भर्खरै :

बन्दै गरेको नयाँ सरकारबारे हेर्न बाँकी छ

बन्दै गरेको नयाँ सरकारबारे हेर्न बाँकी छ

जुनसुकै शक्ति राष्ट्रहरूको सहयोग वा सैनिक विद्रोहबाट आएको भए पनि देशमा नयाँ सरकार आउने भएको छ । निर्वाचनको बेला निर्वाचन आयोगका दर्जनौँ कमी–कमजोरी भए पनि निर्वाचन सम्पन्न भएको छ । पुराना शासक दलहरूका नेताहरूले कैयौँ भ्रष्टाचार गरेका भए पनि वा कानुन मिच्ने वा संविधान र ऐन कानुनलाई छलछाम र छिद्रछिद्रहरूलाई प्रयोग गरेका भए पनि निर्वाचनको परिणामलाई सबैले लाचारीबस मानेकै छन् ।
अब नयाँ सरकारले पहिलेका सरकारहरूले गरेका अपराधहरूलाई विस्थापित गरेर राज्यको बिग्रेको गाडीलाई मर्मत सम्हार गरेर ठीक बाटोमा लैजाने हो वा त्योभन्दा गाडीलाई बिगार्दै भिरबाटै खसाल्ने हो हेर्न बाँकी नै छ ।
कसैले भन्लान् – ‘नयाँ सरकारलाई संयुक्त राज्य अमेरिका र भारतजस्तो शक्तिशाली मित्र राष्ट्रहरूले सहयोग गरेपछि के हुन सक्दैन ?’ यही विश्वासलाई अन्धविश्वास नभन्ने हो भने यो जस्तो चमत्कार वा आश्चर्य अरू केही हुने छैन, वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक दबुलीमा !
किन ? यस्तो अविश्वासमा अपसकुन ? यसको उत्तर हो – इतिहास र राज्य सत्ताको वर्गचरित्र ¤
दोस्रो विश्वयुद्धपछि एसिया, अफ्रिका र दक्षिण अमेरिका तथा अन्य धेरै टापुका देशहरूमा नयाँ सरकारहरू बने । पुराना सामन्ती राज्य यन्त्रहरू र विदेशी उपनिवेशहरूबाट स्वतन्त्र भएका तरुणहरू देशहरूको शासनमा पुगे । एकभन्दा अर्को जाज्वल्यमान देशभक्त दलका नेताहरू सरकारमा पुगे । नेहरू, सुकार्नो, प्याट्रेस लुमुम्बा (कङ्गो), घानाका क्वामे एनक्रुमा, गिनीका रेकुतुरे, चिलीका साल्भादोर एलेन्डे आदि एकएक सैनिक विद्रोह र हत्या हिंसाबाट ती देश पुनः साम्राज्यवादी र उपनिवेशवादीहरूकै पोल्टामा परे ।
संयुक्त राज्य अमेरिका आफैंले बनाएका दक्षिण कोरियाका सिंगमन–री र दक्षिण भियतनामको राष्ट्रपति थुकीलाई अमेरिकी सेनाले नै हत्या ग¥यो १९६० कै दशकमा ¤ त्यही दशकमा प्रजातान्त्रिक रूपले बनेको इन्डोनेसियाको सुकार्नोको सरकारलाई अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) कै सैन्य षड्यन्त्रबाट अपदस्थ गरी एक सैनिक तानाशाहलाई सत्तामा ल्यायो दुई दशकसम्म !
सीआईएकै तजबिजमा भारत–चीन सीमा विवादलाई भारतीय सुरक्षा प्रमुखमार्फत नेहरूजस्ता तटस्थ र असंलग्न परराष्ट्र नीतिका पक्षपातीलाई भारत र चीन सीमा विवादलाई सीमा–सङ्घर्षमा पु¥याएर भारतलाई आफ्नो प्रभावमा पारी असंलग्न राष्ट्रहरूको शक्तिलाई कमजोर बनाइयो । एसिया, अफ्रिका र दक्षिण अमेरिकी राष्ट्रहरूका टपिटपाउ नेताहरूको हुर्मत लुट्यो भने भर्खरै अस्पस्ट राजनीतिक सिद्धान्तबाट आएका हाम्रो देशका युवाहरूलाई कता पु¥याउने हुन् शक्तिराष्ट्रहरूले ? परिणाम हेर्न बाँकी नै छ । नेपाली जनताले पनि पाठ सिक्नेछन् – ‘प्यास लाग्यो भनी विष खानुहुन्न ।’ तर, अब हामीले धेरै समय ‘हेर र पर्ख’ भन्न नपाउँदै नेपालरूपी गाडी नै बाँकी नरहने हो कि भन्ने सर्वत्र चिन्ता छाएको छ किनभने हामी नेपालीहरूसँग यस्ता पनि युवा छन्– जो हिजोसम्म एउटा दलको प्रवक्ता भइटोपल्छन् र पार्टीले उम्मेदवार नबनाउनासाथ अर्काे दलमा प्रवेश गरी उम्मेदवार बनिहाल्छन्† सिद्धान्तको कुनै मतलब राख्दैनन् । नेपालको राजनीतिक दबुलीमा यस्ता नयाँ जात्राहरू धेरै देखिए । यस्तै विश्वासघात एउटा दलले त भोग्यो । त्यस्तै विश्वासघात अब देशले भोग्न नपरोस् भन्ने कामना नेपाली बुद्धिजीवी समुदाय र राजनीतिक दलहरूले सिक्नैपर्छ ।
नेपाली जनताले अरूको इतिहासबाट मात्र सिक्ने होइन, आफ्नै देशको इतिहासबाट सिक्नुपर्ने अवस्था आजको हो । भीमसेन थापा आफ्नै शासकहरूको षड्यन्त्रको शिकार हुनुप¥यो, जसले बेलायती उपनिवेशवादीहरूलाई एसियाबाट धपाउने योजना बनाएका थिए । हाम्रै नेपाली बुद्धिजीवी र शासनले विश्वास गरेका व्यक्तिहरूले सुगौली सन्धिमा हस्ताक्षर गरेर देशलाई भड्खालोमा पु¥याए ।
आजको हाम्रै देशले विश्वास गरेका माथिल्ला संस्थाका टाउकेहरूले ठुलठुला रकमको अपचलन नातागोताकै कारण गर्दै छन् । समाचार पत्रहरूमा छ्यापछ्यापती छापिएका छन् । अब नयाँ सरकार के यस्ता जातजाति, भाषाभाषी तथा नातागोताबाट प्रेरित नभई कुनै शक्ति राष्ट्रको नकारात्मक सल्लाहमा नलागी एक देशभक्तको छवि देखाउन सफल होला ? हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *