पुँजीवादी व्यवस्था शोषणमा फस्टाउने व्यवस्था
- बैशाख ४, २०८३
शासक दलका नेताहरू पद र पैसामा भुल्दा, सिद्धान्त र विचार छोडेर भागबन्डामा लाग्दा जनता वाक्कदिक्क भए । सरकारको नेतृत्व गर्नकै निम्ति सिद्धान्त र विचार बन्धक राखेर बनेको त्यो सरकारले देशको विकासलाई उचाइमा पु¥याउन सकेन । सत्ताकेन्द्रित राजनीति भएको कारण सरकार स्थिर भएन । शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लागे । आफ्नो दलको सरकार बलियो भएकोले कुनै पनि अन्य दल र शक्तिले ढाल्न सक्दैनथ्यो भन्ने उनीहरूमा अभिमानी थियो । सरकारको नेतृत्व गरेर या सरकारमा रहेर दलका नेता, मन्त्री र सांसदहरूले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाए† अनियमितता र भ्रष्टाचार गरे । सरकारमा रहेर उनीहरूले अनेक काण्ड मच्चाए । यसबाट जनता असन्तुष्ट भए । कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसक्दै सरकार हेरफेर भइरह्यो । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्नु, बनेको सरकारले चित्तबुझ्दो काम नगरेकोले जनताले अर्काे विकल्प खोजे । त्यसको कारण निर्वाचनमा पहिलेका ठुला दलहरू हारे । रास्वपाले बहुमत प्राप्त ग¥यो ।
रास्वपाको दृष्टिकोण ठीक ठानेर जनताले मत दिएका होइनन् । विगतमा बनेको कुनै पनि सरकारले देश र जनताप्रति जिम्मेवार भएर काम नगरेको हुँदा योपटक अर्काे दलले काम गर्ला कि भन्ने आशाले जनताले मत हाले । यो मत परीक्षणको लागि राखेको हो । परीक्षणको लागि हालेको मत सधैँ स्थिर रहन्छ भन्ने होइन । जनता वाक्कदिक्क, असन्तुष्ट भएरै नै जनताले सरकार गठनको निम्ति अर्काे दल खोजेका हुन् । बन्ने सरकारका नेता, मन्त्रीहरूमा पनि अभिमानीको मात चढ्यो, अरु दललाई गन्दैन, पदको दुरूपयोग गरी मौका यही हो भनेर कमाउनतिर लाग्यो भने यो पार्टीको गति पनि त्यस्तै हुनेमा शङ्का छैन ।
निर्वाचनमा लाखौँ करोडौँ रकम खर्च गरेर, सामान बाँडेर, झूटा आश्वासन दिएर, साम्प्रदायिक भावना फैलाएर, धाकधम्की दिएर लिएको कुनै पनि दलको मत साँचो अर्थमा सिद्धान्त र विचारले भिजेको हुँदैन । निर्वाचनमा आउने नतिजाको आधारमा कुनै दललाई गलत र सही भनी टिप्पणी गर्नु मनासिब हुँदैन । निर्वाचनको नतिजा नै कुनै पार्टीलाई नाप्ने मापदण्ड होइन । असैद्धान्तिक गाली गरेर, धम्क्याएर, होच्याएर, दुष्प्रचार गरेर, लोभलालच देखाएर कुनै दलले पाएको मत स्थिर नहुने कुरा हरेक पटकको निर्वाचनको मत परिणामले देखाएको छ । यो निर्वाचनमा पनि पैसाको छेलोखेलो भएको जानकारी प्रकाशमा आयो । उम्मेदवार बनाउन लाखौँ लाख पैसा पार्टीले मागेको कुरा सार्वजनिक भयो । पैसा मागेकै कारण उम्मेदवार नबनेको कुरा बाहिर आएको थियो । लाखौँ पैसा खर्च गरेका उम्मेदवारहरूले आफ्नो भएको खर्च उठाउन के अवैध कार्य नगर्लान् ? शङ्का गर्ने ठाउँ छ ।
जनताले सरकारको नेतृत्व गर्न जिम्मा दिएपछि त्यो सरकारले आफ्नो जिम्मेवारी बोध गरेर जनताको चाहनाअनुसार काम गर्नुपर्छ । झन्डै दुईतिहाइ मत प्राप्त गरेको भनी दलले गर्व गर्नुभन्दा त्योअनुसार काम गरेर देखाउनुपर्छ । हिजो सडक र सदनमा यो र त्यो गर्नुप¥यो भनी चर्काे चर्काे बोल्नेहरूको हातमा अब सरकार बन्नेवाला छ । अब बन्ने बहुमत प्राप्त सरकारले जनताको मतलाई कसरी कदर गर्ने हो ? बहुमत प्राप्त दलले बहुमत जनताको सेवा के काम गरेर देखाउने हो ? नयाँ सरकारले विगतको कमी कमजोरी औँल्याएर काम गर्नु आवश्यक छ । बन्ने सरकार विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चल्ला कि भन्ने शङ्कालाई यो सरकारले मेटाउनुपर्छ । जनताको त्यो आशङ्का मेटाउन मन्त्रालयमा थन्केको एसपीपी योजना फाल्नुपर्छ । बहुमत प्राप्त सरकारले बहुमत जनता या श्रमजीवीवर्गको हितमा काम गर्नुपर्छ । हिजोझैँ अहिले बन्ने सरकारले पनि उही काम दोहो¥याउँछ, निर्णय गर्छ भने नेपाली जनताले के भेद देखाउने ?
हरेक नेपाली नागरिकलाई देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतालाई आफ्नो आँखाको नानीजस्तै जोगाउन शासकहरूले उत्साहित गर्नुपर्छ । आफ्नो देशको रक्षा र हितको विरोधमा विदेशीहरूलाई गुप्त र रक्षा मामिलाको सूचना दिने तथा जनताको हितविपरीत काम गर्ने देशद्रोही र जनद्रोहीबारे राज्यलाई सूचना दिने काम गर्नुपर्छ र राज्य पनि त्यसतर्फ संवेदनशील हुनुपर्छ । जनतामा त्यो भावना दिइएन भने विदेशी शक्ति राष्ट्रहरूले आक्रमण, थिचोमिचो गरे पनि हस्तक्षेप र दबाब दिए पनि जनता उठ्ने छैनन्; जनता जागरुक हुने छैनन् । यसकारण, अबको सरकार देश बनाउन मात्र होइन जोगाउन पनि अघि सर्नुपर्छ । अनि मात्र सरकारले आफ्नो कर्तव्य पूरा गरेको हुन्छ ।
Leave a Reply