भर्खरै :

क्लारा जेटकिन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्लारा जेटकिन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्लारा जेटकिन (Clara Zetkin) जर्मनीका एक कम्युनिस्ट राजनीतिज्ञ, अत्यन्त चर्चित मजदुर महिला अधिकारवादी र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक महत्वपूर्ण नेतृ थिइन् ।
क्लारा ५ जुलाई १८५७ मा साक्सेन (Sachsen) को विडेराउ (Widerau) भन्ने ठाउँमा जन्मेकी थिइन् । उनका बुबा गोटफ्रीड इस्नेर (Gottfried eissner) गाउँको विद्यालयका एक शिक्षक थिए र आमा जोसेफिन (Josephin) एर्जगोफिर्गे (Erzgefirge) को एउटा गाउँमा हुर्केकी थिइन् ।
सन् १८७४ मा १७ वर्षको उमेरदेखि नै क्लारा जेटकिनले महिला अधिकारवादी नेतृ अगष्टी स्मिदि (Auguste schmidit) सँगसँगै लीपजिप (Lipzig) मा शिक्षिकाहरूको गोष्ठीमा भाग लिइन् । सन् १८७४ देखि १८७८ को बिचमा अर्थात् १५ देखि २१ वर्षको उमेरमा जर्मनीका महिला सङ्घको छलफल, अन्तरक्रिया र अन्य कार्यक्रमहरूमा भाग लिन थालिन् र पहिलो पटक तिनी सामाजिक–प्रजातन्त्रवादीहरू (Social democrats) को सम्पर्कमा पुगिन् । त्यसैबेला उनको परिचय रुसी क्रान्तिकारी व्यक्ति ओसिप जेटकिन (Oscip zetkin) सँग भएको थियो ।
सन् १८७८ मै सामाजिक मजदुर पार्टी (Sap) सँगको संलग्नताको कारण परिवारसहित उनी ब्रुच (Bruch) जान बाध्य भइन् ।
सन् १८७८ देखि १८८२ सम्म तिनले ४ वर्षसम्म अर्थात् २१ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म साचसेन (Sachsen) र अष्ट्रिया (Austria) मा शिक्षिका (Zourness) को रूपमा काम गरिन् ।
सन् १८८२ मै क्लाराले स्वीट्जरल्यान्डको जुरिच (Zurich) मा सामाजिक प्रजातान्त्रिक (Social democrat) पार्टीमा सामेल भएर काम गरिन् । त्यही वर्ष उनी नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा ओसिप जेटकिनसँग विवाह गरेर बस्न थालिन् । औपचारिकरूपले विवाहको निम्ति आवश्यक कागजपत्रको अभाव हुँदा आफ्नो नामको पछाडि ओसिप जेटकिन (Ossip zetkin) को पारिवारिक नाम वा थर ‘जेटकिन’ राख्न थालिन् जेटकिन परिवारको २ जना छोरा भए ।
सन् १८८९ मा शारीरिक अस्वस्थताका कारण ओसिप जेटकिनको असमयमै मुत्यु भयो । पेरिसमै क्लारा आफैले दोस्रो अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिन् । त्यस बैठकमा उनले महिला मजदुर आन्दोलनबारे एक प्रवचन दिइन् ।
त्यसपछि उनी पेसागत र सामाजिक क्षेत्रका महिलाहरूको समान हकको माग गर्दै वर्गसङ्घर्षसम्बन्धी विभिन्न गतिविधिमा लागिन् । त्यसबेला उनी भर्खर ३२ वर्षकी थिइन् ।
सन् १८९१ मा जर्मनीमा समाजवादी कानुन बन्यो र क्लारा जर्मनी फर्मेर स्टुटगार्ट (Stuttgart) मा बसार्इँ सरिन् । एक वर्षपछि क्लाराले अर्थात् सन् १८९२ मा सामाजिक प्रजातान्त्रिक (Social Democratic) पार्टीको तर्फबाट समानता (Dil Gleichheit) भन्ने एक पत्रिका प्रकाशित गरिन् । सन् १८९५ मा उनी जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टी (Spd) को वामपन्थी पक्षको केन्द्रीय समितिको सदस्य भइन् र स्टुटगार्टको किताब सिउनेहरूको सङ्घको सदस्य बन्न बन्देज थियो । तर, सन् १८९५ मा उनी त्यस युनियनको अस्थाई अन्तर्राष्ट्रिय सचिव बनिन्  सन् १८९७ मा तिनले मोलर जोर्ज फ्रेडरिच जुन्ड (Moler Zeorg Frildrich Zundd) सँग ४० वर्षको दोस्रो विवाह गरिन् ।
सन् १९०७ मा स्टुटगार्टमा समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनले क्लारा जेटकिनलाई महिला सचिवालय वा हेडक्वार्टरको अध्यक्ष छान्यो । त्यसबेला उनी ५० वर्षकी थिइन् ।
सन् १९१० मा डेन्मार्कको कोपनहेगन (Copenhegon Denmark) मा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन भयो । त्यसमा क्लाराले अन्तर्राष्ट्रिय समाजवादी महिला दिवस मनाउने प्रस्ताव राखिन् ।
सन् १९१४ देखि १५ मा पहिलो विश्व युद्ध सुरु भयो । सामाजिक प्रजातान्त्रिक पार्टी (Spd) विस्तारै सामाजिक अन्धराष्ट्रवादमा फस्दै थियो । यसकारण, क्लारा जेटकिनले पार्टीको वामपन्थी धारको प्रतिनिधित्व गर्न अस्वीकार गरिन् । अन्तर्राष्ट्रिय समाजवादी महिला सङ्घको सचिवको हैसियतले उनले सन् १९१५ को मार्चमा समाजवादी महिला सम्मेलन (Socialist Womens Conference) को आयोजना गरिन् । त्यसकारण, क्लाराले ४ महिना जेल सजाय भोगिन् ।
अलेक्जेन्डर कोलोन्ताई (Alexandre Kollontai) सँग मिलेर क्लारा जेटकिनले मत दिन पाउँदैनथे । निश्चित सम्पत्ति र आम्दानी हुनेहरूले मात्र मतदानमा भाग लिन पाउँथे । उनी त्यस पक्षपाति मताधिकारको विरोधमा कसेर लागिन् ‘पुँजीवादी महिलावादी’ हकको विरोध गरिन् ।
सन् १९१६ तिर कार्ल काउत्स्की (Kautsky) ले अन्धराष्ट्रवाद र संशोधनवादको बाटो लिएको हुनाले क्लारा जेटकिन रोजा लक्जेम्वर्ग (Roza Luxemburg) सँग मिलेर वामपन्थी धारलाई नेतृत्व गरी संशोधनवादको विरोधमा सशक्त सङ्घर्ष गरिन् । लेनिनले ‘गद्दार काउत्स्की’ भन्ने एक रचनामार्फत उनलाई उदाङ्ग्याइदिनुभएको थियो ।
संशोधनवादीहरूसँग सङ्घर्ष गर्न सन् १९१६ तिर लक्जेम्वर्ग र लिब्ख्नेत (Liebknecht) ले स्पार्टाकसवादी (Spartacists) भन्ने रोमका एक दास विद्रोहका नेताको नाममा वामपन्थी सङ्गठन निर्माण गरे । क्लारा जेट्किन पनि त्यही सङ्गठनमा सामेल भइन् ।
पहिलो क्लारा ‘स्वतन्त्र सामाजिक प्रजातान्त्रिक पार्टी जर्मनी’ (Independent Social Democratic Party, Germany) को सह–संस्थापिका थिइन् र उनले ‘समानता’ (Dil Gleichheit) पत्रिका प्रकाशित गरिन् । राजनैतिक र सैद्धान्तिक मतभेदको कारण क्लाराले ‘समानता’ छोडिन्
सन् १९१८ मा कार्ल लिब्ख्नेत र रोजा लक्जेम्वर्गसँग सामेल भएर क्लारा जेटकिन जर्मनीको कम्युनिस्ट पार्टी (Kommunist Paric Daeutschlands –KPD) को संस्थापक भइन् ।
सन् १९२० मा उनी जर्मनी कम्युनिस्ट पार्टीको तर्फबाट माथिल्लो सदन राइख्स्टाग (Reichetag) को सदस्य भइन् । २ जुलाई १९२० मा जर्मनी कम्युनिस्ट पार्टीको प्रथम सांसदको नाताले उनले सोभियत सङ्घसँग ऐक्यबद्धताको माग गर्दै वक्तव्य दिइन् । त्यसैबेला तिनले सोभियत सङ्घको पहिलो यात्रा गरिन् । सोभियत सङ्घमा तिनले रुसी जनताका महान् नेता लेनिनसँग मित्रता गाँसिन् ।
उनी विभिन्न रोगबाट पीडित भएकी हुनाले उपचारको निम्ति कहिले सोभियत सङ्घ र कहिले जर्मनी जान थालिन् ।
सन् १९२१ देखि उनी ‘अन्तर्राष्ट्रिय महिला कम्युनिस्ट’ (Die Kommunistische Frauen International) भन्ने पत्रिकाको सञ्चालिका र अन्तर्राष्ट्रिय महिला सचिव भई कार्यरत रहिन् । उनी सन् १९२१ देखि कम्युनिस्ट अन्तार्राष्ट्रियको कार्यकारिणा समितिको सदस्य (Member of the Executive Committee of the Communist International) थिइन् । तर, सन् १९२४ देखि नै उनी सोभियत सङ्घमा बस्न थालिन्  सन् १९२५ मा उनले ‘अन्तर्राष्ट्रिय लाल सहयोग’ (Internationalen Rotein Helfe) संस्था स्थापना गरिन् र उनी त्यसको अध्यक्ष भइन् । सन् १९२७ मा उनी ७० वर्ष पुगिन् । उनको ७० औँ जन्म उत्सवको सुअवसरमा उनी विभिन्न साहित्यिक र अन्तर्राष्ट्रिय सम्मानले विभूषित भइन् ।
३० अगष्ट सन् १९३२ को दिन पूर्व अध्यक्षको नाताले नयाँ निर्वार्चित माथिल्लो सदन (Reichetag) को उद्घाटन मन्तव्यमा क्लारा जेटकिनले पुँजीवादी समाज व्यवस्थाको सामूहिक प्रतिकारको लागि आह्वान र डरलाग्दो फासीवादी प्रवृत्तिविरुद्ध एक हुन वकालत गरेकी थिइन् ।
लामो समयसम्मको अस्वस्थतापछि २० जून १९३३ को दिन मस्कोको नजिक आर्चाबसकोज (Archangelskoje) भन्ने ठाउँमा उनको देहावसान भयो । उनको शवलाई मस्कोको क्रेमल्नौर (Kremlnaure) मा राखिएको छ ।
क्लारा जेटकिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय महिला मजदुर आन्दोलनका एक उल्लेखनीय नेतृ हुन् । साँचो अर्थमा ‘एक मजदुर महिला आन्दोलनकी एक अग्रदूत र पुँजीवादी महिलावादी’ दृष्टिकोणको प्रखर आलोचक र विरोधी थिइन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवको इतिहास
विभिन्न व्यक्तिले महिलाविरुद्ध हुने शोषण, दमन र अमानवीय व्यवहारविरुद्ध आवाज उठाउन थाले । सन् १७७९ मा सबैभन्दा पहिला बेलायतकी महिला मेरी वोल्स्टोनक्राफ्टले महिला अधिकारका बारेमा आवाज उठाउँदै पुरुषप्रधान शासन व्यवस्थाको विरोध गर्दै राज्य संयन्त्रमा महिलाको समान अधिकारको माग गरिन् । उनको यस कदमको पक्ष र विपक्षमा बहस सुरु भयो । उनी भने अभियानमा निरन्तर लागिरहिन् । पछि उनले समाजवाद र महिला (सोसियोलिजम एन्ड विमेन) नामको निकै गहकिलो पुुस्तक प्रकाशन गरिन् ।
यसको १० वर्षपछि १७८९ अक्टोबरमा पेरिसका गरिब र श्रमजीवी महिला चरम महँगीको विरोधमा जुलुस र धर्नामा पुगे । श्रमजीवी महिलामा विकास भएको चेतना १८३२ मा आइपुग्दा नेदरल्यान्डको कपडा काररखानामा काम गर्ने श्रमिक महिला दासप्रथाविरोधी समाजको गठन गरी असमान व्यवहार र असमान तलबका विरुद्ध आवाज उठाउन थाले ।
शोषणविरुद्ध सिङ्गो युरोपभरि नै औद्योगिक श्रमिक क्रान्तिको आँधी चलाउँदै थिए । विश्व सर्वहारावर्गको वकालत गर्दै १८४८ मा माक्र्स र एंगेल्सले ‘कम्युनिस्ट घोषणपत्र’ को प्रतिपादन गरे । यसले सम्पूर्ण श्रमजीवी जनतालाई आफ्नो मुक्तिका लागि सङ्गठित रूपमा अगाडि बढ्न प्रेरित ग¥यो ।
१८४८ जुलाईमा अमेरिकन महिलाबिच ‘धार्मिक अधिकार र सामाजिक खराबी’ विषयमा सेनेकाफल्समा कार्यक्रम आयोजना भयो । यस कार्यक्रमले महिला अधिकारसम्बन्धी घोषणापत्रमार्फत तीनबुँदे माग– महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य र समान अधिकार, शिक्षा र रोजगारीमा समान अधिकार र समान मताधिकारको उद्घोष ग¥यो ।
यस घोषणाले अमेरिकी महिलाबिच सनसनी फैलाउन पुग्यो । १८५०—६० को दशकमा पुँजीवादको तीव्र विकासको क्रममा भएको स्वचालित यन्त्रको विकासले कतिपय शारीरिक कामलाई मेसिनले विस्थापित गर्दै थियो । अर्कातर्फ लामो र अनिश्चित कार्यघन्टा, मालिकको मनलागी व्यवहार र शोषणका कारण श्रमिकहरूको जीवनप्रति घृणा, रोष, असन्तुष्टि र चिड्चिडाहट थपिँदै थियो ।
परिणामतः सन् १८५७, ८ मार्चको दिन अमेरिकाको सुती कपडा उद्योगमा काम गर्ने श्रमिक महिला कामको घन्टा कम गराउने मागसहित आन्दोलनमा उत्रिए । श्रमिकबिचको एकता र सहकार्यले राष्ट्रिय सीमा नाघ्न थाल्यो । श्रमिकहरू अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विकासको क्रममा थिए र सन् १८६४ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय श्रमिक सङ्घ गठन गरे । १८६६ मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट गठित सङ्घ महिलाविहीन हुँदा औपचारिक रूपमा भएको विरोध र असन्तुष्टिपछि बेलायतकी ‘हरियता ल’ लाई थप गरी यसको पहिलो महिला सदस्य बनाइएको थियो ।
अठारौँ शताब्दीको अन्तसम्म पनि विश्वका कतिपय मुलुकमा केही कुलीन वर्गले मात्र राजनीतिमा भाग लिन पाउने कानुनी व्यवस्था थियो । समयको मागअनुसार अन्य निम्नवर्गले पनि चुनावमा भाग लिन पाउने व्यवस्था हुँदै गयो । तर, मतको वजन वर्गअनुसार फरक थियो । रुसमा १ जना जमिनदारबराबर ५ जना किसान र एकजना पुँजीपति बराबर ३ जना श्रमिकको मत मानिन्थ्यो । महिला मताधिकारबाट वञ्चित थिए ।
१८६५ मा बेलातयतका महिलाले मेनचेस्टरमा महिला मताधिकार समिति गठन गरी महिला मताधिकारको पक्षमा सङ्कलित हस्ताक्षरसहित समान मताधिकारको विषयमा तयार गरिएको विधेयक १८६७ मा जोन स्टुआर्ट मिलमार्फत ब्रिटिस संसद्मा पेस गरे । महिला मताधिकारको विषयले संसद्मा औपचारिक प्रवेश पाएको यो पहिलो घटना थियो ।
महिला मुक्तिलाई श्रमजीवी वर्गको आन्दोलनसँग जोडेर आमूल परिवर्तनको अभियानको नेतृत्व गर्दै क्लारा जेटकिनलगायत महिला निरन्तर क्रियाशील रहे । सन् १८६८ मा कार्ल माक्र्सले महिला अधिकारको प्रश्नलाई सशक्त ढङ्गले उठाउँदै रोजगारीमा महिलाले अवसर पाउनुकासाथै शिशु स्याहारलगायतको व्यवस्था गरिनुपर्ने मागमा जोड दिए । श्रमिक महिलालाई विश्व श्रमिक आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
१८७१ को पेरिस कम्युन (१८ मार्च—२८ मे) को असफलतापछि पुँजीवादी शासकले श्रमिक आन्दोलनलाई निर्ममतापूर्वक दबाउन थाले । यो अवस्थालाई चिर्न र श्रमिक वर्गको मुक्तिका लागि सामाजिक जनवादी श्रमिक पार्टीको गठन भयो । महिला श्रमिक पनि त्यसमा सङ्गठित हुन थाले । यसरी श्रमिक महिला राजनीतिक दलमा समेत सहभागी हुन पुगे ।
१८८९ मा पेरिसमा श्रमिकहरूको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यहाँ समान कामको समान पारिश्रमिक हुनुपर्ने कुरा उठ्यो । महिला अधिकारको बारेमा व्यवस्थित, स्पष्ट र सशक्त रूपमा समानताको कुरा उठेको यो नै पहिलो घटना थियो । १८९० बाट महिला मताधिकारमा काम गर्दै आएका सङ्गठन एकजुट हुन थाले ।
अमेरिकाका विभिन्न महिला सङ्घहरू मिलेर अमेरिकी राष्ट्रिय महिला मताधिकार सङ्घ गठन गरे । त्यसले अमेरिकामा मताधिकारसम्बन्धी आन्दोलनलाई सशक्त ढङ्गले अगाडि बढाउन थाल्यो । त्यसको प्रभाव अन्य देशमा पनि पर्न थाल्यो । ब्रिटिस संसद्मा महिला मताधिकारका बारेमा कुरा उठेको २५ वर्षपछि १८९३ मा महिलाले मताधिकार पाउने विश्वकै पहिलो देशको रूपमा न्युजिल्यान्डका महिलाले मताधिकार प्राप्त गरे । त्यस घटनाले विश्वभरका महिलामा आशाको किरण फैलन थाल्यो ।
१८९२ बाट क्लारा जेटकिनको सम्पादनमा जर्मनीको श्रमिक महिला आन्दोलनको मुखपत्र ‘समानता’ पाक्षिकको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिलाबिच सचेतना अभियानका लागि प्रेरित गर्न थाल्यो । १८९७ मार्च ८ का दिन उचित पारिश्रमिक र निश्चित कार्यघन्टाको माग गर्दै न्युयोर्कमा श्रमिक महिला प्रदर्शनमा उत्रिए ।
यो क्रम अगाडि बढ्दै जाँदा क्लारा जेटकिनको नेतृत्वमा १९०७ मार्च ८ मा जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरी ‘श्रमिक महिला सङ्घ’ को स्थापना भयो । १९०८ मार्च ८ मा न्युयोर्कमा श्रमिक महिलाले मताधिकार पाउनुपर्छ भनी पुनः प्रदर्शन गरे । १९०९ मार्च ८ कै दिन सिकागो सहरका महिला समान अधिकारको मागसहित व्यापक हडताल गर्दै जुलुस प्रदर्शनमा उत्रिए । यसले श्रमिकबिचको शक्तिलाई थप सुदृढ बनायो ।
१९१० मा १७ देशका श्रमिक र राजनीतिक महिला प्रतिनिधिकासाथै फिनल्यान्डमा पहिलोपटक निर्वाचित भएका तीनजना महिला सांसदसहित झन्डै सयजना समाजवादी महिलाको बिचमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गरियो । यही सम्मेलनमा समानताका पक्षपातीबिच ऐक्यबद्धता दिवसको रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन क्लारा जेटकिनद्वारा राखिएकोे प्रस्ताव एकमतले पारित भयो ।
सन् १९११ बाट यस दिनलाई विश्वभर समानताको आन्दोलनको रूपमा मनाउन थालियो । १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएको विभिन्न देशका देशभक्त, शान्तिप्रिय श्रमजीवी जनता त्यस युद्धको विरोधमा उत्रिए । युरोपमा श्रमिक महिलाले युद्ध पिपासुहरूको भण्डाफोर गर्दै विश्वशान्ति र राष्ट्रिय मुक्तिका लागि अन्तर्राष्ट्रिय लिग गठन गर्दै युद्ध नरोकिएसम्म अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) लाई युद्धविरोध र विश्वशान्तिको पक्षमा मनाए ।
१९१७ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रुसका श्रमजीवी महिलाले भोकमरी, युद्ध र जारशाहीविरुद्ध आन्दोलन गरे । उक्त आन्दोलनमा कारखाना हडताल गरी सम्पूर्ण श्रमिकसमेतले साथ दिए । त्यसै वर्ष रुसमा समाजवादी क्रान्ति भयो र महिलाले राजनीतिक रूपमा समानता र स्वतन्त्रता प्राप्त गरे । १९३८ को ८ मार्चमा स्पेनको मेड्रिड सहरमा हजारौँ श्रमिक महिला सरकारको निरङ्कुशताविरुद्ध प्रदर्शनमा उत्रिए ।
मार्च ८ कै दिन चिनियाँ महिलाले जापानी आक्रमणकारीविरुद्ध लड्न र महिलाको जीवनमा सुधार ल्याउने उद्देश्यले ‘सीमा क्षेत्रीय महिला सङ्घ’ गठन गर्दै राष्ट्रिय सुरक्षाको विषयमा आफ्नो संवेदनशीलता प्रस्तुत गरे । यसरी मार्च ८ विश्वभरका श्रमिक महिलाले आफ्नो मुक्ति आन्दोलनको प्रतीकको रूपमा मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्र सङ्घले १९७५ मा आइपुग्दा त्यस वर्षलाई अन्तर्राष्ट्रिय महिला वर्ष, १९७५–८५ लाई महिला दशक घोषणा गर्दै मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा ग¥यो ।

– ‘अन्तर्राष्ट्रवादी महिला नेतृहरू’बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *