क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
संयुक्त राष्ट्र सङ्घको स्थापना यता यो संस्थामा १९३ देश सदस्य छन् । सवै देशको समान हैसियतको लागि यो संस्था स्थापना गरिएको हो । तर, यो संस्थाको घोषणापत्र पृष्ठमा मात्र सीमित छ, व्यवहारमा देखिएन । अमेरिकी साम्राज्यवादले यो संस्थाको घोषणापत्रविपरीत संसारका ९०२ स्थानमा सेना र हतियार तैनाथ गर्दै छ । यतिखेर सेना र हतियार कमजोर भएका देशमाथि संरा अमेरिकी साम्राज्यवादको आक्रमण बढ्दो छ । दोस्रो विश्वयुद्धयता संसारमा अफगानिस्तान, इराक, लिविया, सिरिया, प्यालेस्टिन, युक्रेन, भेनेजुयला, इरान, प्रजग कोरिया, क्युवामा अशान्तिको कारण संरा अमेरिकी साम्राज्यवाद नै भएको पुष्टि भइरहेको छ ।
संरा अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुयला र इरानमा आक्रमण गरेपछि विश्वमा इन्धन र खाद्यान्नको अभाव भयो र मूल्य बढ्यो । ट्रम्प प्रशासनले समाजवादी देश क्युवाविरुद्ध नाकाबन्दी कडा पार्दै छ । एकातिर ट्रम्प प्रशासनको यो आक्रमण एप्स्टिन फाइलमा ट्रम्पको अपराध सार्वजनिक भएकोलाई ढाकछोप गर्न भएको सार्वजनिक भइरहेको छ । अर्कोतिर संरा अमेरिकी जनताले यो आक्रमणको कारणले मात्र ट्रम्प प्रशासनको अपराध ढाकछोप नहुने बताउँदै छन् । ट्रम्प प्रशासन संसारमा पुनःजङ्गली राज फर्काउन लागिरहेको छ तर सफल हुनेछैन ।
नेपालमा यतिखेर विदेशको कुरा गर्न नहुने बताउनेहरू पनि देखिए । सन् २०१६ देखि २०१९ सम्म भएको युद्धमा सिरियाका ३३,५८४ मानिस मारिए । यसमध्ये संरा अमेरिकी नेतृत्वको गठनवन्धन सेनाको बमवारीमा परेर संरा अमेरिकी सेना ३,८३३ मारिए । संरा अमेरिकी प्रशासनले सन् २०१८ मा रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइ सिरियामा हवाइ हमला ग¥यो । सन् २००३ मा संरा अमेरिकी प्रशासनले गरेको इराकविरुद्धको हमलामा २ लाख ५० हजार बढी सर्वसाधारण मारिए भने दसौँलाख मानिस घरवार विहीन भए । यसको विरोध गर्नु के विदेशको कुरा हो ? के नेपालमा विदेशीले बमवारी गरेपछि पनि विदेशको बम भनी विरोध नगर्ने हो ? विरोध गर्नै पर्दछ ।
एमसीसीको विरोध गर्नु के विदेशको कुरा हो ? एमसीसीमा संरा अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने प्रावधान राखिनु के विदेशको कुरा हो ? के नेपालको नागरिकता छाडेर विदेशी नागरिकता लिएकाहरूलाई नेपालको नागरिकता पनि दिने कानुनी व्यवस्था गर्नु नेपालको हितमा हो ? के संरा अमेरिकी र इजरायली सरकारले इरानमा गरेको आक्रमणको कारण खाडी देशहरूमा २२ लाख नेपाली जनता अलपत्रमा परेको विषय पनि विदेशको कुरा भनी चिन्ता नलिने हो ? नेपाल र नेपाली जनतालाई दुःख हुने विषय देश वा विदेश सबैतिरको विरोध गर्नु जरुरी छ ।
संरा अमेरिकी सरकारको डलरबाट सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालमा युवाहरूलाई उक्साउँदै आएको सार्वजनिक भयो । खासगरी आईआरआई, एनईडी अमेरिकी युथ काउन्सिल, अमेरिकन चेम्बर अफ कमर्सलगायत संस्थाहरूले नेपाली युवालाई उक्साएको सार्वजनिक भयो ।
गएको भदौ २३ को घटनामा आईआरआई र एनईडी सँग सम्बन्धित व्यक्तिहरू अग्रपङ्क्तिमा बसेको यसअगाडि नै सार्वजनिक भएको हो । संरा अमेरिकी साम्राज्यवादले कतिपय देशमा त्यहीँका देशद्रोहीहरूलाई हातमा लिएर विध्वंस मच्चाउँदै आएको छ । दक्षिण एसियाका श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानमा सत्ता उल्ट्याएपछि संरा अमेरिकी प्रशासनले भदौ २३ गतेको हत्या र भदौ २४ गतेको आगजनीका घटना घटाएर नेपालमा नयाँ चुनावमार्फत आफ्नो अनुकूलको सरकार बनाउँदै छ ।
एमाले र माओवादीजस्ता पुराना पार्टीको समर्थनमा उपप्रधानमन्त्री र मन्त्री भएको रास्वपालाई संरा अमेरिकी सरकारले ‘नयाँ पार्टी’ भनी सामाजिक सञ्जालमार्फत प्रचार गरायो । काठमाडौँबाट निर्वाचित रास्वपाका सांसद रञ्जु दर्शनालाई आठवर्षदेखि आईआरआईले तालिम दिएको पनि सार्वजनिक भयो । भदौ २३ गते माइतिघर मण्डलामा आन्दोलनको खाका बताउने रक्षा बम पनि अमेरिकन युथ काउन्सिलसँग सम्बन्धित भएको सार्वजनिक भयो ।
संरा अमेरिकी सरकारले ‘प्रजातन्त्र’, ‘मानवअधिकार’, ‘शान्तिपूर्ण विकासक्रम’ को नाममा कुनै देशसँग ‘सांस्कृतिक सम्बन्ध’ र ‘आर्थिक सहायता’ सुरु गर्छ । यही आर्थिक र सांस्कृतिक सहयोगमार्फत आफ्नो अुनुकूल नचल्ने त्यो देशको सरकारलाई संरा अमेरिकी प्रशासनले उल्ट्याउँछ । यसलाई ‘रङ्गीन क्रान्ति’ पनि भनियो । नेपालमा रास्वपालाई निर्वाचनबाट संसद्को झन्डै दुईतिहाइ पु¥याएको पनि ‘रङ्गीन क्रान्ति’ नै मान्नुपर्छ । चुनावमा रास्वपाका उम्मेदवारलाई जनताले चिनेका थिएनन् । तर, सामाजिक सञ्जालमार्फत उनीहरूलाई जिताउन संरा अमेरिकी प्रशासन लागि परेको थप खुल्दै छ ।
संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएका एकजना वरिष्ठ पूर्वअधिकारीले ‘हामीले मानिसहरूलाई चाहेजस्तो बनाउने र हाम्रो निर्देशन मान्ने बनाउने गर्न उनीहरूको दिमागलाई अलमलमा पारेको’ बताएका थिए । संरा अमेरिकी पूर्वविदेश सचिव माइक पोम्पेओले झुट बोलेर पनि मानिसलाई झुक्याएको बताएका थिए ।
नेपालमा पनि गएको चुनावमा युवा–विद्यार्थी, विदेशमा रोजगारी र पढ्न गएकाहरू र नेपाल सरकारका अधिकारीहरूको दिमागलाई अलमल पारेर रास्वपाको पक्षमा मत हाल्न लगाएको खुल्दै छ । भदौ २३ र २४ गतेको काण्डका दोषीहरूलाई समेत जिताउन निर्वाचन सरकारलाई छानबिन आयोगको प्रतिवेदनसमेत निर्वाचन अघि सार्वजनिक गर्न रोक लगाइयो । नेपालका बुद्धिजीवीहरूसमेत चुनावमा ‘लहरमा मत’ हाल्न पुगेको सार्वजनिक भयो । जुनसुकै पार्टीको होस्, विदेशी दलाल सरकारको विरोधमा नेपाली जनताले सङ्घर्ष नगरे देश नै नरहने खतरा बढ्दो छ ।
Leave a Reply