ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ३० वर्षदेखि औपचारिकरूपले सदन, सडक र साहित्यमा निरन्तर नेपालको अर्थतन्त्रबारे गम्भीर भएर आफ्नो विचार प्रकट गर्दै आएको छ । विदेशमा पठाइएका युवाहरूको ज्यालाको रूपमा आउने ‘रेमिट्यान्स’ वा विप्रेषणलाई देशको अर्थतन्त्रको आधारको रूपमा अर्थमन्त्री र सरकारहरूले बढी महत्व दिएर बयान गर्थे । त्यस बयानबाजीको विरोधमा नेमकिपाले संसद्, सडक र अनेक बैठकहरूमा विप्रेषण अर्थतन्त्रको आधार हुन नसक्ने भन्दै त्यसको खण्डन गर्दै आएको हो ।
त्यस्तै, पर्यटनबाट आउने आयस्रोतले देशको अर्थतन्त्रलाई पनि धेरै भरोसाको रूपमा रहेको भनी अर्थमन्त्री र सरकारहरूले बढी आशावादी भएर भाषण गर्थे र ठुलठुला लेखहरू ‘गोरखापत्र’ र अन्य पत्रपत्रिकाहरूमा छापिन्थे । ती सरकारी अभिव्यक्तिहरूको विरोधमा पनि सधैँ नेमकिपाले नबिराईकन खण्डन र विरोध गरिरहेको छ । तर, ‘राष्ट्रिय’ भनिने ठुला र शासक दलहरूले संसद्मा निर्वाचित प्रतिनिधिहरूको ३ प्रतिशत नपुग्नेहरूलाई ‘राष्ट्रिय’ दल होइन भनी ‘अराष्ट्रिय’ घाउ (विचार) मा मलमपट्टी लगाउने काम गर्दै आएका छन् । आज देश ‘राष्ट्रिय’ को को हुन् र ‘अराष्ट्रिय’ कस्ता कस्ता हुन्छन् भनी सोच्नुपर्ने स्थितिमा आइपुगेको अनुभव सर्वत्र गरिँदै छ ।
प्रसङ्ग हो – के ‘रेमिट्यान्स’ र ‘पर्यटन’ उद्योगको रकमले देशलाई आर्थिक रूपले सबल बनाउँछ ? भन्ने हो । हो, यदि नेपाल पनि आर्थिक रूपले विविध क्षेत्रमा अर्थात् उद्योग, व्यापार, बन्दरगाह वा हङकङ र बैङ्ककजस्तो ‘ट्रान्जिट’ वा बिसौनीको सुविधा भएको देश भए केही हदसम्म त्यसको पनि आड भरोसा हुन्थ्यो । नेपालको वर्तमान स्थितिमा दुई छाक खाना, खाजा, तरकारी र फलफूलको निम्ति पनि अरू देशको भरमा बस्नुपरेको अवस्था छ । त्यसैले हाम्रा युवाहरूले पठाउने विदेशी मुद्रा (रेमिट्यान्स) को आधारमा हाम्रो देशले सम्पन्नता र समृद्धि हासिल गर्न सक्ने छैन ।
त्यस्तै, पर्यटकहरू विभिन्न कारणले आएनन् भने हाम्रो देश र जनताको बेहाल हुनेछ । उदाहरणको निम्ति संसारको अर्थतन्त्रमा दोस्रो बलियो देश मानिएको जापान ‘कोरोना’ का कारण विदेशी व्यापार र पर्यटन उद्योग बन्द हुनासाथ त्यो देश आर्थिक रूपले तेस्रो स्थानमा झर्नुप¥यो ।
त्यस्तै, व्यापार र यातायात अगाडि बढेका छिमेकी देशहरूमा युद्ध भयो भने जापानीहरूको रेमिट्यान्स र पर्यटकहरूबाट आउने आम्दानी पनि बन्द हुने छन् र देशले आर्थिक सङ्कट भोग्नुपर्नेछ । नेपाल एक धान, चामल, दाल, घ्यु र तरकारी आदि खाद्यान्न निर्यात गर्ने देश थियोे भने अहिले खाद्यान्न र तरकारीमा समेत भारत निर्भर छ । भारतसँगको नेपालको व्यापार अहिले नेपाली रुपैयाँले होइन डलरको हिसाबमा हुन्छ । ‘रेमिट्यान्स’ र ‘पर्यटक’ हरूबाट आउने विदेशी मुद्रा आएन भने देश बाँच्ने कसरी भन्ने प्रश्न तडकारो रूपले अगाडि आउँदै छ ।
मानिस उभिन भूमि चाहिन्छ । अर्थात्, नेपाली जनता उभिन पनि जमिनमा टेक्नु आवश्यक हुन्छ । घर बनाउन र दुई छाक खाना जमिनबाट आउने पक्का भएमात्र नेपाली जनता बाँच्ने आधार प्राप्त हुनेछ । विभिन्न कारणले नेपालले आफ्नो देश जोगाउनु परे पनि जमिनबाट उत्पादन हुने नेपाली खाना खाएर जमिनकै भरमा हामीले देश जोगाउन सक्नेछौँ । देश जोगाउन पनि बलिष्ठ र तालिम प्राप्त युवा आवश्यक छ । योग्य युवाहरूको लाखौँ वा एक–तिहाइ जनसङ्ख्यालाई विदेशमा पठाएर के हाम्रो देशको कल्याण होला भन्ने शङ्का पहिलेदेखि नै नेमकिपाले उठाउँदै आएको हो – छलफलको निम्ति !
नेपालले केही वर्षभित्र भूकम्प, कोरोना महामारी र आज अरब क्षेत्रका अमेरिका–इजरायलले सुरु गरेको आक्रमण र युद्धले तत्काल सारा अरब मुलुक, दक्षिण एसियाली देश र युरोपेली मुलुकहरूलाई झस्काएको छ । ती देशहरू बरोबर युद्धको अनुभव भएका मुलुकहरू पनि भएकाले बारम्बार आफूलाई सुरक्षित गर्न तिनीहरू अभ्यस्त छन् । नेपाल बेलायतीहरूको आक्रमणपछि वा सुगौली सन्धिपछि राज्यले ठुलो युद्ध खप्नु परेको छैन र सानातिना घरेलु युद्धले सेना र प्रहरीलाई तालिम र सचेत पार्न अवसर मिलेको अनुभव गर्छन् – मानिसहरू !
नेपालले बाहिरी कारण र रोग–ब्याधी–भूकम्प वा अन्य प्राकृतिक विपत्तिको पनि सामना गर्न नेपाली जनताको पेट भर्नु आवश्यक छ । त्यसको निम्ति पनि कृषिलाई प्राथमिकता दिनु बुद्धिमानी हुनेछ र अरूको भरमा बाँच्नुभन्दा स्वावलम्बी हुनु इज्जत र प्रतिष्ठासँगै नेपाल र नेपाली जनता शिर ठाडो पारेर बाँच्नेछन् र अरूको अगाडि शिर झुकाउनुपर्नेछैन ।
Leave a Reply