ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार सम्पन्न भयो । केही निर्वाचन क्षेत्रमा विवाद, झडपका घटनाहरू घटे पनि, केही स्थानमा झडपकै कारण गोली चले पनि निर्वाचन समग्रमा शान्तिपूर्ण रह्यो । यो निर्वाचनलाई नेमकिपाले जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भनेको छ । जनता आमूल परिवर्तनको पक्षमा छन् कि छैनन् भन्ने जाँच्ने एक कसी हो निर्वाचन । जनताको भावना बुझ्ने यो निर्वाचन समग्रमा शान्तिपूर्ण हुनु सकारात्मक पक्ष हो । केही दिन अघिसम्म ठुला दलका केही नेताहरूले निर्वाचन नहुने सङ्केत गरेका थिए । उनीहरूले निर्वाचनको वातावरण तयार नभएको बताएका थिए । सुरक्षा व्यवस्थामाथि पनि उनीहरूले शङ्का व्यक्त गरेका थिए । निर्वाचन भएमा राजनीतिबाट सन्न्यास लिने नेताहरू पनि देखिए ।
यो पुँजीवादी व्यवस्थाको निर्वाचन हो । पुँजीवादी व्यवस्थाको यो निर्वाचनमा जुनसुकै दलको नेतृत्वमा सरकार गठन भए पनि श्रमजीवी जनताको पक्षमा ऐन कानुन बनाउने विश्वास जनतामा छैन । पुँजीवादी विचार बोकेको दलको सरकारले कहिले पनि आमूल परिवर्तन गर्दैन; आमूल परिवर्तनको बाटो कोर्ने छैन । कुनै पनि दल पुरानो हुँदैमा गलत हुने र नयाँ दल हुँदैमा सही हुन्छ भन्ने कुरा होइन । पुरानो र नयाँ दल सही मापदण्डको आधार होइन । जनताको असन्तोष पुरानो दलप्रति होइन शासकहरूप्रति हो । विगतका शासकहरू देश र जनताप्रति जिम्मेवार नभएका कारण जनतामा असन्तोष बढेको हो ।
निर्वाचनमा निर्वाचन केन्द्र हातमा लिने, धम्क्याउने, आफ्नो पक्षमा पार्न उत्तेजित बनाउने गतिविधि यदाकदा भएको देखियो । निर्वाचनको अघिल्लो दिन पैसा बाँडेको, निर्वाचन भड्काउनेहरू पक्राउ परेको खबर पनि सञ्चारमाध्यममा आयो । आचारसंहिता उल्लङ्घन गरेको कुरा पनि जानकारीमा आयो । जुन दलको नेतृत्वमा सरकार गठन भए पनि बहुमत जनताको भावनाबमोजिमको काम गर्ने सरकार गठन हुनेछैन । अतः विगतमा झैँ अहिले पनि सरकारको कमी कमजोरीविरुद्ध संसद्मा खबरदारी गर्नुपर्ने हुन्छ । नेमकिपाले प्रखर प्रतिपक्षमा रहेर सरकारलाई जनताको माग सम्बोधन गर्न र गराउनको निम्ति आवाज उठाइरहने जनाएको थियो । नेपालको भविष्य र नेपालीप्रतिको उत्तरदायित्व बहन गर्ने पार्टीले इमानदारीपूर्वक काम गर्नेछ । तर, जनतामा सैद्धान्तिक र वैचारिक स्तर नभएको कारण अहिले पनि कति मतदाता लहैलहैमा लागेका छन्; पैसामा बिकेका छन् । यसको कारण गलत उम्मेदवार जित्ने सम्भावना हुन्छ ।
जनताले मतदान गर्ने आधार दलको घोषणापत्र र प्रतिबद्धता पत्र हो । दलको घोषणापत्र र प्रतिबद्धता पत्र हेरेर मतदान गर्ने मतदाता पनि छन् । किनभने, यो निर्वाचन विचारको प्रतिस्पर्धा पनि हो ।
यो प्रतिनिधिसभाको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । देशभर १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र रहेका छन् । पुरुष मतदाता ९६,६३,३५८ र महिला मतदाता ९२,४०,१३१ रहेका छन् । यो निर्वाचनमा प्रत्यक्षतर्फबाट १६५, समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी २७५ प्रतिनिधिसभा सदस्य पदको लागि निर्वाचन भएको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल उम्मेदवार ३४०६ छन् । त्यसमध्ये राजनीतिक दलका उम्मेदवार २२६३ र स्वतन्त्र उम्मेदवार ११४३ रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल उम्मेदवार ३१३५ रहेका छन् । त्यसमध्ये पुरुष उम्मेदवार १३६३ र महिला उम्मेदवार १७७२ रहेका छन् । निर्वाचन आयोगका अनुसार देशभरमा झन्डै ६० प्रतिशत मत खस्यो ।
विगतको निर्वाचनभन्दा यो निर्वाचनमा मतदान गर्ने मतदाताको सङ्ख्या कम रह्यो । यसबारे जनतामा मतदान गर्नेप्रति चासो नभएको या निरासा छाएको विश्लेषण गरिएको छ । मतदान गर्ने सङ्ख्या कम हुनुमा नेपाली बिदेसिनु पनि हो । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकेन । ठुला र सरकारमा गएका दलहरूको चुनावी प्रचारशैली गलत भएकोले पनि मतदाताहरू जागरुक भएनन् । उनीहरूले निर्वाचन प्रधानमन्त्री बन्नको निम्ति जस्तो भएको बखान गरे । उनीहरूले आफ्नै दल देशको ठुलो दल बन्ने प्रचार गरे । उनीहरूबाट आश्वासनको राजनीति भयो । जसरी भए पनि जित्ने र ठुलो दल बनाउने आश्वासन व्यक्त गरेर जनताको मत लिने अभ्यास भएकोले मतदातामा खासै जागरण नआएको विश्लेषण छ । हामीले बुझ्नैपर्ने कुरा जसको नेतृत्वमा सरकार गठन भए पनि बन्ने सरकारले श्रमजीवी जनताको प्रतिनिधित्व गर्दैन । अब बन्ने सरकार पनि पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सरकार नै हुनेछ ।
Leave a Reply