भर्खरै :

हिमपात र वर्षाको कारण दैनिकीमा प्रतिकूल असर

हिमपात र वर्षाको कारण दैनिकीमा प्रतिकूल असर

मुस्ताङ, ६, चैत । वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कार्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ ।
हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको छ । मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाक्लो हिमपात भइरहेको छ ।
त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको छ । हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पु¥याएको छ ।
त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्च लेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ ।
वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो
काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ ।
वर्षाका कारण सवारी आवागमन प्रभावित हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायत विभिन्न स्थानको निरीक्षण गर्दा वर्षाका कारण सवारी जाम बढेको छ ।
सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ । हुरीबतासका कारण सडक किनारमा रहेका रुख ढल्ने, बिजुली तथा टेलिफोनका तार चुँडिने, पोल लड्ने तथा घरका छाना उड्ने जोखिम पनि रहेको अवस्थामा सकेसम्म अनावश्यक यात्रा नगर्न र यात्रा गरिहाल्नुपरेमा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ ।
सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ ।
हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।
यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।
मकवानपुरमा सबैभन्दा बढी वर्षा
जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो ।
विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मधेस प्रदेशलगायत कोसी, बाग्मती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ । कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन विभागको अनुरोध हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *