भर्खरै :

मध्यपूर्वको द्वन्द्व रोक्न कूटनीतिक पहल अपरिहार्य

मध्यपूर्वको द्वन्द्व रोक्न कूटनीतिक पहल अपरिहार्य

अन्ततः अमेरिका र इजरायलले इरानभर असङ्ख्य लक्ष्यहरूमा आक्रमण गरेपछि मध्यपूर्वमा प्रतिशोधपूर्ण हमला तीव्र भएका छन् । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनी र उनको परिवारका सदस्यसहित दर्जनौँ वरिष्ठ इरानी अधिकारी मारिए । इजरायलले एक बालिका विद्यालयमा गरेको हमलामा कम्तीमा १४८ बालिकाको नरसंहार भयो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) ले बदलामा इजरायली सैन्य सम्पत्ति र मध्यपूर्वमा रहेका २७ अमेरिकी आधारलाई लक्षित गर्दै ‘व्यापक मिसाइल र ड्रोन’ आक्रमणको छैटौँ लहर घोषणा ग¥यो । अमेरिका–इजरायलको इरानमाथिको हमला र तेहरानको प्रत्याक्रमण बुधबार पनि जारी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्नुअघि न त अमेरिकी कङ्ग्रेसको स्वीकृति प्राप्त गर्ने प्रयास गरे, न त संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई नै पछ्याए । र, आक्रमण तेहरान र वासिङ्टनबिच वार्ता भइरहेका बेला गरियो । इरानका आणविक गतिविधिलाई लिएर वासिङ्टन र तेहरानबिच शृङ्खलाबद्ध रूपमा वार्ता भएका थिए । यो अमेरिकी र अन्तर्राष्ट्रिय कानुन दुवैको हिसाबले अवैध युद्ध हो । यो युद्धलाई कसैको पनि समर्थन हुँदैन । ट्रम्पको यो युद्धले विश्वलाई नै अशान्तिको भुमरीमा फसाउने सम्भावना छ ।
अमेरिकी राष्ट्रपतिले बारम्बार इरानलाई आणविक हतियार विकास गर्न अनुमति दिन नसकिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाले रिपोर्ट गरेको छ कि गत वर्षको द्वन्द्वको समयमा प्रभावित प्रमुख स्थलमा इरानले पहुँच अस्वीकार गर्दा तेहरानको युरेनियम कार्यक्रमबारे संशय बढेको थियो । तर, तेहरानले सबै युरेनियम संवर्धन निलम्बन गरेको छ । उसले समृद्ध युरेनियम भण्डारको हालको आकार र संरचनालाई पुन विकसित गरेको ठोस प्रमाण भेटिएको छैन । यद्यपि, पछिल्लो चरणको वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा ‘राम्रो प्रगति’ भएको बताएका थिए । इरानले आफ्ना आणविक गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा देशहरूले उसमाथि लगाउँदै आएको प्रतिबन्धमा केही खुकुलो गरेका थिए, जसका कारण उसले धेरै हदसम्म राहत अनुभूत गरेको थियो ।
यसअघि इरानका आणविक गतिविधिलाई न्यून गर्ने तहमा सम्झौताको मनस्थितिमा पुगेको अमेरिकाले अहिले तेहरानको सत्तापलट गरिदिएको छ । अहिले इरानका विभिन्न सहरमा बम खसिरहेका छन्, आक्रमणबाट बच्न मानिसहरू सुरक्षित स्थानको खोजीमा छन् । मध्यपूर्वमा रहेका अमेरिकी आधारलाई तेहरानले निसाना बनाइरहेको छ । विभिन्न देशबाट मध्यपूर्वका विभिन्न देशमा रोजगारीका लागि गएका कामदार र तिनका परिवार चिन्तामा छन् । त्रासदीहरू आगामी दिनमा अझै बढ्नेछन् र निर्दोषहरूले दुःख भोग्नेछन् । युद्ध जति लम्बिन्छ, यस क्षेत्रमा रहेका मानिसहरू त्राहिमाम भएर बाँच्नुपर्नेछ । अमेरिका–इजरायल हमलालाई यसरी व्याख्या गर्न सकिन्छः यो बन्दुकको नालमा मध्यपूर्व र व्यापक मुस्लिम संसारलाई पुनः आकार दिन अमेरिका र इजरायली दक्षिणपन्थीद्वारा लामो समयदेखि चालिरहेको अभियानको अन्तिम बिन्दु थियो । सन् १९४१ मा बेलायत र सोभियत सङ्घले रेजा शाह पहलबीलाई पदच्यूत गरेदेखि र सन् १९५३ मा सिआइए र एमआई ६ ले इरानका लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेघलाई पदच्यूत गर्न विद्रोह गरेदेखि देशलाई अस्थिर बनाएको विनाशकारी विदेशी हस्तक्षेपको शृङ्खलामा यो अर्को अंश हो ।
यस आक्रमणको परिणाम समग्र विश्वका लागि भयानक हुने सम्भावना छ । युद्ध जारी रहे मृत्यु र घाइते हुनेको सङ्ख्या हामीले कल्पना गरेभन्दा ठुलो हुनेछ । मानवीय र भौतिक क्षतिले यस क्षेत्रलाई वर्षौँपछाडि धकेल्नेछ । यो स्पष्ट छ कि इस्लामिक गणतन्त्रले यसलाई अस्तित्वगत खतराका रूपमा हेरिरहेको छ । ठुलो क्षति बेहोरेसँगै तेहरानले यस क्षेत्रमा रहेका आफ्ना सहयोगी, यमनका हुथी, इराकको पपुलर मोबिलाइजेसन फोर्स र लेबनानमा रहेको हिजबुल्लाहलाई सहयोगका लागि आह्वान गर्नेछ । त्यसो त यी समूह र विद्रोही सङ्गठन पछिल्लो समय केही कमजोर देखिए पनि यिनले यस क्षेत्रमा द्वन्द्व विस्तार गर्ने क्षमता राख्छन् ।
इरानले पहिले नै सङ्केत गरिसकेको छ कि उसले हर्मुजको प्रमुख तेलमार्ग बन्द गर्न सक्छ, जहाँबाट विश्वको करिब एकचौथाइ तेल र एकतिहाइ तरल प्राकृतिक ग्यासको पारबहन हुन्छ । परिणामस्वरूप, तेलको मूल्य अकासिन सक्छ र विश्व अर्थतन्त्र प्रभावित हुनेछ । युरोपेली राजधानीहरूमा रहेका मुस्लिमले यो युद्धलाई अमेरिका र इजरायलको तर्फबाट स्पष्ट आक्रमणको रूपमा हेर्नेछन् । ट्रम्प र नेतान्याहुले चाहेको दिशामा विश्वव्यापी जनमत सजिलै प्रभावित हुनेछैन । यसले अमेरिका र युरोपभर टकराव मात्र होइन, अमेरिका र विशेष गरी ट्रम्प प्रशासनविरुद्ध चर्को असन्तुष्टि बढ्नेछ ।
तसर्थ, ट्रम्प र नेतान्याहुको इरानमाथिको आक्रमणले विश्वलाई गहिरो सङ्कटमा फसाउनेछ । यसले थप शरणार्थी समस्या, आर्थिक उथलपुथल, थप आघात, मृत्यु र विनाश निम्त्याउनेछ । अब एक मात्र आशा यो छ कि विश्वका नेताहरूले मात्र ठन्डा दिमागले यो द्वन्द्वलाई नियन्त्रण गर्न र ट्रम्प र नेतान्याहुका कार्यमाथि अङ्कुश लगाउन सक्छन् । तसर्थ, अहिलेको पहिलो आवश्यकता कूटनीतिलाई प्राथमिकता दिनु हो । अवैध युद्ध सुरु गरेर शासन परिवर्तनलाई जबर्जस्ती सत्तापलट गर्नु मूर्खतापूर्ण छ ।
(अदिब मोघद्दाम लन्डन विश्वविद्यालयका प्राध्यापक हुन् ।)

– द कन्भर्सेसनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *