भर्खरै :

जनतालाई राजनैतिक रूपमा सचेत र सङ्गठित बनाउन सकेमात्र सभ्य समाजको परिकल्पना पूरा हुने

जनतालाई राजनैतिक रूपमा सचेत र सङ्गठित बनाउन सकेमात्र सभ्य समाजको परिकल्पना पूरा हुने

भक्तपुर, २८ फागुन । वागीश्वरी माध्यमिक विद्यालयको ६७ औँ, वागीश्वरी कलेजको १८ औँ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी बिहीबार सम्पन्न भयो ।
वार्षिकोत्सवको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वागीश्वरी स्मारिका, साहित्यिक सँगालो र विद्यालय गीत विमोचन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति प्रदान गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले विश्वविद्यालयहरू मुलुकको उच्च शिक्षाको आधार तय गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै देशभक्त र इमानदार व्यक्तिहरू राजनीतिमा आउनुपर्ने बताउनुभयो ।
सत्तासीन दलले स्वच्छ राजनीति नगरेरै देशको राजनीतिमा उतारचढाव भइरहेको उल्लेख गर्दै उहाँले युवाहरू राजनीतिबाट टाढा बस्ने होइन, राजनीतिलाई सुधार्ने जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुरलाई शैक्षिक गन्तव्यको रूपमा अगाडि बढाउन र समाजलाई शिक्षित बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न कलेजहरू सञ्चालनमा ल्याएको स्मरण गर्दै उहाँले जनतालाई राजनैतिक रूपमा सचेत र सङ्गठित बनाउन सकेमात्र सभ्य समाजको परिकल्पना पूरा हुने बताउनुभयो ।
निर्वाचनले जनताको चेतनास्तर स्पष्ट रूपमा प्रस्तुत गर्ने बताउँदै उहाँले निर्वाचनको समयमा हुने विदेशी र आर्थिक चलखेलबारे पनि जनता सजग हुनुपर्ने बताउनुभयो ।
नेपालमा विदेशीहरूको चलखेल व्यापक भइरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरूलाई विदेश पलायनबाट रोक्न सरकारले अब पनि ढिला गरे देशले ठुलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने खतरा औँल्याउनुभयो ।
कार्यक्रमका सभापति, वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०६४ सालमा स्थापना भएको वागीश्वरी कलेज क्यु.ए.ए. प्राप्त भक्तपुर जिल्लाकै पहिलो सामुदायिक कलेज भएको बताउनुभयो ।
देश बनाउने वा बिगार्नेमा बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्दै प्रमुख प्रजापतिले शिक्षित जनता राजनैतिक रूपमा सचेत र सङ्गठित भए मात्र देश सही दिशामा जाने बताउनुभयो ।
कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेमा जोड दिँदै जाने उल्लेख गर्दै उहाँले शैक्षिक संस्थाहरूले सचेत र देशभक्त नागरिक उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूमाझ किताबी ज्ञानसँगसँगै आलोचनात्मक दृष्टिकोणको विषयमा पनि छलफल आवश्यक भएको र राजनैतिक नैतिकतामा सङ्कट आउनुमा विद्यालय शिक्षाको पनि दोष रहेको बताउनुभयो ।
“देशलाई राम्रो गर्ने या नगर्ने भन्ने कुरा सत्तासीन दलका नेताहरू र राजनीतिक नेतृत्वमा भरपर्छ” उहाँले भन्नुभयो ।
राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकोले राजनीतिमा इमानदारी र नैतिकता महत्वपूर्ण हुने धारणा राख्दै उहाँले पपुलिजमको लहरले नेपालको राजनीति नै सङ्कटमा परेको र नेपाल पनि पपुलिजमको सिकार हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
संरा अमेरिकी साम्राज्यवाद आक्रमक ढङ्गले प्रस्तुत भइरहेको बताउँदै उहाँले त्यसको विरोधमा भियतनामी जनताले लडेको वीरतापूर्ण इतिहासबाट नेपालले पनि पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सृजना सैंजुले शैक्षिक, सामाजिक, राजनीतिक रूपमा महिलाहरूको अग्रसरता नेपाली समाजमा पनि उल्लेखनीय रहँदै आएको बताउनुभयो ।
बलात्कार जस्तोजघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजायको बन्दोबस्त हुनुपर्ने र ढिलो न्याय दिनु पनि अन्याय भएको उहाँले बताउनुभयो ।
समाजका बेथितिहरूविरुद्ध लड्ने शिक्षा आजको आवश्यकता भएको चर्चा गर्दै उहाँले अर्थतन्त्रसँग जोडिएको शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य र विद्यार्थी प्रतिनिधि तुल्सीराम दुवाल, वागीश्वरी मावि विद्यार्थी हित समितिका निशा थापाले शुभकामना मन्तव्य राख्नुभयो भने शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *