो क्षेत्र पर्यटन, लगानीका लागि अत्यन्त सुरक्षित भन्ने । त्यसमा अहिले गम्भीर धक्का लागेको छ ।
त्यसबाहेक वर्तमान सङ्कटले क्षेत्रीय सुरक्षा गतिशीलतामा पनि नाटकीय परिवर्तन ल्याउनेछ । वर्षौंदेखि, खाडी राज्यले यमनमा हुथी वा लेबनानमा हिजबुल्लाहजस्ता गैरराज्य शक्तिप्रति आफ्नो चिन्ता केन्द्रित गर्दै आएका छन् । अब त्यसमा परिवर्तन भएको छ । ‘मध्यपूर्वमा फेरि राज्य–राज्यबिचको युद्धको धेरै पुरानो प्रतिमान फर्किएको छ,’ अहिलेका लागि, खाडी राज्य द्रुत गतिमा शक्ति सञ्चय गर्नमा व्यस्त छन् । उनीहरूको आगामी कदम इरानले उनीहरूलाई तनाव कम गर्ने अवसर दिने–नदिनेमा निर्भर गर्नेछ ।
(जमाल मध्यपूर्व र उत्तर अफ्रिकाबारे लेख्छिन् ।)

अलजजिराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *