क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
देश विदेशको इतिहासले संसारमा देखिने शत्रुभन्दा नदेखिने शत्रु र आफूभित्रको शत्रु बढी संहारक भएको बताउँछ । यो कुरो हिजोमात्रै होइन आज पनि सत्य हो । कुनै देशमाथि शत्रु देशले त्यसबेलासम्म विजय पाउँदैन जबसम्म आफ्नै देशका गुप्त शत्रुहरूले देखिएको शत्रु देशलाई सहयोग गर्दैनन् ।
नेपाली काङ्ग्रेस, एमाले र अन्य शासक दलहरूले पनि कामदारवर्गको राजनैतिक दलका गुप्त शत्रुहरूलाई भित्रभित्रै हातमा लिई पार्टी फुटाउने काम गरेका थिए । फुट्ने र फुटाउने खेल नेपालमा प्रजातन्त्र पुनः स्थापनापछि बढी देखियो । यसरी विदेशीहरूले शासक दलहरूमाथि आफ्नो प्रभाव पार्न थाले । देखिने शत्रु देशहरूलाई आफ्नै देशका शत्रुहरूले अनेक सूचना दिएर देशलाई कमजोर पार्न थाले ।
निर्वाचनमा पैसा खर्च गरेर, झूटो आश्वासन दिएर अथवा निर्वाचन नियमावली र निर्वाचन आचारसंहिता कुल्चेर शासक दलहरू संसद्मा बढी स्थान लिन्छन् । निर्वाचनपछि सबै शासक दलहरू एकले अर्को दलको विरोधमा छलछाम र विश्वासघातका जालहरू थाप्छन् । यसरी नेपालका सबैजसो सरकारमा गएका दलहरू एकापसमा घाँटी रेट्ने खेलका सिकार भइसकेका छन् ।
तर, यो खेल हाम्रो देशमा मात्र होइन छिमेकी देश भारतमा पनि भइरहेको छ । जनसङ्घ र राष्ट्रिय स्वयम्सेवक दल (अर्ध–सैनिक दस्ता) सानोबाट ठुलो हुँदै गए । त्यसको प्रभाव छिमेकी देशहरूमा फैलाइँदै छ । पश्चिमी साम्राज्यवादीहरूले जसरी धर्म र व्यापारमार्फत आक्रमण गर्दै, उपनिवेश बनाउँदै गए त्यसरी नै भारतले पनि आफ्नो प्रभाव विस्तार गर्दै छ । यसरी, तत्तत् देशकै शासक दलका माथिल्ला र असन्तुष्ट तत्वहरूको सहयोगमा उपनिवेशवादीहरू आफ्नो प्रभाव बढाउने गर्थे र गर्दै छन् ।
अङ्ग्रेजहरूले भारतीय राजा महाराजाहरूलाई एक एक गरेर हराए; ती राज्यहरूमाथि कब्जा गरे वा तिनीहरूलाई पक्षमा लिए । पछि भारतीय स्वतन्त्रता आन्दोलन दबाउन विभिन्न जात–जाति, भाषा–भाषी र धार्मिक सम्प्रदाय एवम् क्षेत्रीय भेदभाव फैलाएर २ सय वर्ष शासन गरे ।
भारत आज पनि छिमेकी देशका राजनैतिक दल, बुद्धिजीवी, जात–जाति, भाषा–भाषी, धर्म र क्षेत्रका मानिसलाई फुटाउँदै ती देशहरूमा आफ्नो प्रभाव विस्तार गर्दै छ । भारतीय विस्तारवादीले छिमेकी देशहरूलाई पनि एक आपसमा लडाउने र भिडाउने काम गरिरहेको छ । चाणक्यको बेलादेखि नै घातप्रतिघात, हत्या र हिंसा तथा एकले अर्को देश हत्याउने व्यापार चलेकै छ ।
२ सय वर्षदेखि विदेशी सेनामा गोर्खाली सिपाही पठाउने, दरवान, कुल्ली एवम् पिउन पठाउने, लाखौँ युवा ज्यामी पठाउने तथा विदेशी निजी सेनामा पठाई ‘भाडाका सेना’ बढाउने नेपालको ‘संस्कृति’ कै कारण आफ्नै ‘राष्ट्रिय छवि’ पखाल्नुपर्ने आवश्यकता अनुभव गर्दै छन् जनता ।
Leave a Reply