शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
तेहरान, १२ मार्च (एएनआई) । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष रोक्न नसकिने स्पष्ट पारेको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत रुस र पाकिस्तानका नेतासँग भएको कुराकानीपछि आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ । उहाँका अनुसार ‘यहुदी शासन र अमेरिकाले भड्काएको’ यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नु, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनु र भविष्यमा इरानमाथि आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु हो ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । सो आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनी, उच्च सैन्य कमान्डरहरू तथा सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स
(आईआरजीसी) ले इजरायलका विभिन्न स्थानलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सइद इरवानीका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सैन्य कारबाहीका कारण महिला तथा बालबालिकासहित कम्तीमा एक हजार ३४८ सर्वसाधारणको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन् ।
यसैबिच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले खाडी सहयोग परिषद् (जीसीसी) देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै प्रस्ताव पारित गरेको छ । १५ सदस्यीय परिषद्मा प्रस्तुत उक्त प्रस्ताव १३–० मतले पारित भएको थियो । प्रस्तावलाई बहराइनले नेतृत्व गरेको थियो र १३० भन्दा बढी देशले सह–प्रायोजन गरेका थिए, जसमा भारत पनि समावेश छ । चीन र रुस मतदानमा सहभागी भएनन् ।
प्रस्तावमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनमाथि इरानले गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरिएको छ । साथै होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानी चेतावनीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । तर, इजरायल र अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेकोबारे उक्त प्रस्ताव मौन रहेको छ ।
यसै क्रममा इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानका अनुसार इराकको तट नजिक दुई तेल ट्याङ्करमा आक्रमण भएको छ । उक्त घटनामा ३८ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
उता इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्सले ‘अपरेसन ट्रु प्रोमिस–४’ को ४० औँ चरण सुरु भएको घोषणा गरेको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार यसअन्तर्गत अमेरिकी सैन्य आधार, तेल अभिव र हाइफा क्षेत्रमा विभिन्न मिसाइल प्रहार गरिएको छ । ‘गदर’, ‘इमाद’, ‘खेबर शेकान’ र ‘फताह’ नामका मिसाइलहरू प्रयोग गरिएको दाबी गरिएको छ ।
इरानले खाडी क्षेत्रका तेल ट्याङ्करहरूमा आक्रमण गरेको तथा होर्मुज जलडमरूमध्य बन्द गरेको घटनाले विश्व ऊर्जा आपूर्तिमा असर परेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ । न्युयोर्क टाइम्सका अनुसार इरानको प्रतिआक्रमणले पश्चिम एसियाभर रहेका कम्तीमा १७ अमेरिकी सैन्य आधार तथा अन्य संरचनामा क्षति पु¥याएको छ ।
Leave a Reply