भर्खरै :

शासकहरू इमानदार, देशभक्त र दूरदर्शी हुनुपर्छ

शासकहरू इमानदार, देशभक्त र दूरदर्शी हुनुपर्छ

जनता राजनीतिक रूपले सचेत र सङ्गठित नभएसम्म निर्वाचनमा दलले पाउने मतमा हेरफेर भइरहनेछ, हेरफेर भइरहेको छ । विभिन्न भाषा, धर्म, जातजाति र रीतिथितिमा विभाजित समाज भएकोले हरेकजसोको निर्वाचनमा दलले पाउने मतमा हेरफेर भइरहेको यथार्थ हो । जनता अशिक्षित र लोभलालचमा फस्ने भएकाले यो समस्या देखिएको हो । एक समय माओवादी ठुलो दल बनेकै हो । नेका पनि ठुलो बनेकै हो । नेकपा एमालेले त झन्डै दुईतिहाइ मत प्राप्त गरेको थियो । तर, दलले प्राप्त गरेको त्यो मत स्थायी भएन । फागुन २१ गतेको निर्वाचनमा पहिलेका ठुला दलहरूको मत धेरै घट्यो र सो मत रास्वपाले लियो । बहुमत प्राप्त दल रास्वपाले देश जोगाउन र बनाउन के–कस्तो नीति तयार गर्ने हो, त्यो महत्वपूर्ण पक्ष हो ।
ठुलो बन्नु नै दलको सच्चाइ होइन । पञ्चायती व्यवस्था पहिले बलियो थियो । तर, त्यो पनि टिकेन । शासक दलका नेता, मन्त्री र सांसदहरू इमानदार, दूरदर्शी भएनन् भने देशमा फेरि अनेक काण्डका प्रकरण दोहोरिन सक्छ† बेथिति बढ्न सक्छ । संसद्मा इमानदार सांसदहरूको कमी भएकै कारण यसअघि मन्त्री र सांसदहरू अनेक काण्डमा फसेका थिए । गएको निर्वाचनमा धनुषा १ बाट निर्वाचित सांसद किशोरी साह कालोसूचीमा परेको कारण सांसद पद खारेज गरियो । रास्वपाका अर्का निर्वाचित सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्दको कालोसूचीमा परेको समाचार सञ्चारमाध्यममा आएको छ । उनी मकालु कान्जिरूवा अटोलिङ्क प्रा.लि.को चेक बाउन्स प्रकरणमा मुछिएको जानकारी प्रकाशमा आएको हो । त्यस्तै सिन्धुली १ मा निर्वाचित रास्वपाका सांसद धनेन्द्र कार्की पनि कालोसूचीमा परेको खबर सञ्चारमाध्यममा आयो । जनताको बचत फिर्ता नगरेका कारण उनी कालोसूचीमा परेका थिए । एक कानुनविज्ञले त हाल निर्वाचित सांसदहरूमा भ्रष्टाचार प्रकरणमा मुछेका एक दर्जनभन्दा बढी सांसदहरू हुने अनुमान गरे ।
भदौ २३ र २४ गतेको आगजन्य प्रकरणमा अमेरिका र भारतको हात हुनसक्ने विश्लेषण त्यसबेला नै गरिएको थियो । उनीहरूको मिलेमतो या साथबिना त्यस्तो आगजन्य कार्य अरू कसैले गर्नै सक्दैन भन्ने राजनीतिक विश्लेषकहरूको भनाइ हो । कतै फागुन २१ गतेको निर्वाचनमा पनि विदेशी शक्ति राष्ट्रहरूको प्रत्यक्ष या अप्रत्यक्ष हात छैन ? आशङ्का गरिएको छ । कुनै पनि सरकारले विदेशी हस्तक्षेपलाई समर्थन गर्नुहुँदैन; विदेशी हस्तक्षेप हुने सन्धि–सम्झौता गर्नुहुँदैन । विदेशी हस्तक्षेप बढ्दै गयो भने देशको स्वाधीनता र सार्वभौसत्तामा असर पर्छ । यसको असर तत्काल नदेखिए पनि त्यसले दूरगामी असर पु¥याउनेछ । शासकहरू लोभलालच या पैसा र विकासमा भुलेर अवसरवादी भएकाले धेरै पटक चुके, धेरै पटक चुकेर सरकारले असमान सन्धि–सम्झौता ग¥यो । शासकहरू सचेत या दूरदर्शी भएनन् भने फेरि फस्ने सम्भावना हुन्छ । पछिको विचार पु¥याएर काम नगरेकोले देश पराधीन बनेको हो† देशको अर्थतन्त्र कमजोर भएको हो; देशले जनताको लागि आधारभूत आवश्यकता पूर्ति गर्न नसकेको हो ।
अतः शासकहरू इमानदार, देशभक्त, दूरदर्शी हुनुपर्छ । विदेशी सेना घुस्ने, पस्ने खालको कुनै सन्धि–सम्झौता गर्नुहुँदैन । स्वदेशमा रोजगारी सिर्जना नगर्दा युवाहरू विदेश गई कमाएर पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र भरथेग गर्नुपर्ने बाध्यता देशको प्रगतिको सूचक होइन । अहिले ग्यासको अभाव देखिएको छ । इरानमा भएको आक्रमणले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने र ग्यास आपूर्तिमा अझ सङ्कट बढ्ने देखिन्छ । नेपाल आयल निगमले सकेसम्म ग्यास सिलिन्डर प्रयोग नगर्न आग्रह गरेको छ । ग्यास सिलिन्डरको अभाव भएकोले इन्धन खपत कम गरी विद्युतीय सेवा उपयोग गर्न आग्रह गरिएको छ । हाल ग्यास र पेट्रोलियम पदार्थ आपूर्तिमा सहज भइरहेको छैन । यसबारे सरकार गम्भीर हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *