भर्खरै :

पार्टीको खोलभित्र हराएको राजनीति

पार्टीको खोलभित्र हराएको राजनीति

कसैकसैले भनेको कुरा– “फलानो पार्टी त राम्रो हो” भन्ने सुन्दा जति सामान्य लाग्छ, यसले हाम्रो राजनीतिक चेतनाको एउटा ठुलो कमजोरीलाई उजागर गरिरहेको हुन्छ । त्यसो भन्नुको अर्थ, हामी प्रायः पार्टीलाई एउटा निर्जीव मूर्ति वा कहिल्यै गल्ती नगर्ने एउटा अलौकिक शक्ति जस्तो मान्नु हो । तर वास्तविकता यो होइन । पार्टी आफैँमा कुनै भौतिक वस्तु होइन, न त यो कुनै स्वयंसिद्ध सत्य नै हो । यो त एउटा अमूर्त अवधारणा हो, एउटा साझा परिचय दिने झन्डे चिह्न मात्र हो । वास्तवमा, राजनीतिमा पार्टी भनेको एउटा मञ्च मात्र हो, जसको सार्थकता त्यहाँभित्रको सिद्धान्त र त्यसलाई व्यवहारमा उतार्ने पात्रहरूमा निर्भर हुन्छ ।
कुनै पनि राजनीतिक दलको अस्तित्वको पहिलो सर्त त्यसको सिद्धान्त हो । सिद्धान्त भनेको त्यो मार्गचित्र हो, जसले समाजलाई कुन दिशामा लैजाने भन्ने कुराको निर्धारण गर्छ । एउटा बलियो घर निर्माण हुनका लागि त्यसको जग बलियो हुनुपर्छ, त्यसैगरी एउटा राम्रो पार्टी बन्नका लागि त्यसको वैचारिक धरातल स्पष्ट हुनुपर्छ । यदि सिद्धान्त नै जनपक्षीय छैन, सामाजिक न्यायको पक्षमा छैन वा केवल सत्ता प्राप्तिको औजारमात्र बनेको छ भने, त्यस्तो पार्टीको बाहिरी आवरण जतिसुकै चम्किलो भए पनि त्यसले समाजलाई केही दिँदैन । त्यसैले, पार्टीलाई राम्रो भन्नुअघि त्यसले बोकेको दर्शन र नीतिको गहिराइ नाप्नु अनिवार्य छ । सिद्धान्तबिनाको राजनीति केवल एउटा दिशाहीन यात्रा हो, जसले देशलाई कता पु¥याउँछ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।
तर फेरि सिद्धान्त मात्रै आफैँमा पर्याप्त हुँदैन । कागजमा लेखिएका सुन्दर शब्दहरूले मात्र जनताको पेट भरिँदैन न त देशको विकास नै हुन्छ । ती सिद्धान्तलाई जीवित बनाउने र तिनलाई व्यवहारमा लागू गर्ने जिम्मा नेता र कार्यकर्ताको काँधमा हुन्छ । नेता र कार्यकर्ता भनेका पार्टीका रक्तसञ्चार हुन् । यदि रगत नै प्रदूषित भयो भने शरीर स्वस्थ रहन सक्दैन । एउटा उत्कृष्ट सिद्धान्त भएको पार्टीमा यदि भ्रष्ट, स्वार्थी र अदूरदर्शी नेतृत्व पुग्यो भने त्यो सिद्धान्तको अस्तित्व समाप्त हुन्छ । कार्यकर्ताहरू जब आफ्ना नेताका कमजोरीलाई ढाकछोप गर्ने ‘अन्धभक्त’ बन्न पुग्छन्, तब पार्टी एउटा वैचारिक सङ्गठनबाट झरेर एउटा स्वार्थ समूह वा ‘क्लब’ मा परिणत हुन्छ । त्यसैले, पार्टीलाई राम्रो बनाउनु छ भने पहिला त्यहाँभित्रका मानिसहरूमा नैतिकता, इमानदारी र काम गर्ने हुटहुटी हुनुपर्छ ।
हामीले बुझ्नुपर्ने अर्को महत्वपूर्ण पक्ष के हो भने, पार्टी एउटा साधनमात्र हो, साध्य होइन । जब मानिसहरूले पार्टीलाई नै साध्य मान्न थाल्छन्, तब उनीहरूमा “मेरो पार्टीले जे गरे पनि ठीक” भन्ने सङ्कीर्ण सोच पलाउँछ । यही सोचले नै राजनीतिलाई विकृत बनाएको छ । पार्टी त केवल एउटा औजार हो, जसको प्रयोग देश र जनताको हितका लागि गरिनुपर्छ । यदि औजारले काम गर्न छाड्यो वा त्यसले क्षति पु¥याउन थाल्यो भने त्यसलाई मर्मत गर्ने वा बदल्ने आँट नागरिकमा हुनुपर्छ । पार्टीको चिह्न वा झण्डाको पूजा गरेर मात्रै समाज बदलिँदैन । समाज बदल्न त त्यही झण्डामुनि गोलबद्ध भएका मानिसहरूको नियत र उनीहरूले गर्ने कामको नतिजा राम्रो हुनुपर्छ ।
निष्कर्षमा, पार्टी आफैँमा असल वा खराब हुने कुनै जादुमयी शक्ति होइन । यो त एउटा संरचना मात्र हो । यदि यसको जगमा उभिएको सिद्धान्त जनमुखी छ र त्यो सिद्धान्तलाई इमानदारीका साथ कार्यान्वयन गर्ने नेता तथा कार्यकर्ताहरूको टोली सक्षम छ भने, पार्टी त स्वतः राम्रो भइहाल्छ । राम्रो हुनका लागि विज्ञापन वा चर्को नाराको आवश्यकता पर्दैन, बरु स्पष्ट विचार र उत्कृष्ट चरित्रको आवश्यकता पर्छ । त्यसैले, अब हामीले “यो पार्टी राम्रो” भनेर कसैको अन्धभक्ति गर्नुभन्दा पनि त्यस पार्टीभित्रको विचारको गहिराइ र नेतृत्वको इमानदारीलाई जाँच्न सिक्नुपर्छ । पार्टीलाई एउटा निर्जीव चिह्नका रूपमा होइन, एउटा गतिशील र जवाफदेही विचार प्रवाहका रूपमा बुझ्नु नै साँचो अर्थमा राजनीतिक सचेतता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *