भर्खरै :

पुँजीवादी दलालहरूसँग साँठगाँठ गर्नेहरूदेखि सावधान !

पुँजीवादी दलालहरूसँग साँठगाँठ गर्नेहरूदेखि सावधान !

सामान्यतया सिद्धान्त र विचार बुझेका नेता, कार्यकर्ता तथा कामदार या बहुमत जनताको सेवा गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित व्यक्तिहरू दलमा पछि सम्म कार्यरत हुन्छन्; तिनीहरू पार्टी र कार्यकर्ताबिच परिचित हुन्छन् । दलका योग्य नेता तथा कार्यकर्ताहरू देश र जनताका पुँजी हुन् । उनीहरू देश र जनताको पक्षमा राजनीति गर्छन्; राजनीति गरेर जनताको सेवामा जुट्छन् । सैद्धान्तिक स्तर नभएका, राजनीतिक चेतना र संस्कार नभएका र समाजको मूल्य र मान्यता नबुझेका युवाहरूमा जतिसुकै जोश जाँगर भए पनि उनीहरू बिग्रिएका हुन्छन् या समाजको बाटो छोडेका हुन्छन् । राजनीतिक दलको मुख्य काम सरकारको नेतृत्व गर्ने या सरकारमा जाने मात्र होइन । राजनीतिक पृष्ठभूमि नभएका युवाहरू निडर, हक्की देखिए पनि उनीहरू अनेक लोभलालचमा फस्ने धेरै सम्भावना हुन्छ । उनीहरूलाई भाड्ने, बिगार्ने या भ्रष्ट बनाउने चाँजोपाँजो बुनेको हुन्छ । जनताको समस्या नबुझेका सांसदहरूले संसद्मा जनताको समस्या समाधान गर्ने बाटो कसरी खोल्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
सिद्धान्तच्युत र जनताको समस्यै नबुझ्ने सांसदहरूको सरकारले समस्या समाधान गर्न के कस्तो निर्णय गर्ला ? जागिर मिलाउने, ठेक्का लिने, बिचौलिया भएर काम गर्ने, आर्थिक गतिविधिबाट फाइदा लिने नेता र कार्यकर्ताहरूको भरमा देश बन्दैन, विकास हुँदैन । बालेन्द्र साहको नेतृत्वमा रास्वपाको सरकार गठन भएपछि विभिन्न सञ्चारमाध्यममा ‘बालेन्द्र साहको नेतृत्वमा शक्तिशाली सरकार’, ‘देशको बागडोर युवाको काँधमा’, ‘सिंहदरबारको साँचो बालेनको हातमा’ जस्ता शीर्षकमा समाचारहरू छापिए । बालेन्द्र साहको नेतृत्वमा सरकार गठन गर्नु अस्वाभाविक होइन । समाजमा राम्रो र नराम्रो पक्ष हुन्छ । समाजका खराब पात्रहरू पाप र अपराध लुकाउन बढी प्रचार गर्छन् । यसकारण, देश र जनताको हितमा ऐन कानुन बनाउन निर्वाचित सबै सांसदहरू योग्य, दूरदर्शी, असल, सबल, देशभक्त हुनुपर्छ । दुई चार वटा सुधारका कार्य गरेर जनतामाथि शोषण गरिरहन्छ भने त्यो सरकार बहुमत जनताको पक्षमा हुनेछैन ।
निःस्वार्थ रूपले देश र जनताको सेवामा समर्पित भएर कुनै दलको सरकारले आमूल परिवर्तनको पक्षमा राजनीति गर्छ र सङ्घर्ष गर्छ भने त्यो स्वागतयोग्य नै हुन्छ । आमूल परिवर्तनको निमित गरिएको कुनै दलको अभ्यास या सेवा खेर जानेछैन । निर्वाचित युवा सांसदहरूलाई एक दुई घण्टाको मार्ग निर्देश गरेर उनीहरू सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपले सुसूचित हुँदैनन्; देश र जनताप्रति जिम्मेवार हुँदैनन् । गाउँ, ठाउँ, बस्ती, सहर बजार, समाजमा नभिजेका, सेवामा नलागेका र राजनीतिक पृष्ठभूमि नभएका सांसदहरूलाई देश र जनताको सेवामा समर्पित हुन उत्साहित गरिरहनु जरुरी छ । देश र जनताप्रति अटल विश्वास गरेर निरन्तर खटिरहेमा समाजको मुहार फेर्न सजिलो हुन्छ । घरको सुख सुविधा छोडेर जनताको सेवा गर्न नसक्ने, अनुशासनमा नबस्ने, व्यक्तिगत इच्छा र हितलाई प्राथमिकता दिने सांसद र कार्यकर्ताहरू अहङ्कार गर्ने, आफूले आफूलाई ठुलो ठान्ने, आफू नेता, मन्त्री र सांसद भनी सेखी गर्ने व्यक्तिहरूले कहिले पनि जनताको विश्वास जित्न सक्दैनन् ।
वर्ग शत्रु नचिन्ने, सामन्त, जमिनदार, प्रतिक्रियावादी, षड्यन्त्रकारी, भ्रष्टाचारी, गुण्डा, अपराधी जो सुकैसँग हाइ हेलो गरेर मित्रता जोड्ने नेता, मन्त्री र सांसदहरूले पनि जनताको विश्वास जित्ने ढङ्गले काम गर्न सक्दैनन् । वर्गशत्रुसँग झुक्ने, पुँजीवादी दलालहरूसँग साँठगाँठ गर्ने अवसरवादीहरूदेखि जनता सावधान हुनुपर्छ । व्यक्तिगत स्वार्थ राखेर पार्टीमा हुलेका लोभीपापीहरू आ–आफ्नो स्वार्थ पूरा भएपछि पलायन हुन्छन् । उनीहरू पदमा छउञ्जेल, पैसामा रजाइँ गर्न पाउञ्जेल टिकिरहन्छन् । रास्वपाबाट निर्वाचित अधिकांश सांसदहरू न राजनीतिक पृष्ठभूमिका छन् न जनताको सेवामा भिजेका हुन् न कुनै विकासको बाटोमा लागेर परिचित भएका हुन् । यसकारण, फागुन २१ गते भएको प्रतिनिधिसभाको नतिजालाई बुद्धिजीवी, लेखक र राजनीतिक विश्लेषकहरूले अस्वाभाविक ठानेका छन् ।
गाउँ ठाउँ, सहर बस्तीका जनताले चिन्दै नचिनेका, नामै नसुनेका व्यक्तिहरू संसद्मा कसरी निर्वाचित भए ? कसैको लहैलहैमा या ह्वीममा निर्वाचित सांसदहरू कसरी जनताका विश्वास पात्र हुन्छन् ? अपत्यारिलो ढङ्गले सांसदहरू निर्वाचित हुनुको अर्थ रास्वपाको उद्देश्य बुझेर होइन । जनताले पनि रास्वपाको विचार बुझेर र वाचापत्र अध्ययन गरेर मतदान गरेका होइनन् । विगतमा सरकारको नेतृत्व गर्ने दलका नेता, मन्त्री र सांसदहरूप्रति जनताको असन्तोष भएर पनि यो नतिजा आएको विश्लेषण छ । जे–जस्तो कारणले नतिजा आए पनि बहुमत प्राप्त सरकारले देशको नेतृत्व गर्नु स्वाभाविक हो । गठित सरकार बहुमत जनताको पक्षमा ऐन कानुन बनाएर देश र जनताको सेवा गर्नेतर्फ लाग्नु जाती हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *