बुद्धिजीवीहरूको दृष्टिकोण फराकिलो हुनुपर्छ
- असार २, २०८३
निर्वाचनमा हारजीत स्वाभाविक हो । यस अर्थमा हरेक नागरिकको मत त्यतिकै अमूल्य हुन्छ । प्राप्त मत परिणाम या नतिजा नै कुनै दलको सही र गलतको नापो होइन । पुँजीवादी व्यवस्थाको निर्वाचनमा भागबन्डा र छलकपट हुन्छ; पैसाको खोलो बगेको हुन्छ† धाक धम्की हुन्छ; लोभलालच देखाइएको हुन्छ । विचार र सिद्धान्तभन्दा जसरी भए पनि जित्नको निम्ति साम, दाम, दण्ड र भेद नीति अपनाइएको हुन्छ । कति मतदाता लहैलहैमा लागेको हुन्छ । यसकारण, निर्वाचनमा भएको मत परिणामलाई नै कुनै दल असल र खराब भनी छुट्याउनु गलत हुनेछ । प्रत्येक पटकको निर्वाचनमा एउटै दल जहिल्यै ठुलो बनेन । यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा पनि अर्को दल ठुलो बन्यो ।
यसभन्दा अघि ठुला दलका नेताहरूमा दम्भ थियो । आफूबाहेक अरु दलले बहुमत प्राप्त गर्दैन या सरकार चलाउँदैन भन्ने दम्भ थियो । सानो दलको विचारलाई वास्ता गर्दैनथ्यो । आफू नै सही, अरु कसैले केही गर्न सक्दैन भन्ने शक्तिको मातले जनतामा असन्तुष्ट देखिएको हो । धेरै मत पाएर जितेको दलले जनताको निम्ति जनताको विश्वास जितेर काम गर्नुपर्ने हो । थोरै मत पाउँदैमा त्यो दलको विचार गलत हुन्छ भन्ने होइन । कति शासक दलका नेताहरूमा त्यस्तो भ्रम पाइन्छ । प्रत्येक मतको मूल्य बराबर हुन्छ । कुनै मतको मूल्य बढी र घटी हुँदैन; हुन्छ भनेर सोच्नु पनि हुँदैन । मतदाताको मतभित्र सिद्धान्त र विचार भिजेको हुन्छ । तर, जनतामा अझै राजनीतिक, सैद्धान्तिक र सांस्कृतिक स्तर नभएको हुँदा कति मतदाताले बुझेर मत राखे त कतिले बुझ पचाएर या बुझ्दै नबुझी मत राखे । हरेक राजनीतिक दलले यसको लेखाजोखा गरिरहेकै होला ।
एकचोटि पाएको परिणाम सधैँको लागि हुँदैन । देशको परिस्थिति या परिवेशअनुसार कहिले कुन दल ठुलो त कहिले कुन दल सानो हुन्छ, यकिन हुँदैन । देश, काल परिस्थिति र घटनाले त्यसको निक्र्योल गर्छ । धेरै मत पाएको दल या उम्मेदवारको मत सही, वैध र थोरै पाए पाएको दल र उम्मेदवारको मत गलत या अवैध हुन्छ भन्ने होइन । आफ्नो दलको लागि जनताको मत पाउनु भनेको जनताले जिम्मेवारी दिनु हो । त्यो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ ।
कुनै दल एकचोटि हार्दैमा सधैँ हार्छ भन्ने होइन । एकचोटि जित्दैमा सधैँ जित्छ भन्ने पनि होइन । अहिले जुन दलले बहुमत जितेको हो त्यो अर्को निर्वाचनमा हेरफेर हुनसक्छ† हेरफेर भइरहेको हो । बहुमत प्राप्त दलको सरकारले जनताको मतलाई घात गरेमा, जनताको भावना या विचारअनुसार काम नगरेमा हाल पाएको मतमा उत्तारचढाव हुनसक्छ । जनताले सुम्पेको जिम्मेवारी पूरा गर्न सकेन भने त्यो अर्को घात हुनेछ । बहुमत प्राप्त सरकारले साँच्चै देश बनाउने सङ्कल्प गरेमा देशको अनुहार बदल्न सक्छ । शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि, जनताको विश्वासमा लात मारेपछि या जनमतलाई आ–आफ्नो स्वार्थ पूरा गर्नसकेन भने त्यो अर्को घात हुनेछ । बहुमत प्राप्त सरकारले साँच्चै देश बनाउने सङ्कल्प गरेमा देशको अनुहार बदल्न सक्छ । शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि, जनताको विश्वासमा लात मारेपछि या जनमतलाई आ–आफ्नो स्वार्थ पूरा गर्ने भोट बैङ्क बनाएपछि त्यो दलको सरकारप्रति जनताको विश्वास गुम्छ र सरकारको नेतृत्वमा हेरेफेर हुन्छ ।
सरकार जनताकेन्द्रित हुनुपर्छ । बहुमतको नाउँमा सरकारले देशघात र जनघात हुने निर्णय गरेमा जनता चुप लागेर बस्ने छैनन् । यो कुरा शासक दलले थाहा पाउनुपर्छ । हरेक निर्वाचनमा जनताले दललाई परीक्षाको रूपमा हेरेका हुन्छन् । त्यो परीक्षामा शासकहरू सफल भएनन् भने जनताले अर्को निर्वाचनमा त्यो दललाई पनि फाल्नेछन् । प्रश्न उठ्छ, अब बन्ने सरकारले के भ्रष्टाचार अन्त्य गर्छ ? के देश भ्रष्टाचारमुक्त हुन्छ ? के देश ऋणमुक्त हुन्छ ? के अब देशमा विदेशी हस्तक्षेप हुँदैन ? के अबको सरकार विदेशी उठबसमा चल्दैन ? के अब देशभर सन्तुलित विकास हुन्छ ? देश आत्मनिर्भरको बाटोमा जान्छ ? के युवाहरू विदेश पलायन हुँदैनन् ? के स्वदेशमै रोजीरोटीको बन्दोबस्त हुन्छ ? के देशमा रासायनिक मल कारखाना खोल्छ ? के ख्वप विश्वविद्यालय सञ्चालन हुन्छ ? साँच्चै देशभर मावि तहसम्म निःशुल्क शिक्षा व्यवहारमा लागू हुन्छ ?
सिद्धान्त, दर्शन र विचार स्पष्ट नभएको दलको सरकारले केही गरेको देखाउन विगतको सरकारको तुलनामा सुधारात्मक कार्य गर्ला । तर, त्यो दलको सरकारले देशलाई कहाँ पु¥याउने भन्ने कुरा दिशा निर्देश गर्न सक्दैन । महत्वपूर्ण कुरा सरकारले जनताको जीवन सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने हो । स्वदेशमै काम–मामको व्यवस्था गर्ने काम भयो भने जनताले त्यसको कदर गर्नुपर्छ । योग्यताअनुसार काम, कामअनुसार ज्याला र आवश्यकताअनुसार माग पूरा हुन्छ भने त्यो सरकारको कदमलाई मान्नुपर्छ । जनताका यी माग र आवश्यकता पूरा भयो भने देशमा जनताले न्याय, समानता, सुनिश्चित जीवन बिताएको अनुभूति गर्नेछन् । यो देश र जनताको आवश्यकता पनि हो ।
Leave a Reply